जनपक्षीय ब्राजिली रंगकर्मीसँगको अन्तर्वार्ता : ‘जताबाट हेर्नुस्– अमेरिका उस्तै देखिन्छ !’


प्रकाशित मिति : कार्तिक १७, २०७३ बुधबार

– घिमिरे युवराज

अगस्टो बोआल ब्राजिलका प्रसिद्ध नाटककार तथा निर्देशक हुन् । उनलाई अनौपचारिक पद्धतिबाट शैक्षिक चेतना विस्तार गर्ने अभियन्ता मानिन्छ । १६ मार्च १९३१ मा जन्मिएका उनी सन् ६० को दशकदेखि मजदुर आन्दोलनमा लागे । र, रंगमञ्चलाई राजनीतिक आन्दोलनमा प्रयोग गरे । सन् १९७१ मा नाटक गर्दागर्दै सैनिकहरुद्धारा उनी गिरफ्तार भए । बन्दीगृहमा उनलाई ४ महिना यातना दिइयो । त्यसपछि उनी १५ वर्षका लागि पुर्नवास हुन बाध्य भए । मजदुर आन्दोलनबाटै उनी सन् १९९४ मा रियो दि जेनेरियोको नगर परिषद् सदस्यमा चुनिए । र, रंगमञ्चमार्फत स्थानीय कानुनमा परिवर्तन ल्याए । उनलाई प्रसिद्ध शिक्षाविद् पाउलो फ्रेरेको अनौपचारिक शिक्षा पद्धतिबाट प्रभावित मानिन्छ । पाउलो फेरे र बोआल असल मित्र थिए । पाउलो फ्रेरेका ‘पेडागोजी अफ दि अप्रेस्ट’ र ‘पेडागोजी अफ होप’ प्रसिद्ध किताब हुन् । त्यसैगरि बोआलका ‘गेम्स् फर एक्टर एन्ड नन् एक्टर’, ‘थिएटर अफ दि अप्रेस्ट’ रंगमञ्चका प्रसिद्ध सैद्धान्तिक किताब मानिन्छन् । बोआल अन्तर्क्रियात्मक रंगमञ्च ‘थिएटर अफ दि अप्रेस्ट’का आविष्कारक हुन् । ‘डेमोक्रेसी नाउ’ नामको अनलाइन टिभिले अगस्टो बोआलसँग लिएको अन्तर्वार्ता अंग्रेजीबाट नेपालीमा उतारिएको हो । बोआलको मृत्यु सन् २००९ मे २ तारिखमा भएको थियो । यो  अन्तर्वार्ता एमी गुडम्यानद्वारा सन् २००७ जुनमा न्युयोर्कको फायर हाउस स्टुडियोमा लिइएको थियो । २००९ मे ९ मा पहिलो प्रसारण गरिएको अन्तर्वार्ता  रंगकर्मी घिमिरे युवराजले नेपालीमा अनुवाद गरेका हुन् ।

‘थिएटर अफ दि अप्रेस्ट’ के हो ?

