छालाजुत्ताको व्यवसाय संकटमा


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

चैत २२, धनकुटा । धनकुटामा छालाजुत्ताको व्यवसाय संकटमा परेको छ ।

कुनै बेला निकै लोकप्रिय भएका स्थानीय उद्योगबाट उत्पादित छालाका जुत्ताले पछिल्लो समयमा प्रतिस्पर्धा गर्न नसक्दा व्यवसाय नै संकटमा परेको हो । आयातित जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा घरेलु उद्योगहरु नै बन्द हुने अवस्थामा पुगेका छन् ।

धनकुटामा मात्र नभई जिल्ला बाहिरका अन्य स्थानमा ख्याति समेत कमाएको धनकुटामा उत्पादन हुने जुत्ता यतिबेला भने विस्थापित हुने अवस्थामा पुगेका हुन् । करिब ४ दशक अघिदेखि धनकुटा सदरमुकामसहित विभिन्न स्थानमा सञ्चालित दर्जनभन्दा बढी जुत्ता–चप्पल बनाउने उद्योगहरु अहिले विस्थापित हुने अवस्थामा पुगेका छन् ।

२०५२र५३ सालसम्म लोकप्रिय रहेका धनकुटाका जुत्ताचप्पल त्यस यता भने आयातित जुत्तासँग प्रतिस्पर्धा गर्न नसक्दा विस्थापित भएको धनकुटाका पुराना छालाजुत्ता ब्यवसायी जयकुमार बोगटी बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छालाको जुत्ता चप्पल उत्पादन गर्न श्रम, सीप र कच्चा पदार्थ बढी लाग्ने भएकाले न्यूनतम मूल्य १२ सय देखि ३ हजार रुपैयाँसम्म पर्दछ । तर यस्ता जुत्ता अन्यको तुलनामा टिकाउ र गुणस्तरीय हुने गर्छ । गुणस्तर र टिकाउ भएकै कारण यहाँ उत्पादन भएका जुत्ताचप्पल लोकप्रिय हुनुको साथै राष्ट्रिय पुरस्कारसमेत पाएका थिए ।

अहिले पनि यस्ता उद्योग प्रवर्द्धनका लागि जिल्लास्थित घरेलु उद्योग विकास समितिले समेत उपयुक्त प्रविधि हस्तान्तरण, परम्परागत उद्योग विकास, बजार प्रवर्द्धन लगायतका कार्य गर्दै आएको कार्यालयका सुचना अधिकारी दिपेन्द्र अधिकारीले जानकारी दिए ।

तर यो सहयोग समेत प्रभाबकारी बन्न सकेको छैन । ठूला कम्पनीले धेरै पुँजी लगाएर एकै पटक धेरै जुत्ता चप्पल उत्पादन गर्छन् । धेरै उत्पादन गर्दा लागत खर्च पनि कम लाग्छ र बजारमा सस्तोमा जुत्ताको किनबेच हुन्छ । जसका कारण स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न नसकेका हुन् । यी उद्योगले कामदार अभाव, प्रविधि अभाव, आयातित जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत मुख्य समस्या रहेको स्थानीय अजय बोगटी बताउँछन् ।

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटामा हाल १० उद्योग दर्ता भई सञ्चालनमा छन् । जसको वार्षिक उत्पादन करिब ५० लाख रुपैयाँ हुने गरेको छ ।

स्थानीय प्रविधिको प्रयोग गरी घरेलु उद्योगबाट उत्पादन हुने छालाको जुत्ता चप्पलले नेपाली पहिचान बोकेको छ । तर पछिल्लो समय रेडिमेट जुत्ताचप्पल बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि यी उद्योगहरु मारमा पर्नुको साथै विस्थापन हुने अवस्थामा पुगेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com