मेरो भारत भ्रमण सम्झौताका चाङ लगाउन होइन : प्रधानमन्त्री


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय भ्रमणका क्रममा नयाँ सम्झौतामा भन्दा पहिले भएका सम्झौतालाई कार्यान्वयनमा जोड दिने बताएका छन्। संघीय संसदको प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणमा सम्झौताका नयाँ चाङ लगाउने भन्दापनि पहिले भएका सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न पहल गर्ने बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा चैत २३ देखि तीन दिने राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध मजबुद बनाउने बताए।

प्रधानमन्त्रीले यसअघि नेपालमा भ्रमणका क्रममा भएका सम्झौताको गणनामा ध्यान जाने भएपनि आफूले भने विगतमा पनि सम्झौतामा ध्यान नदिएको स्मरण गरे। उनले भने, ‘म नयाँ नयाँ सम्झौताहरूको चाङ लगाउने वा गिन्ती बढाउने पक्षमा होइन। सम्बन्धलाई कसरी फलदायी बनाउने र भएका सम्झौताहरूलाई कसरी प्रभावकारी बनाउने, त्यसबाट कसरी ठोस उपलब्धी लिने भन्नेमा ध्यान जान्छ।’ उनले पहिले भएका पुराना सम्झौतालाई नबिर्सेर नयाँ सम्झौता गर्ने बताए।

प्रधानमन्त्रीद्ये पुराना भइसकेका सम्झौताहरूमा सहमति भएका समझदारी भएका कुराहरूमा कसरी अध्यावधिक कसरी गर्न सकिन्छ भन्ने बारेमा र कार्यान्वयन गर्ने बारेमा ध्यान दिने बताए। प्रधानमन्त्री ओलीले हिजो भएका राम्रा सम्झौता ओझेल परेका भए बाहिर ल्याउने र अनुपयुक्त सम्झौता भएका भए तिनलाई सच्याउनेबारे आफूले ध्यान दिने बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com