सिपसँगै आत्मनिर्भर बन्ने सपना


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

महिला खबर–

उमेरले भर्खरै २० वर्ष पुगिन्, लमजुङ सदरमुकाम बेसिशहरकी मनिषा परियार । एसइइ दिने बेलामा बिरामी भएसँगै उनको पढ्ने इच्छा भने टुंगियो । अहिले उनी सिप सिक्न उत्सुक छिन् ।

उनका बुबा पनि सिलाई व्यवसाय गर्छन् । बुबाले सिकाइदिए पनि उनी पोख्त हुन सकिनन् । अहिले उनी लमजुङमा नै सञ्चालन भइरहेको तीन महिने निःशुल्क सिलाई कटाई तालिम लिँदै छिन् । उनी भन्छिन्, ‘तालिम लिन थालेको धेरै दिन भयो । अहिलेसम्म पेटिकोटदेखि भोटो बनाउनसम्म सिकीसकेको छु । अझै धेरै सिक्न बाँकी नै छ ।’

उनी सिकेको कुरा व्यवहारमा पनि उर्ताछिन् । बिहान तालिम लिन्छिन् । दिउँसो त्यहि सिकेका कुरा बुबासँगै काम गर्छिन् । उनी भन्छिन्, ‘म सिप सिकेर आफ्नै खुट्टामा उभिएर आत्म निर्भर बन्न चाहन्छु । पढाइ त पुरा गर्न सकिन् । तर सिप सिकेर केही गर्छु । सिप सिकेर व्यवसायमा लाग्दा मान्छे व्यस्त भईदो रहेछ । एक्लै हुँदा मनमा अनेक कुरा खेल्थ्यो । तर अहिले त्यो सबै हटेको छ ।’

सिप नहुँदा महिलालाई हेप्ने र उनीहरूमा क्षमता छैन् भन्ने हुन्छ । सिप हुन सकेमा महिलाहरू आर्थिक रुपमा पनि सक्षम हुने उनको अनुभव छ ।

उनी मात्र होइन् लमजुङ बेसिशहर नगरपालिका नाल्माकी २१ वर्षीया सान्ता वि.क पनि उनीसँगै तीन महिने सिलाई कटाई सिकरिहेकी छन् । सानैदेखिको सिप सिक्ने उनको इच्छा अहिले पुरा भएको छ । गाउँमा घाँस दाउरा गर्दै बसेकी सान्ता तालिमको आवेदन खुलेको थाहा पाउने बित्तिकै आवेदन दिन सदरमुकाम हानिइन् । तालिम लिनका लागि उनी छनोटमा परिन् । अहिले तालिम लिँदैछिन् । कक्षा दशसम्म मात्र अध्ययन गरेकी सान्तालाई सिप सिकेर आफै आत्मनिर्भर बन्ने ठूलो धोको छ ।

उनी भन्छिन्, ‘सिप नहुँदा घरपरिवारबाटै हेला हुँदो रहेछ । अरुको भरमा बाँच्न साह्रै गाह्रो हुँदो रहेछ । ’सिप नहुँदा युवायुवतीहरू साथिसंगिको लहलगैमा लाग्ने, दुव्र्यसनीमा फस्ने गरेको उनी बताउँछिन् । अहिले एक तहको मात्र तालिम लिएकी सान्ताले दुई तहसम्म तालिम लिएर आफ्नै व्यवसाय सञ्चालन गर्ने इच्छा रहेको बताइन् । उनी भन्छिन्, ‘सिप सकिएपछि आफ्नै व्यवसाय गर्ने सोच छु ।’

अर्घाखाँची घरभई दुई वर्षदेखि लमजुङ सदरमुकाम बेसिशहरमा बस्दै आएकी २५ वर्षीया सिता ताम्राकार पनि तीन महिने टेलरिङ सिक्दैछिन् । यसअघि घरधन्दामै सिमित रहेकी ताम्राकार सिप सिकेर आफ्नो जीवनमा केही गरौँ भन्ने इच्छा लिएर तालिममा सहभागि भएको बताउँछिन् । आफूले सिप सिकेर आत्मनिर्भर बन्नसके एक, दुई पैसाको लागि श्रीमानको भर पर्न नपर्ने उनको भनाइ छ । घरमा खाना पकाउने, घरधन्दा गर्ने समय अहिले सिप सिक्नमा परिणत भएको उनले बताइन् ।

बेसिशहर ११ घर भएकी सिता थापाघर्ती सिप सिक्नकै लागि बेसिशहर रानिकुवाबाट झन्डै ४५ मिनेटको बाटो हिँडेर आउँछिन् । उनी भन्छिन्, ‘केही सिकेको थिइन् । दिनभरि घरमै हुन्थे । आफू पनि केही गरौं । श्रीमानको मात्र कति भर पर्ने भनेर सिप सिक्न थाले ।घरको समय व्यवस्थापन गर्दै आफू तालिम लिन आएको उनी बताउँछिन् । दुई तहसम्मको तालिम लिएर आफ्नो खुट्टामा आफैँ उभिउने उनको इच्छा छ ।

उनी भन्छिन्, ‘सधैँ अरुको भरका बस्नुुभन्दा आफूले कमाउनुमा धेरै फरक पर्छ । आफूले केहि गरे सन्तान र आफ्नै भविश्य पनि राम्रो हुन्छ ।’ सिप नहुँदा हेपिने गरेको समेत उनको अनुभव छ ।

नेपाल सरकार, शिक्षा मनत्रालय, व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)को सहयोगमा सञ्चालन भएको तीन महिने तालिममा विहान र दिउँसो गरी ४० जना महिलाहरूले सिलाई कटाई तालिम लिइरहेका छन् ।

‘हिंसाबाट मुक्त हुन सिप आवश्यक’

प्रशिक्षक ममता बस्याल भन्छिन्, ‘घरेलु हिंसाबाट टाढा रहन पनि महिलालाई सिप आवश्यक पर्छ । जब महिला आर्थिक रुपमा आत्मनिर्भर हुन्छन्, तब घरपरिवार र श्रीमानले हेर्ने दृष्टिकोण नै फरक हुन्छ ।’

अर्को कुरा घरकै काममा मात्रै व्यस्त महिलालाई आफ्नो र छोराछोरीको साना–साना आवश्यकता पूरा गर्न पनि सिपले सहयोग गर्ने उनी बताउँछिन् । कतिपय आमाहरूले छोराछोरीको आवश्यकता पुरा गर्न पनि श्रीमानसँग हात जोड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com