३३ किलो सुन काण्डको छानबिन गर्न एसएसपी दिवेश लोहनीमाथि पत्र


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

चैत २४, काठमाडौं । प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएको आशंकामा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ। बिहीबार मन्त्रालयले मुख्यालयलाई पत्र लेख्दै लोहनीलाई जिम्मेवारीबाट मुक्त गरेर छानबिन गर्न निर्देशन दिएको हो।

उक्त प्रकरणमा मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। प्रहरी मुख्यालयले पनि डीआईजी पुस्कल रेग्मीको संयोजकत्वमासमेत छानबिन समिति गठन गरेको थियो। उक्त समितिको बैठक बिहीबार साँझ गृह मन्त्रालयमा बसेको थियो।

लोहनीसँगै अन्य ‘जुनियर’ प्रहरी अधिकृतलाई समेत तानेर छानबिनको दायरा फराकिलो पार्न समितिले निर्देशित गरेको गृह स्रोतले बतायो। सुन तस्करले सुन लुटेर घटना गुपचुप गराउन सुन बोक्ने भरिया सनम शाक्यको हत्यासमेत गरेको आरोप छ।

महाशाखाले गत फागुन १९ गते काठमाडौंदेखि मोरङमा प्रहरी पठाएर तीनजना पक्राउ गरेको थियो भने हत्या गरिएका शाक्यको शव स्कोरपियो गाडीबाट बरामद गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तत्कालीन समयमा प्रहरीले काभ्रेका टेकराज मल्ल, मोरङ उर्लाबारीका कृष्ण भन्ने नरेन्द्र कार्की र आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर महाशाखाले घटनामा संलग्नलाई पक्राउ गर्ने कार्यलाई शंकास्पद रुपमा हेरिएको थियो।

गत माघमा ३३ किलो पाँच सय ग्राम सुन काठमाडौंबाट लुटिएको थियो। प्रहरीका अनुसार लुटिएको सुन दुबईमा बसेर अवैध रुपमा सुनको कारोबार गर्ने गोरे भन्ने चुडामणि उप्रेतीको हो। उप्रेतीले नै आफैंले पठाएको सुन नाटकीय ढंगले लुटपाट गरेको आशंका प्रहरीको छ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com