बोआल : ‘थिएटर अफ दि अप्रेस्ट’ भनेको पारम्परिक थिएटरको सीमाभन्दा बाहिर आएर गरिएको प्रयोग हो । नाटकघर वा लेखिएको नाटकभन्दा बाहिर आएर गरिने नाटक हो थिएटर अफ दि अप्रेस्ट । रंगमञ्च भनको अनुभुतिजन्य कुरा हो, नकि कुनै नियम र पर्खालभित्र बाँधिएको । हामी त्यस्तो जीव हौँ, जसभित्र अभिनय गर्ने क्षमता छ । हामी हरक्षण अभिनय गरिरहेका हुन्छौ । हामीसँग अवलोकन गर्ने क्षमता हुन्छ । डल्फिन र हात्तीजस्ता केही जनावरहरुमा पनि यो क्षमता हुन्छ । हामी साँच्चैको जीवनमा अभिनय गछौँ र के गर्यौँ भनेर नियाल्छौँ पनि । त्यसै भएर हामी सबैमा रंगमञ्च छ । जस्तो कि हामी कसैलाई माया गर्दा जस्तो खुसीको व्यहोरा देखाउँछौ त्यही मान्छेलाई घृणा गर्न थालेपछि अर्कै व्यहोरा देखाउँछौ । त्यसैले हामी पनि कलाकार हौँ तर मञ्चमा अभिनय गर्ने कलाकारलाई ‘म के गर्दैछु’ भन्ने थाहा भएर गर्छ । तर, साँच्चैको जीवनमा आफैँ हुन्छ । त्यसैले हरेक मानिस कलाकार हो । यस किमिसको नाट्य शैलीमा दर्शक पनि कलाकार हुन् । त्यसैले यस किसिमको नाट्य शैलीमा हामी दर्शकलाई दर्शक–कलाकार भन्छौँ । अरु कलाकारहरुजस्तै ‘थिएटर अफ दि अप्रेस्ट’मा पनि अभिनय हुन्छ तर यसमा साँच्चैको जीवनको प्रतिविम्ब हुन्छ । यसमा कलाकार हैन हामी हुन्छौँ । किनभने हरेक जिवमा आफैलाई अनुभुत गर्ने क्षमता हुन्छ । हामी नाटक हेर्छौँ र नाटकका चरित्रहरुमा आफुलाई अनुभुत गर्न सक्छौँ । जस्तो कि हामी दर्शक भएर नाटक हेर्छौँ तर त्यही समय हामी नाटकको चरित्रमा पनि आफुलाई पाउँछौँ । त्यसैले थिएटर अफ दि अप्रेस्टमा हामी दर्शक र कलाकार दुवै हौँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामी भनेको को ?

बोआल : हामी भनेको हामी सबै । हरेक व्यक्ति । तपाईँ र म । तर, विशेषत हाम्रो सम्बन्धमा चाहिँ हामी भनेको पीडित । हाम्रो विचारमा प्रकृता सबै प्रकारका मानवीय सम्बन्धहरुमा सम्वाद हुनु आवश्यक छ । हामीसँग स्वभाविक समाजको क्षण हुनु पर्छ । अर्को बोलिरहेको बेला आफुले सुन्नु पर्छ । यसरी नै एक अर्काले सुन्ने बातावरण हुनु पर्छ । तर सादय हामी काला र सेता, उत्तर र दक्षिणका यसो गरिरहेका छैनौँ । सायद एउटा मात्रै बोलिरहेको छ । कि त लोग्ने मान्छे मात्रै बोल्छ, कि त गोराहरु मात्रै बोल्छन्, वा उत्तरी देशका मात्रै बोल्छन् । त्यसैले हामी दुवै पक्षको सम्बादलाई स्थापित गर्न चाहन्छौँ । सबैले बोल्न पाउने अधिकार होस् भन्न चाहन्छौँ हामी । त्यसैले हामी भनेको पीडित । कुनै पनि किसिमको पीडित । यौन हिंसाबाट पीडित, तलबबाट पडित वा राजनीतिबाट पीडित । हामी भन्नाले सबै किसिमका पीडित ।

अब भन्नुस्, यस किसिमको कामको लागि तपाईँलाई के ले प्रेरित गर्यो ? थिएटर अफ दि अप्रेस्टको आविष्कार कसरी भयो ?

