दुई वर्ष पछि न्याय पाइन् दलित महिलाले


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

–महिला खबर–

स्थानीय बचत समूहको अपचालन रोक्न खोज्दा तातो आइरनले डामेर गम्भीर घाइते भएकी मोरङकी एक दलित महिलाले दुई वर्ष पछि न्याय पाएकी छन् ।

जिल्लाको सुन्दरहरैचा नगरपालिका ६ की ३५ वर्षीया प्रमिला लकान्द्री (विश्वकर्मा)लाई २०७२ जेठ २५ गते छिमेकी मन्दिरा गुरुङ, रन्जना गुरुङ, माया राई लगायतले सहकारीको अध्यक्ष रहेकी प्रमिलालाई छिमेकी रहिता परियारको घरमा बसिरहेको अबस्थामा बाँस, रडले जातिय गालीगलौज गर्दै मरणासन्न हुने गरी कुटपिट र तातो आइरनले शरीरमा डामेर गम्भीर घाइते बनाएका थिए ।

कुटपिटबाट गम्भीर घाइते प्रमिलाको मेरुदण्डमा गहिरो चोट लागेको थियो । उनको एक महिनासम्म जिल्ला अस्पतालमा उपचार गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनापछि जाहेरी दिए पनि इलाका प्रहरी कार्यालय बेलबारीले मुद्दा मिलापत्र गराउन दवाव दिँदै जाहेरी लिन मानेको थिएन । जाहेरी लिन नमानेपछि हुलाक मार्फत पीडित महिलाले प्रहरीलाई जाहेरी पठाएकी थिइन् । तर प्रहरीले घटना सामान्य कुटपिट भएको भन्दै जाहेरी दर्ता गर्न नमानेपछि पीडित महिलाले एम्बुलेन्स चढेरै उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दर्ता गराएकी थिइन् ।

रिट दर्तासँगै प्रहरीले पीडितलाई समेत थाहा नपाउने गरि जातिय छुवाछुतको मुद्दा जिल्ला अदालतमा दर्ता गराएको थियो ।

जिल्ला अदालत मोरङका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल ईजलासले मुद्दाको फैसला गर्दै जातिय विभेद तथा छुवाछुत कसुर र ज्यान मार्ने उद्योग अन्तर्गत १ महिना जेल सजाय र २५ हजार रुपैयाँ जरिवानाका साथै ज्यान मार्ने अभियोगमा २ वर्ष जेल चलान र एक लाख रुपैयाँको जरिवाना सहितको फैसला सुनाएको हो । पीडित प्रमिलाले ढिलै भए पनि न्याय पाएको बताइन् ।

स्थानीय सुन्दरहरैचा नगरपालिका ६ की वडा सदस्य समेत रहेकी महिलाले न्यायका लागि राष्ट्रिय मानव अधिकार आयोग र दलित आयोगमा समेत उजुरी दिएकी थिइन् ।

प्रमिलाले आफूहरु माथि आक्रमण गरेको भन्दै प्रतिबादीहरुले समेत अदालतमा कुटपिट मुद्दा दर्ता गराएका थिए । तर प्रमिलाले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएकाले अदालतबाट कुटपिट मुद्दा ज्यान मार्ने उद्योगमै परिणत भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com