बुबाबाटै आठ महिनाकी छोरी बलात्कृत


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

महिला खबर–

सुन्दै आङ जिरिङ्ग हुने । पत्याउनै मुस्किल घटना । तर पनि पत्याउनै पर्ने । सबैभन्दा संरक्षक मानिने बुबाले आठ महिनाकी छोरी बलात्कार गरेको घटनाले फेरी एकपटक हाम्रो समाज कहाँ जादैछ ? भन्ने प्रश्न गर्न बाध्य बनाएको छ ।

नवलपरासीमा आठ महिनाकी छोरी बलात्कार गरेको आरोपमा एक बाबु पक्राउ परेका छन् । बुबा भन्ने बोलीसमेत नफुटेकी छोरी बलात्कार गर्ने बाबुलाई आमाको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।

छोरी बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले नवलपरासी बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिकाका ३० वर्षीय बुबालाई पक्राउ गरेको हो ।

उनले घरमा कोही नभएको बेला ८ महिनाकी छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना सोमबार भएको र बलात्कार गर्ने बुबालाई प्रहरीले मंगलबार पक्राउ गरी बुधबार मुद्दा दर्ता गरेको हो । पीडित बालिकाकी आमाको जाहेरीका आधारमा प्रहरीले बुबालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश कुमार जीसीले जानकारी दिए ।

ती बुबा लागुऔषध दुर्व्यसनीमा फसेको प्रहरीको भनाइ छ । उनलाई हाडनाता करणी उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको र उनको अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

आफ्नै बुबाबाट अबोध बालिका बलात्कृत भई स्वास्थ्य अवस्था नाजुक भएको घटनाले छोरीहरु कसरी र को–कोबाट जोगाउने भन्ने सोच्न बाध्य बनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com