दर्जनौँ स्थानमा पिउने पानीको हाहाकार


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

नवीनबाबु अधिकारी, सिन्धुली । सिन्धुली जिल्लामा लामो खडेरीका कारण अहिले दर्जनौँ स्थानमा पिउने पानीको हाहाकार भएको छ । खडेरीका कारण पानीका मुहान सुकेपछि पिउने पानीकै हाहाकार भएको हो ।

वर्षाको समयमा पनि पर्याप्त वर्षात् नभएको र हिउँदमा पनि वर्षात् नभएकाले अधिकांश बस्तीमा हिजोआज पानीको समस्या उत्पन्न भएको स्थानीय बासिन्दा बताउँछन् । घर नजिकै रहेको धारामा पानी आउन छाडेपछि खोला तथा खोल्सीको दूषित पानीलाई नै दैनिक उपभोग गर्नु परेको उनीहरुको भनाइ छ ।

सुगम मानिने कमलामाई नगरपालिका–४ रायडीमै पिउने पानीको समस्या भएको छ । वर्षांैदेखि उपभोग गर्दै आएको पानीको मुहान एकाएक सुकेपछि अहिले ग्वाङ खोला तथा खहरे खोलाको बगर खोस्रेर पानी पिउन बाध्य भएको स्थानीयवासी कैलाश विसंखेले बताउनुभयो । खानेपानीको मुहानमा पानी नै नभएपछि नुहाउने, लुगाधुने, बस्तुभाउलाई खुवाउने र आफूले पानी खाने मुहान एकै भएको उहाँको भनाइ छ ।

यस्तै, हरिहरपुरगढी गाउँपालिका हाक्पारा निवासी ७० वर्षीया रेउतीमया लुङ्गेलीमगरले पनि पिउने पानीको समस्या भएको बताउनुभयो । मरिण खोलामा कुवा खनेर पानी खाँदै आएको उहाँको भनाइ छ । घर वरपरका पानीका मुहान तथा कुवा सुकेपछि खोलाको पानी पिउन बाध्य भएको उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाउँमा बिजुली नहुँदा दिनहुँ खोलाको पानी बुढेसकालमा बोकेर खान धेरै समस्या भएको उहाँको दुखेसो छ । बिजुली भए खोलाको पानी मोटरले तानेर खान पाइने आशा भए पनि सरकारले बिजुली नदिएको उहाँले बताउनुभयो ।

बिजुली भए बुढेसकालको पानी तान्ने सहारा हुने थियो उहाँले भन्नुभयो । खाने पानीको राम्रो व्यवस्था गरिदिन सरकारसँग उहाँको माग रहेको छ । आफूसँगै दर्जनाँै घरपरिवार अहिले खोलाको पानी खान बाध्य भएको उहाँले बताउनुभयो ।

यस्तै, हरिहरपुरगढी गाउँपालिका–५ हातिदमानकी अस्मिता मोक्तानको पनि पानीको समस्याको दुखेसो छ । धारामा पानी महिनाँैदेखि आउन छाडेकाले नजिकका खोलाबाट पानी ल्याई खाने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नजिकै पानी छैन खोलाबाट ल्याएर बस्तुलाई खुवाउन सकिँदैन, आफैँले ल्याउने पानीको मुहानबाट बस्तुलाई खुवायो अनि आफूले पनि ल्यायो ।” वर्षौंदेखि पानीको समस्या भए पनि खोलाको पानी खानु पर्ने बाध्यता कहिल्यै नटरेको उहाँको दुखेसो छ ।

यससँगसँगै जिल्लाका तीनपाटन, फिक्कल, गोलञ्जोर, सुनकोशी, मरिण तथा अन्य स्थानीय तहका धेरै बस्तीमा खानेपानीको समस्या भएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले धेरैजसो पानीका मुहान सुकाएको र अहिले रहेका नयाँ मुहान पनि लामो खडेरीका कारण सुकेपछि पिउने पानीकै समस्या भएको स्थानीयवासीले बताएका छन् ।

पानीलाई शुद्धीकरण गरेर नखाए विभिन्न रोगको महामारी फैलने भए पनि हालसम्म त्यस्ता सचेतनामूलक कार्यक्रम नभएको स्थानीयवासी बताउँछन् । पानीको समस्या रहेका स्थानमा सम्बन्धित निकायले नागरिकलाई पानीको व्यवस्थापन वा पानी शुद्धीकरण गर्ने प्रक्रियाका बारेमा जानकारी गराउनु आवश्यक छ ।

(रासस)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com