महोत्सवमा कुस्ती


प्रकाशित मिति : कार्तिक ८, २०७३ सोमबार

बुटवलमा जारी राष्ट्रिय औधोगिक, कृषि, पर्यटन प्रबद्र्धन प्रदर्शनी तथा प्रथम तिहार महोत्सवमा कुस्तीको रौनक थपिएको छ ।
खेल संयोजक बाबुराम आचार्यका अनुसार आईतबारदेखि शुरु भएको पुरुष तथा महिला कुस्ती प्रतियोगिता हेर्न दर्शकको घुँइचो लागेको थियो । पहिलो दिन ६ जोडीको कुस्ती प्रतिस्पर्धा भएको छ । जसमा एक जोडी महिला थिए ।

कुस्ती प्रतियोगितामा नवलपरासीको त्रिवेणीका महलमान मनु बर्माले भारतका भिम, सिकन्दर, सुमित र घोटुचकलाई पराजीत गरे भने रुपन्देही मर्चवारका घोटुचोक बराबरीमा रोकिए । महिला कुस्तीमा भारतका गोरखपुरमा दिपा र निशा भिडेका थिए । दिपाले निशालाई पराजीत गरेकी छन् । सोमबार पनि दिउँसो १ बजेदेखि कुस्ती प्रतियोगिता सञ्चालन हुने खेल संयोजक आचार्यले जानकारी दिए ।

यसैबीच मेलामा आईतबार ख्यातिप्राप्त लोक तथा दोहोरी गायिक राधिका हमालले सांगीतिक महोल तताइन् । उनले आधा दर्जन आफ्ना चर्चित गीत गाएर दर्शकलाई नचाइन् । त्यस्तै चर्चित गायक कमल खत्रीले पनि गीत गाएर दर्शकलाई मनोरञ्जन दिए । दोहोरीतर्फ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान क्षेत्रीय टिम पाल्पा रामपुरलाई पराजीत गरेको छ । सोमबार मिर्मिरे दोहोरी साँझ बुटवल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्युठानका कलाकार बीच प्रतिस्पर्धा हुने सांस्कृतिक उपसमितिका संयोजक तथा आयोजक नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलका उपाध्यक्ष गोविन्द गैरेले जानकारी दिए । गैरेका अनुसार सोमबार चर्चित आधुनिक गायक हेमन्त शर्मा, गायिक ज्योति मगर लागयतका कलाकारको प्रस्तुति रहनेछ ।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बुटवलको आयेजनामा भइरहेको महोत्सवमा आईतबार २२ हजार दर्शकले अवलोकन गरेको र १ करोड २५ लाख बराबरको आर्थिक कारोबार भएको संगठनका महासचिव सिताराम रसाईलीले जानकारी दिए । दैनिक उपभोग्यबस्तु र होटलहरुमा उल्लेख कारोबार भएको उनले बताए ।

त्यस्तै अन्तराष्ट्रिय पेभिलियनमा पनि उच्च कारोबार भएको उनले उल्लेख गरे । महोत्सवमा गार्मेण्ट, जुत्ताचप्पल, होटल तथा रेष्टुरेण्ट लगायत दैनिक उपभोग्य बस्तुका स्टलहरुमा अवलोकनकर्ताको भिड बढेको आयोजकले बताएका छन् । त्यस्तै उटको नाच हेर्ने तथा बाल उद्यानमा खेल्ने वालवालिकाको संख्या पनि उल्लेख्य रहेको बताइएको छ । कात्तिक १५ गतेसम्म चल्ने महोत्सवमा स्वदेशी तथा विदेशी गरी ४ सय २२ स्टल सहभागी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com