बोआल :  मेरो बुबाको पाउरोटी फ्याक्ट्री थियो ब्राजिलमा । म १३, १४ वर्षको हुँदादेखि बुबालाई फ्याक्ट्रीमा सघाउथेँ । हरेक विहान जब म मेरो बुबालाई सघाउन जान्थेँ मैले त्यहाँ धेरै मजदुरहरुलाई देखेँ । उनीहरु त्यहाँ हेपिएका थिए । र, उनीहरुको पीडाले म भरिएको थिएँ । सोच्थेँ, किन यिनीहरु यसरी थिचिँदा पनि विरोध गरिरहेका छैनन् ? यही कुराले गर्दा मैले १५ वर्षको हुँदा उनीहरुको बारेमा नाटक लेखेँ । तर, मैले एउटा क्षणमा आएर महसुस गरेँ— ‘म उनीहरुको जस्तै हेपाइमा छैन । म उनीहरुको परिस्थितिमा थिइन तर मैले उनीहरुको जस्तो हुने प्रयास गरेर कलाकार बन्ने कोसिस गरिरहेका थिएँ ।’ एक किमिसले म आफु उनीहरुभन्दा माथिल्लो ओहदामा रहेको महसुस गरेँ । त्यसैले मैले सोचेँ, अब म यिनीहरुलाई आफ्नो उत्पिडनको विरुद्धमा कसरी लड्ने भनेर सिकाउँछु । त्यसपछि म सन् १९५० र ६० को दशकमा राजनीतिक नाटकतिर लागेँ । ती नाटकहरुमा तिनै मजदुरहरुले अब के गर्नु पर्छ भन्ने सन्देशहरु हुन्थे । तर, काम गर्दै गएपछि मैले महसुस गरेँ, उनीहरुलाई जति मलाई थाहा छैन । हो, नाटकको बारेमा मलाई उनीहरुभन्दा बढि थाहा छ । तर उनीहरुको जीवन र समस्याका बारेमा मलाईभन्दा धेरै उनीहरुलाई नै थाहा छ भन्ने कुरा एउटा घटनाले सिकायो । म आफ्नो रहरले उत्तरपुर्वी ब्राजिलका ठाउँहरुमा नाटक मञ्चन अभियानमा थिएँ । हाम्रो नाटकको नायकले भन्यो अब हामीले हाम्रो जमिनको रक्षाका लागि रगत बगाउनु पर्छ । त्यसपछि क्रान्तिकारी गीत गायौँ । हामीहरु भुमिहीत त थिएनौ तर भुमिहिन जस्तै देखिएर त्यहाँ गएका थियौँ । त्यही रुपमा हामीले आफ्नो जमिन रक्षाका लागि भुमिहिनहरुले रगत बगाउनु पर्च भन्ने आसयको गीत गायौँ । नाटक सक्किएपछि एक जना भुमिहिन हामी कहाँ आए र भने– ‘तपाईहरु पनि हामीले जस्तै ठ्याक्कै त्यही सोच्नु हुदो रहेछ । त्यसैले किन तपाईँहरु ती बन्दुकहरु बोकेर आउनु हुन्न । किनभने तपाइँहरुसँग ज्यादै सुन्दर राता बन्दुकहरु रहेछन् । तिनै बन्दुकहरुको माध्यमले केही जमिन्दारहरुको विरुद्धमा लडौँ र हाम्रो जमिन फिर्ता लिउँ । हामी आफ्नो रगत बगाउन तयार छौँ ।’ हामीले भन्यौँ– ‘माफ गर्नुस्, हाम्रा बन्दुकहरु साँच्चिकैका हैनन् । यी त नाटकमा प्रयोग गर्ने देखावटी बन्दुकमात्रै हुन् ।’ त्यसपछि उनीहरुले भने– ‘ठिक छ, बन्दुक त नक्कली हुन् तर तपाइँहरु त निक्कै सजक र गम्भिर हुनु हुँदोरहेछ । तपाईँहरु आउनुस् हामीसँग सबैलाई पुग्ने बन्दुक छन् । लौ जमिनदारहरुको बिरुद्धमा लडौँ ।’ फेरि हामीले भन्यौँ– ‘माफ गर्नुस् हामी साखमा साँच्चैका कलाकार मात्रै हौँ । भुमिहिन हैनौँ ।’ उनीहरुले भने– ‘ए, त्यसोभए साँच्चैका कलाकारहरु तपाईँहरुले हामी साँच्चैका भुमिहिनहरुको चाहिँ साँच्चैको रगत बगाउने कुरा गरिरहनु भएको छ ? तपाइँहरु ऋाफ्नो हैन ?’ अब हामीलाई लाग्यो हामी जुन सन्देश दिन चाहन्थ्यौँ, सकेनौँ । हामी सन्देश दिन सक्थ्यो होला किनभने हामी सहरमा बस्ने गोरा छाला भएका पुरुष थियौ तर त्यति हुँदैमा उनीहरुलाई उनका समस्यासँग लड्ने उपाय चाहिँ दिन नसक्ने रहेछौँ ।

अगस्टो बोयल तपाईँ आफैँ पनि जेलमा हुनुहुन्थ्यो । किन, कसले र कहिले ?

