भन्सारमा कतै दरबन्दीभन्दा बढी, कतै कर्मचारी नै छैनन्


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

सरकारले स्थानीय तह र प्रदेशमा कर्मचारी खटाउन सकिरहेको छैन । सरुवा गरिएका कर्मचारी काममा गएका छैनन् । तर, भन्सार कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिएका छन् । सामान्य प्रशासन मन्त्रालय, मन्त्री, सचिव र ट्रेड युनियनको दबाबका कारण भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी खटाउने गरिएको हो ।

करछली, कमिसनजस्ता गैरकानुनी धन्दाबाट आर्थिक लाभ लिन सकिने भएकाले कर्मचारीहरू पहुँचका आधारमा भन्सार कार्यालयमा जाने गरेको पूर्वअर्थसचिव शान्तराज सुवेदीले बताए । ‘भन्सार पहिलेदेखि नै आर्थिक मामिलामा बदनाम कमाएको संस्था हो,’ सुवेदीले भने, ‘भन्सारभित्र हुने गैरआर्थिक क्रियाकलापबाट आकर्षित भएर पहुँचका आधारमा स्वार्थी कर्मचारी समूह भन्सार पुग्ने गरेको छ ।’

सामान्य प्रशासन मन्त्रालयले समेत दरबन्दी नभए पनि भन्सारमा बढी कर्मचारी पठाउने गरेको छ । सामान्यले दरबन्दीभन्दा बढी संख्यामा कार्यालय सहयोगी, ड्राइभर र कम्प्युटर अधिकृत खटाउने गरेको हो ।

भन्सार विभागमा प्रशासन हेर्ने उपसचिव टंक पाण्डे तातोपानी भन्सार बन्द भएपछि त्यहाँका कर्मचारीलाई व्यवस्थापन गर्दा केही भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी देखिएको बताए । तातोपानी भन्सारमा ६८ जनाको दरबन्दी रहेकामा, तीनजनालाई त्यहाँ राखेर बाँकी सबैलाई अन्य भन्सारमा खटाइएको उनले बताए ।

आर्थिक कारोबार बढी हुने ठूला भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिँदा तराईकै छोटी भन्सारमा भने कर्मचारी अपुग छन् । आर्थिक कारोबार कम हुने, अतिरिक्त आर्थिक लाभ नहुने र असुरक्षाका कारण त्यस्ता भन्सारमा कर्मचारी बस्न नमान्ने गरेको विभागका उपसचिव पाण्डे बताउँछन् । ‘बोर्डर एरिया भएकाले कर्मचारीले बढी असुरक्षित महसुस गर्छन्, अन्य आकर्षण पनि कम हुँदा कर्मचारीको संख्या कम हुने गरेको देखिन्छ,’ पाण्डेले भने ।

केही भन्सारमा भने दरबन्दीभन्दा निकै कम कर्मचारी छन् । दाङको कोइलाबास भन्सारमा आठजनाको दरबन्दी रहेकामा अहिले एकजना मात्र कार्यरत छन् । यस्तै, दोलखाको लामाबगर भन्सारमा चारजनाको दरबन्दी रहेकामा एक कर्मचारीसमेत नरहेको विभागले जानकारी दिएको छ । यस्तै, ओलाङचुङगोला र लार्के भन्सारमा पनि दरबन्दीभन्दा निकै कम संख्यामा कर्मचारी छन् । यी दुवै भन्सारमा चार–चारजनाको दरबन्दी रहे पनि दुई–दुई कर्मचारी मात्र खटिएका छन् ।

राजस्वसचिव शिशिर ढुंगानाले केही भन्सार कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी रहेको स्वीकार गरे । उनले अहिले भने कर्मचारी संख्या घटाउँदै लगेको बताए । ‘पहिला निकै नै धेरै थिए,’ उनले भने, ‘अहिले अतिरिक्त कर्मचारी हटाइरहेका छौँ ।’

दरबन्दीभन्दा बढी पठाउन मिल्दैन : विभाग
भन्सार विभाग दरबन्दीभन्दा बढी कर्मचारी पठाउन नमिल्ने बताउँछ । विभागका एक कर्मचारीले दरबन्दीभन्दा बढी कर्मचारीमा कार्यालय सहयोगी, ड्राइभर र कम्प्युटर अधिकृत रहेको बताए । राजस्व समूहका कर्मचारी दरबन्दीभन्दा बढी नरहेको विभागको दाबी छ । राजनीतिक र कर्मचारीको तहबाट आफ्ना मान्छे पठाइदिन दबाब आउने र त्यही कारण पनि भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी हुने गरेको विभागको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com