भेनेजुएलाको एक विद्यालयमा भागदौड हुदा १७ को मृत्यु


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

भेनेजुएलाको राजधानी कराकस नजिकैको एक माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भएको भागदौडमा १७ जना मारिएका छन् ।

शनिबार सो दुर्घटना भएको थियो । आफ्नो परीक्षा सकिएको अवसरमा ती विद्यार्थीले उक्त क्लबमा खानपिनको आयोजना गरेका थिए ।

सोही कार्यक्रममा सहभागी एक युवकले अश्रुग्यास खोलिदिएको पाइएको छ । जसका कारण सहभागीहरुमा ठूलो भागदौड मच्चिएको थियो ।

भागदौडका कारण ती युवायुवतीको ज्यान गएको बताइएको छ । त्यहाँ करिब ५०० विद्यार्थी सहभागी रहेका थिए । उनीहरु भाग्ने क्रममा कुल्चिएर धेरैको ज्यान गएको छ ।

मृत्यु हुनेमा अधिकांश विद्यार्थी नै परेका छन् । कतिपय तिनका आमाबुबा पनि रहेका स्थानीय प्रहरीले जानकारी दिएको छ ।

भेनेजुएलाका आन्तरिक मामिला तथा कानुनमन्त्री नेस्टोर रेभेरोलले सो जानकारी दिनुभएको छ । उहाँले मृत्यु हुनेको सङ्ख्या १७ पुुगेको र दर्जनौँ अरु विद्यार्थी घाइते भइ उपचारार्थ अस्पताल भर्ना भएका बताउनुभएको छ ।

सो कार्यक्रमको मध्यान्तरतिर एकजना सहभागी युवकले अकस्मात कार्यक्रममा सहभागीलाई लक्ष्य गरेर अश्रुग्यास हानेको बताइएको छ ।

अश्रुग्यास फालेको आशङ्कामा एकजना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर उनले आफूले सो कार्य नगरेको बताएका छन् ।

प्रत्यक्षदर्शीहरुले जनाएअनुसार उक्त दुर्घटनामा बालबालिकाले सास फेर्न नसकेर मृत्यु भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com