बोआल : सन् १९७१ को कुरा हो । यो थिएटर अफ दि अप्रेस्टको सुरुवाती काल थियो । हामी न्युजपेपर थिएटर गरिरहेका थियौँ । त्यतिखेर सरकारी पुलिसहरु र सरकारले राखेका गुप्तचर सैनिकहरुबाट हामीले निक्कै दुःख पायौँ । नाटक गर्न मात्रै नदिने हैन कि साँच्चै दुःख नै दिन्थे । कहिलेकाहीँ हामी आत्मरक्षाको लागि मञ्चमा जाँदा पनि गोजीमा हतियार लुकाएर जान्थ्यौँ । किनभने तत्कालीन् निरंकुश शासन पद्धतिको विरुद्धमा र सर्वसाधारण नागरिकको पक्षमा नाटक गर्न सजिलो थिएन । त्यसैले हामीले नाटक गर्दा पनि आत्मरक्षाको ख्याल गर्नु पथ्र्यो । त्यतिखेर सैनिकले सर्वसाधारण मान्छे मार्ने र यातना दिने गर्थे । मलाई पनि उनीहरुले त्यसरी नै गिरफ्तार गरे । धन्न म बाँच्न सफल भएँ ।

त्यो अनुभवले तपाईको नाटकप्रतिको धारणामा के परिवर्तन गर्यो ?

बोआल : एक किमिसले अगाडि नै मेरो धारणा परिवर्तन भइसकेको थियो । जतिखेर हामीले भूमिहीनहरुको नाटक गर्यौँ हामीले उनीहरुलाई सन्देश त दियौँ तर त्यही चुनौति चाहिँ आफुले लिन सकेनौँ । चे ग्वेभाराले एउटा सुन्दर कुरा भनेका– ‘सँगसँगै जोखिम उठाउन सक्ने भएमात्रै उनीहरुसँग ऐक्यबद्धता जनाऊ ।’ मैले कुनै जोखिम मोलिन । म त्यहाँ गएँ । नाटक देखाएँ । उनीहरुलाई नाटकमार्फत भने– जाऊ र लड । र म प्लेन चढेर फर्केर आएँ । त्यसैले मेरो सोचाई पहिल्यै परिवर्तन भैसकेको थियो । तर एकान्त बन्दिगृहमा एक्लै बस्दा मैले नयाँ कुरा अनुभव गरेँ । मैले मौनतालाई सुनेँ । मैले आवाज सुनेको थिएँ तर मौनतालाई कहिल्यै सुनेको थिइन । बन्दिगृहमा हँुदा मैले धेरै कुरा सिकेँ । किनभने एक्लो र मौनताको बेलामा आफ्ना सोच र बिचारहरु झन् बलियो भएर आउँदा रहेछन् । र, जब मलाई एउटा बन्दिगृहबाट अर्को बन्दिगृहमा सारियो, मैले निक्कै राजनीतिक व्यक्तिहरुसँग भेट्न पाएँ । मैले केही कुरा सिक्न पाएँ । जब हामीसँग प्रसस्त समय छ, हामी समयको बन्दि हुन्छौँ । हामी यता जान्छौँ, उता जान्छौँ, समय हेछौैँ । तर, जब हामीलाई ठाउँले बन्दी बनाउँछ हामीसँग प्रसस्त समय हुन्छ ।

ब्राजिलमा निरंकुश शासन समाप्त भएपछिको स्थिति कस्तो रह्यो ? र, परिस्थिति कसरी परिवर्तन भयो ?

बोआल : रंगमञ्चमा चाहिँ सेन्सरसिप हुन चोड्यो तर धेरै लामो समयसम्म परिस्थिति उस्तै रह्यो । तर लुलाको कार्यकालदेखि परिस्थिति सुध्रियो । (लुइस इनासियो लुला दि सिल्भा अर्थात् लुला ब्राजिलको ३५ औँ राष्ट्रपति हुन् । ब्राजिलको मजदुर संगठनको अध्यक्ष भइसकेका उनीको जन्म सन् १९४५ मा भएको थयो । लुलाले ३ पटकसम्म चुनावमा हारे । र चौथो पटक सन् २००२ मा राष्ट्रपतिको पदमा चुनाव जिते ।) उनको कार्यकालपछि ब्राजिल साँच्चिकै परिवर्तन भयो । अहिले ब्राजिल १० वर्षअघि जस्तो छैन । एउटा कुरा परिवर्तन नभएकोमा भने म निक्कै पछुतोमा छु । त्यो हो बृहत पुर्नसंरचना । अझै किसानहरुको जमिन गलत व्यक्तिहरुको हातमा छ । उनीहरुले फर्जि कागज बनाएर त्यो भुमि हत्याएका हुन् ।

भुमिहीनहरुको आन्दोलन एमएसटी (Landless Workers’ Movement-Movimento dos Trabalhadores Sem Terra, or MST) बारेमा भन्नुस् न त ?

