प्रधानमन्त्रीको चीन भ्रमणले चीनसंगको सम्वन्धमा नयाँ ढोका खोल्ने – पराष्ट्रविद् श्रेष्ठ


प्रकाशित मिति : असार २, २०७५ शनिबार

नेपालको इतिहासकै ठूलो कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको वर्तमान सरकारले दुइ छिमेक सम्बन्ध कस्तो बनाउछ भन्ने निकै चर्चा हुने गरेको छ । यसैको सन्दर्भमा भर्खरै भारत भ्रमण गरेर चीन भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुइ देशबीचको सम्बन्धलाई नयाँ उचाईमा उठाउनकासाथै के कस्ता समझादारी र सम्झौता होलान् र नेपालको तर्फबाट सीमा, व्यापार, पर्यटन लगायतका विषयमा भ्रमण कति कामयावी बन्ला त भन्ने विषयमा निकै वहस शुरु भएको छ ।

यसै विषयमा एवीसी टेलिभिजनको आउट लुक कार्यक्रममा शुभशंकर कंडेल संग कुराकानी गर्दै परराष्ट्र विद् हिरण्यलाल श्रेष्ठका नजरमा प्रधानमन्त्रीको आसन्न चीन उपलब्धीमुलक रहने बताउछन् । (यो कार्यक्रम आज राती ९ बजे एवीसी टेलिभिजनबाट प्रशारण हुने छ भने भोली आइतवार विहान ७ बजे पुन प्रशारण हुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असार ५ गतेदेखि चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । दोश्रो पटक प्रधानमन्त्री भएका ओलीले विगतका सहमति र संझौता कार्यान्वयन गर्ने विषयमा चीनको भ्रमण गर्न लागेका हुन् ।
शक्तिशाली प्रधानमन्त्री बनेका ओलीले भ्रमणमा मुख्य गरि सीमा विवाद, व्यापार घाटा लगायतका विगतका महत्वपूर्ण संझौता कार्यान्वयनलाई गम्भीररुपले कुरा राख्नु पर्ने विज्ञहरुको सुझाव छ । सार्वभौम मुलुकका प्रधानमन्त्रीको हैसियतले दर्विलो गरि विगतका सम्झौता कार्यान्वयनसंगै सीमा विवादलाई सल्टाउने उचित समय आएको परराष्ट्रविद् प्राध्यापक हिरण्यलाल श्रेष्ठ बताँउछन् ।

प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धी सम्झौताको कार्यान्वयनमा केन्द्रित रहने छ । नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सहयोग प्राप्त हुने प्रायः पक्का भएको छ । प्रधानमन्त्रीबाट भ्रमणका क्रममा चीनका उच्च राजनीतिक नेतृत्वसग हुने राजनीतिक परामर्श र दुई देशका प्रधानमन्त्री नेतृत्वमा हुने प्रतिनिधिमण्डल स्तरीय वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ ।

प्रधानमन्त्रीको भ्रमणका बेला चीनको स्वशासित क्षेत्र (तिब्बत) का राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठ वटा सीमा नाका खोल्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनाका साथै केरुङ–काठमाडौ रेल मार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
संघीय संसदको पहिलो निर्वाचनबाट दुइतिहाई मतले प्रधानमन्त्री बनेका ओली दोश्रो पटक चीन भ्रमणमा जाँदै छन् । आर्थिक समृद्धिको कार्ययोजना लिएर सिंहदरबार छिरेका ओलीले दुई छिमकीसंग सम्बन्ध सन्तुलित मात्रै होइन, लाभको विषयलाई परिणाममा बदल्नुपर्ने दायित्व पनि उत्तिकै महत्वपूर्ण छ । आर्थिक समृद्धि लक्ष्य हासिल गर्न आन्तरिक लगानीसंगै बाह्रय लगानी भित्र्याउने विषय पनि उत्तिकै महत्वपूर्ण छन् ।

मुलुकको सार्वभौमिकताको रक्षासंगै स्वाधिन अर्थतन्त्रको विकास गर्नुपर्ने जिम्मेवारी पनि ओली सरकारका अगाडि छन् । चीनसंग व्यापार घाटा पनि उत्तिकै छ । नेपालको पछिल्लो तथ्यांक अनुसार वार्षिक ९ खर्ब व्यापार घाटा छ । जसमा भारतसंग ६ खर्ब र चीनसंग डेढ खर्व व्यापार घाटा छ । बद्दो व्यापार घाटा असन्तुलन हुँदा नेपालको अर्थतन्त्र कमजोर बनेको छ । निर्यात कमजोर आयात बढी हुँदा नेपाली मुद्रा बाहिरीने गरेको छ । यसर्थ व्यापार घाटालाई कम गर्ने विषयमा पनि प्रधानमन्त्रीले प्रस्ताव गर्नुपर्ने विज्ञहरुको प्रतिक्रिया छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणले निकै अर्थ राख्दछ, दुइ छिमेकसंगको पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउनुको साथै नेपालको लाभको विषयमा प्रधानमन्त्री ओलीले सिधा प्रस्ताव गर्न हिम्मत गर्न सक्ने परराष्ट्र विद्हरुको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com