भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेल : प्रचण्ड


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीवीचको एकता रोक्न चलखेल भएको बताएका छन्। तर, उनले यस्तो चलखेल कसले गरेको छ भन्ने चाहिँ खुलाएका छैनन् ।

बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले
एमाले–माओवादी दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको पनि बताए ।

बैठकमा प्रचण्डले भने, ‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ । हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं । दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं ।’

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतऐक्य रहेको बताए ।
उनले भने, ‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौं । विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौं ।’

अध्यक्ष प्रचण्डले केन्द्रमा सह–अध्यक्षको मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराए ।
संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com