बोआल : मैले १९६० देखि १९६४ सम्म स्थानीय निकायमा बसेर काम गरेको थिएँ । त्यतिखेर एउटा सिंगै गाउँको भूमिमाथि निर्णय गर्ने एकजना नेता हुन्थ्यो । त्यो प्रजातान्त्रिक थिएन । तर एमएसटीले आफ्नो आन्दोलन सबैतिर फिजाएपछि जमिनमाथिको निर्णय समुहले गर्न थाल्यो एक जनाले हैन । एमएसटीले जग्गाहरु कब्जा गरेर सामूहिक निर्णयको अधिकारभित्र राख्न थाल्यो ।

लुला शक्तिमा आउनुभन्दा अगाडि उनी मजदुर र किसानहरुको हित र अधिकारको कुरा उठाउँथे तर उनी शक्तिमा आएपछि पनि खासै परिवर्तन भएको छैन भनिन्छ ?

बोआल : परिवर्तन भएको छ । धेरै परिवर्तन भएको छ । तर, हो हामीले चाहे जति वा हामीले परिवर्तन गर्नु पर्ने जति चाहिँ भएको छैन । किनभने यहाँ लुलाको राजनीतिक कुटनीतिको कुरा आउँछ । उनी वर्कर्स पार्टीमा काम गर्दा वा मजदुर संगठनको अध्यक्ष भएको बेला पनि सुरुवाति क्षणहरुमा सम्झौता गरेर अघि बढे । अहिले उनी राष्ट्रपति भएपछि पनि उनको सरकारमा धेरै यस्तान प्रतिनिधिहरु छन् जो आफैँ जमिनका मालिक हुन् । ती भुमि मालिकहरुले भुमि सम्बन्धी केही नयाँ निर्णय नगर्न लुलालाई दबाब दिन्छन् । मलाई विश्वास छ लुला सुरुमा सम्झौतामा जाँदैछन् । तर उनीसँग अझै साढे तीन वर्ष बाँकी छ । र, यी साढे तीन वर्षमा धेरै कुरा हुनेवाला छन् ।

जब तपाईँहरु संयुक्तराज्य अमेरिकातिर फर्केर हेर्नु हुन्छ, दक्षिणतिरबाट हेर्दा यो कस्तो देखिन्छ ?

बोआल : (हाँस्दै) मेरो विचारमा दक्षिण, उत्तर, पुर्व, पश्चिम वा तलमाथि जताबाट हेरेपनि संयुक्तराज्य अमेरिका उस्तै देखिन्छ । म के देख्छु भने एउटा यस्तो देश ऊ जे चाहन्छ त्यही गर्छ । देश पनि हैन, म के देख्छु भने एउटा समुह वा ठुलो संगठनले ऊ जे गर्न चाहन्छ त्यही निर्णय गर्छ । उनीहरु कसैलाई वास्ता गर्दैनन् । सम्मान गर्दैनन् । उनीहरुले इराकको त्यस्तो दुर्गति बनाए । ५ लाखभन्दा बढि मानिसहरु मारिए । सबै त अमेरिकाको कारणले मात्रै हैन उनीहरु आफैले गर्दा पनि हो । र, ३५ सयभन्दा अमेरिकी सैनिकहरु मारिए । तिनीहरुसँग धेरै मानिसहरु मार्ने बमहरु छन् भन्ने बहानामा अमेरिकीहरु तिनलाई मारिरहेका छन् । संयुक्त राष्ट्रसँगले त्यस्तो हैन भन्यो फेरि हो भन्यो । तिनीहरु आफै कुरा बनाउँछन् । यसो गर्न उनीहरु बानिपरिसकेका छन् । हामी त्यस किसिमको सरकारलाई समर्थन गर्न सक्दैनौँ । मेरो धेरै साथीहरु संयुक्त राज्य अमेरिकामा छन् । उनीहरुलाई म धेरै माया गर्छु । र, म यहाँका धेरै कुराहरु मन पराउँछु । तर, अमेरिका स्वतन्त्र सरकार मन पराउँदैन । र, अरु देशका नागरिकहरुको स्वतन्त्रताको सम्मान गर्दैन । अमेरिकी सरकार त्यही गर्छ जेमा उसलाई फाइदा छ । यद्यपि अमेरिकी क्रान्तिप्रति हाम्रो सकारात्मक धारणा छ । ब्रिटेन विरुद्धको आन्दोलनमा धेरै अमेरिकी नायकहरुको कथा छ । तर फेरि पनि अहिलेको सरकारले जसरी आफ्ना जनताहरुको राय नलिइकन निर्णय गर्छ त्यो नराम्रो कुरा हो । मेरा विचारमा यसदेशका बहुमत जनताले अमेरिकाको वर्तमान नीतिमाथि सहमति जनाउँदैनन् ।

