पशुपतिबाट ८० बढी मगन्ते ‘पुनर्स्थापित’


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

पशुपतिनाथ मन्दिर आसपास क्षेत्रलाई ‘भिखारीमुक्त’ घोषणा गरिएपछि गत मंगलवारयता झण्डै १५० मगन्तेमध्ये ८० जनाभन्दा बढीलाई मानव सेवा आश्रममा पुनर्स्थापित गरिएको अधिकारीहरूले बताएका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार बाँकीमध्ये केहीलाई उपचार गराइ खर्च दिएर घर पठाइएको छ।

मानव सेवा आश्रमले २०८२ सालसम्ममा देशका प्रमुख शहरका सडक भिखारीमुक्त गराउने लक्ष्य लिएको छ।

सडक किनार, पाटीपौवा तथा खासगरी मन्दिर आसपाससहित देशका मुख्य शहरमा मानसिक र शारीरिक रूपमा अशक्त भइ माग्न बसेकाहरूको संख्या झण्डै तीन हजार रहेको बताइन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लक्ष्य

धार्मिक तथा पर्यटकीय क्षेत्रबाट उनीहरूलाई हटाएर पुनर्स्थापित गर्ने मानव सेवा आश्रमको लक्ष्य छ।

पशुपति क्षेत्रबाट शुरू गरिएको उक्त अभियानबारे कोषका सदस्य सचिव प्रदीप ढकालले भने, ”जीविकोपार्जनका लागि हात फैलाएर माग्नुपर्ने अवस्थाका व्यक्तिहरू विकल्प भएमा सम्मानित जीवन जिउन वा पुनर्स्थापित हुनका लागि तयार भएको पाइएपछि विभिन्न संघसंस्थासँग समन्वय गरी हामीले पुनर्स्थापनको प्रयास गरिरहेका छौँ।”

पुनर्स्थापनाका क्रममा उक्त क्षेत्रमा अधिकांशले कष्टकर जीवनयापन गरिरहेको पाइए पनि केही नक्कली रूपमा मगन्ते बनेको पाइएको कोषले जनाएको छ।

विभिन्न जिल्लामा झण्डै पाँच सय जनालाई आश्रय दिएको आश्रमले उनीहरूलाई रोजगारी र सीपमूलक तालिम दिइ सामान्य जीवनमा फर्काउने योजना बनाएको छ।

मगन्तेरहित बनेको पशुपति क्षेत्र

अनुरोध

मानव सेवा आश्रमका प्रमुख संरक्षक गोविन्द टण्डनले भने, ”हामीले २०८२ सालसम्म नेपालको कुनै पनि सडकमा मागेर जीवन बिताउन नपर्ने अवस्था सिर्जना गर्नका लागि सरकार, प्रदेश र स्थानीय निकायहरूलाई अनुरोध गरिरहेका छौँ। त्यही अभियानअन्तर्गत आवश्यकता अनुसार आश्रम स्थापना पनि गरिरहेका छौँ।”

संविधानले समेत खुल्ला आकाशमुनि कष्टकर जीवन गुजारिरहेका त्यस्ता असहायलाई सुरक्षा र संरक्षणको सुनिश्चितता गरेको छ।

तर सरकारले योजना बनाएर सहयोग नगरेमा मगन्तेको पुनर्स्थापन योजनामा सार्थक हुनेमा कतिपयको आशंका छ।

BBC Nepali

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com