‘छुवाछुत कानूनमा छैन, व्यवहारमा छ’


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

हाम्रो संविधानले नै छुवाछुतलाई दण्डनीय अपराध मानेको छ । तर व्यवहारमा पनि छुवाछुत कायमै छ । जातकै कारण अन्तरजातिय विवाह गर्ने जोडीहरू घर र समाजबाट बहिष्कृत छन् ।

प्यूठान नगरपालिका वडा नं २ का आत्माराम धामी र सुस्मिता विकले ७ महिना अघि भागेर विवाह गरे । तर अझैँसम्म पनि सुस्मिता श्रीमानको घर जान पाएकी छैनन् । आत्मारामका बुबाआमाले सुस्मितालाई घरमा नल्याउन चेतावनी दिएकाले आत्मारामले पनि श्रीमतीलाई घर लैजाने हिम्मत गर्न सकेका छैनन् ।

‘बुबाआमाले मेरो भागको अंश दिने तर सुस्मितालाई घरभित्र ल्याउन नदिने नदिने भन्नुभएको छ’ आत्मारामले भने । आफू भने कहिलेकाहीँ आमाले बोलाउँदा घर जाने गरेको उनी बताउँछन् । तर घर जाँदा भान्सामा भने नपसेको उनले बताए । यता ससुरालीमा भने उनी र उनकी श्रीमती सहज रुपमा आउँजाउँ गर्छन् ।

यस्तै प्यूठान नगरपालिकाकै संगीता कार्की पनि ८ वर्षदेखि माइती जान सकेकी छैनन् । विश्वकर्मा जातका पुरुषसँग विवाह गरेपछि माइतीले उनलाई घरमा जान नदिएको संगीता बताउँछिन् ।

उनी बेला बेला दिदीबहिनीसँग बजारतिरै भेट गर्छिन् र बुबाआमा र दाजुहरूको बारेमा खबर लिन्छिन् । विकसँग विवाह गरेर आफूले कुनै गल्ति नगरेको उनको धारणा छ । तर पनि सबैजना माइती गएको देख्दा र अरुका सन्तान मावल जाने भनेको सुन्दा भने आफूलाई नरमाइलो लाग्ने उनले बताइन् ।

२०२० सालमै कानूनले दण्डनीय मानेको छुवाछुत अहिले पनि समाजमा कायमै छ । संचारिका समूहको उत्पादन कार्यक्रम ‘समकोण’ छायांकनका क्रममा संगीता, आत्माराम लगायत जातिय छुवाछुतको पीडा भोेग्नेहरू भन्दै थिए ‘छुवाछुत कागजमा सकियो, व्यवहारमा कायमै छ ।’

स्थानीय सरकारले छुवाछुत अन्त्य गर्न के गर्नु पर्छ ? भन्ने विषयमा केन्द्रित समकोण आज शुक्रवार बेलुकी ९ः०० बजेदेखि १०ः०० बजेसम्म कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com