अगस्टो बोआल तपाईँ के कुरा पुरा होस् भन्ने चाहनु हुन्छ ?

बोआल : धेरै कुरा चाहन्छु । म धेरै कुराको आशा गर्छु । किनकि म जहिल्यै अगाडि हेर्छु र सकारात्मक रुपमा हेर्छु । मलाई लाग्छ हामीले सपनादेख्नु पर्छ र परपरसम्मको सपना देख्नु पर्छ । हो, हामीलाई थाहा छ त्यो सपना हो । तर हामीहरुले जहिल्यै धेरै परको सपना देख्नु पर्छ किनभने हामी अगाडि बढ्न चाहन्छौँ । र, अगाडि बढ्नको लागि सपना चाहिन्छ ।

के हो त्यो सपना ?

बोआल : मेरो जीवनमा एउटा मात्रै सपना छ त्यो मेरो जिन्दगीको सपना । यसलाई म सपना जस्तै बनाउन चाहन्छु । यदि म अरु कुराहरुको सपना देख्छु भने– म महिला र पुरुषमा समानता देख्न चाहन्छु । काला र गोरा वा फरकफरक देशहरु सबै मिलेर बसेको देख्न चाहन्छु । जीवनको एउटा मुल्य र मान्यता सृजना गर्नको लागि । कहिलेकाहिँ मुल्य र नैतिकता (इथिक्स र मोरल)लाई हामी एकै ठान्छौँ । तर यी फरकफरक कुरा हुन् । नैतिकता भनेको बाहिरी आवरण हो । मेरो देश दासताबाट आएको हो । गोराहरुले कालाहरुलाई किन्नु भनेको त्यतिखेर नैतिक कुरा थियो । यो ज्यादै ज्याद्रो कुरा हो । त्यसैले म नैतिकतावादी हैन । नैतिकता भित्र धेरै त्रासद कुराहरु छन् । तर म मुल्य र मान्यतावादी हु । इथिकल भनेको ग्रिक मिथमा कुनै किसिमको पुर्णताको नजिक पुग्ने कोसिस गर्ने हो । मैले चाहेको पुर्णताको अभ्यास भनेको समानता, सम्बाद र लोकतन्त्र हो । साँचो अर्थको लोकतन्त्र भनेको हु मैले । बाहिर देखिने खालको लोकतन्त्र हैन । तर, यो अभ्यास चलिरहनु पर्छ । एक ठाउँमा पुगेर यही नै सधैँको लागि सत्य हो भन्ने हैन । यो पुर्णताको अभ्यास हो तर सधैँभरि चलिरहनु पर्छ । सम्वाद रोकिनु हुदैन । एकजना स्पेनिस् कविको एउटा कविता सम्झन्छु ।

बाटो पहिल्यै त्यहाँ हुदैन
तिमीले त्यहाँ हिँडेपछि बाटो बन्ने हो

(The path doesn’t exist

the path you make by walking on it)

त्यसैले हामीलाई थाहा छैन बाटोले कहाँ पुर्याउँछ । तर हामीलाई त्यो दिशा थाहा छ जतातिर हामी बाटो बनाउन चाहन्छौँ । म एउटा विन्दुमा पुगेर बाटो पुरा गर्न चाहन्न । सधैँ अगाडि बढ्न चाहन्छु जहिलेसम्म म सक्छु ।

(हाँस्दै) ए, त्यसोभए आज यहाँसम्म तपाइँले आफ्नो बाटो बनाउनु भएकोमा धन्यवाद ।


(अंग्रेजीबाट अनुवाद—घिमिरे युवराज)

साभार : इमूल्यांकन

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com