‘मन्त्री लालबाबुको अभिव्यक्ति संविधानविरोधी’


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

नेपालको संविधानले नै गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरेको अवस्थामा सरकारकै मन्त्री लालबाबु पण्डितले विदेशमा रहेका नेपालीहरुलाई भूपू नेपाली भन्नु संविधान विरोधी अभिव्यक्ति रहेको एनआरएनए अमेरिकाका पूर्व बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले बताउनु भएको छ । खसोखास लाइभमा कुरा गर्दै पोखरेलले सरकारका मन्त्रीले नै संविधान विरोधी अभिव्यक्ति दिनु खेदजनक भएको बताउनुभएको छ ।

मुलुकको मुल कानुनमा नै दोहोरो नागरिकताको व्यवस्था गरिएको सन्दर्भमा विदेशमा रहेका नेपालीहरुलाई भूपू नेपाली भनिंदा विदेशमा रहेका नेपालीकोमात्र नभई संविधानकै मानहानी भएको पोखरेलको तर्क छ । नेपालको संविधानको भाग २ , धारा १४ मा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था छ ।

तर संविधानमा प्रदान गरिने नभई गर्न सकिनेमात्र उल्लेख भएकाले ढुक्क हुनसक्ने अवस्था नरहेको र नागरिकता ऐन बन्ने बेलामा गडबढी हुनसक्नेतर्फ सचेत रहन पोखरेलले एनआरएन नेतृत्वलाई सजग गराउनुभएको छ । मन्त्रीको अभिव्यक्तिबाट त्यस्तो षड्यन्त्रको गन्ध आउने समेत उहाँले बताउनुभयो ।

थप भिडियो यहाँ हेर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com