नेपालमा मात्र ९२ लाखका हातमा स्मार्टफोन


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

सन्तोष न्यौपाने

मुलुकमा झन्डै ९२ लाखजनाले स्मार्टफोन बोक्ने गरेका छन्। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको तथ्यांकअनुसार स्मार्टफोन बोक्ने ग्राहकको संख्या तीव्ररुपमा बढिरहेको छ।

एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१८ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार उसको नेटवर्कमा झन्डै ५६ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गरिरहेका छन्। प्रतिवेदनअनुसार एनसेलका कुल ग्राहक संख्या एक करोड ६४ लाख पुगेका छन्, जसको ५६ प्रतिशत भनेको ९१ लाख ८४ हजार हुन आउँछ।

त्यस्तै, सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका मोबाइल सेवाका ग्राहक एनसेलभन्दा झन्डै ५ लाख बढी छन्। ग्राहकको संख्या झन्डै समान हुदा स्मार्टफोन प्रयोगकर्ताको संख्या पनि उस्तै देखिन्छ। नेपालमा सञ्चालनमा रहेका ६ वटा दूरसञ्चार सेवा प्रदायक कम्पनीमध्ये नेपाल टेलिकम र एनसेलको बजार हिस्सा ९४ प्रतिशत छ।

नेपाल टेलिकमले आफ्नो व्यवस्थापन सूचना प्रणाली (एमआइएस) रिपोर्टमा स्मार्टफोन ‘पेनेट्रेसन’ को संख्या उल्लेख नगर्ने भए पनि ९२ लाखभन्दा धेरै नै स्मार्टफोन प्रयोगकर्ता भएको जनाएको छ।

पछिल्ला दिनमा चिनियाँ मोबाइल हेन्डसेटदेखि अन्य मेबाइल सेटको संख्यामा उल्लेख वृद्धि हुँदा स्मार्टफोन प्रयोगकर्ताको संख्या तीव्ररुपमा बढेका टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए।

एनसेलले विगत डेढ वर्षदेखि स्मार्टफोन प्रयोगकर्ताको तथ्यांक सार्वजनिक गर्दै आएको छ। ‘हाल एनसेलको नेटवर्कमा स्मार्टफोन पेनेट्रेसन ५६ प्रतिशत पुगेको छ,’ एनसेलको पछिल्लो वित्तीय प्रतिवेदनमा उल्लेख छ, ‘यो गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो।’ सन् २०१७ को पहिलो त्रैमासिकमा ४४ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गरेका थिए।

तथ्यांकअनुसार स्मार्टफोन प्रयोग तीव्ररुपमा बढेको देखिन्छ । सन् २०१७ को चौथो त्रैमासिक रिपोर्टअनुसार ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गरिरहेकोमा त्यसपछिको पछिल्लो तीन महिनाको अवधिमा ४ प्रतिशतले बढेको उल्लेख छ।

नयाँ मोबाइल हेन्डसेटमा कुनै पनि कम्पनीको सिम प्रयोग गर्दा उक्त सेटको सम्पूर्ण जानकारी कम्पनीमा दर्ता हुन्छ। मोबाइल हेन्डसेटको परिचय दिने आइएमइआई नम्बरदेखि अन्य जानकारी आधारमा स्मार्टफोन प्रयोगकर्ताको तथ्यांक निकालिन्छ।

प्रविधि प्रयोगमा विविधता थपिँदै जाँदा स्मार्टफोन प्रयोगकर्ताको संख्या बढ्दै गएको सूचना तथा सञ्चार प्रविधिविज्ञ मनोहर भट्टराईले बताए। ‘अब मोबाइलमा आवाजमात्र नभएर डाटा प्रयोग हुन थालेको छ,’ उनले भने, ‘डाटा प्रयोग गर्न स्मार्टफोन आवश्यक हुन्छ।’

सामाजिक सञ्चालको प्रयोग बढ्दै जाँदा स्मार्टफोनको आवश्यकता पनि बढ्दै गएको छ। ४० लाखभन्दा बढी नेपाली रोजगारीका लागि तेस्रो मुलुक पुगेका छन्। उनीहरूसँग सम्पर्कका लागि सामाजिक सञ्जाल र विभिन्न मोबाइल एप्स प्रयोग बढ्दो छ।

डाटा प्रयोग गर्ने उपभोत्ताको संख्या उल्लेख्य रुपमा बढिरहेको छ। नेपाल टेलिकमको चैत महिनाको एमआइएस रिपोर्टअनुसार उसका ग्राहकमध्ये झन्डै ९८ लाख र एनसेलको पछिल्लो रिपोर्टअनुसार झन्डै ७६ लाख (४६ प्रतिशत ग्राहक) ले डाटा प्रयोग गरिरहेका छन्। मुलुकमा चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) र तेस्रो पुस्ताको इन्टरनेट प्रविधि (थ्रिजी) प्रयोग बढ्दै जाँदा डाटा खपतमा पनि उल्लेख वृद्धि हुँदै गएको कम्पनीहरूको भनाइ छ । डाटा सेवाको शुल्कमा गिरावट, स्मार्टफोनको मूल्य घट्नुलगायत कारणले डाटा सेवाको माग तथा प्रयोग बढिरहेको छ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चैत महिनाको एमआइएस रिपोर्टअनुसार मुलुकका ४७ प्रतिशत जनताको पहुँचमा ब्रोडब्यान्ड इन्टरनेट पुगेको छ। ५१२ केबिपिएसदेखि माथिको इन्टरनेट र मोबाइलमा थ्रिजीदेखि माथिको सेवा ब्रोडब्यान्ड हो। ब्रोडब्यान्ड इन्टरनेटमा फिक्स लाइन पनि जोडिएको छ । सरकारले आगामी तीन वर्षभित्र मुलुकको कुल जनसंख्याको ६० प्रतिशतमा ब्रोडबयान्ड पहुँच पु¥याउने योजना अघि सारेको छ।

एनसेलको तथ्यांकअनुसार आजियाटाको लगानी रहेको दक्षिण एसियाका अन्य कम्पनीहरु जस्तै बंगलादेशको रोबी र श्रीलंकाको डायलगको तुलनामा पनि एनसेलका धेरै ग्राहकले स्मार्टफोन प्रगोग गरेका छन्। सन् २०१८ को पहिलो त्रैमासिकसम्म रोबीका ४० प्रतिशत र डायलगका ५३ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com