प्रदेश ५ को राजधानीमा एउटा मात्र वारुण यन्त्र, आगलागीका घटना बढ्दै जाँदा नियन्त्रणमा समस्या


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

 

चैत २०, बुटवल । गएको माघ ४ गते बुटवल–२ मैनामगरस्थित बिहार च्याम्पियन टायर पसलमा आगलागी भयो । विद्युत् सट भएर आगलागी हुँदा एक लाख नगदसहित ३० लाख मूल्य बराबरका टायर जलेर नष्ट भए ।

त्यस्तै फागुन २ गते बुटवल–संगमपथस्थित शुभ गौतम इन्टरप्राइजेज नामक प्लाष्टिक पसलमा आगलागी भयो । समयमै दमकल नपुग्दा ३ करोड रूपैयाँ बराबरको धनमाल जलेर नष्टको सञ्चालकको भनाइ छ । स्थानीयको प्रयासले अन्य पसलमा आगो फैलिन पाएन ।

त्यस्तै गत बिहीबार राति बुटवल होराइजन चोकस्थित महाकाली इन्डष्ट्रिज प्रा।लि।मा आगलागी भयो । त्यहाँ पनि आवश्यकताअनुसार वारुणयन्त्र नहुँदा ८० लाख रूपैयाँको धनमाल जलेर नष्ट भयो । फेरि शुक्रबार बिहानपख बुटवल नयाँ बसपार्कमा आगलागी भयो । समयमा दमकल पुग्दा क्षति भने हुन पाएन । यी त केही पछिल्ला आगलागीका घटना मात्र हुन् । यसवर्ष रुपन्देही जिल्लामा १०४ वटा ठूला आगलागीका घटना भएका छन् ।

प्रदेश नम्बर पाँचको राजधानी बुटवलमा विपद् व्यवस्थापनसम्बन्धी पूर्व तयारी नुहँदा आगलागीका घटना बढ्दै गएका छन् । हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्किएको छ ।

जिल्लामा बर्सेनि आगलागीका घटना बढ्दै गए पनि वारुण यन्त्रको संख्या घट्दै गएको छ । एक वर्ष अगाडि ४ वटा वारुणयन्त्र रहेको जिल्लामा अहिले २ वटा मात्र सञ्चालनमा छन् । त्यसमध्ये पनि प्रदेश राजधानीमा भने एउटामात्रै वारुण यन्त्र छ । आगलागीबाट बर्सेनि करोडौं मूल्य बराबरको सम्पत्तिसमेत नष्ट हुने गरेको छ ।

१६ स्थानीय तह रहेको रूपन्देहीमा २ वटा दमकलले काम गनुपर्ने अवस्था छ । बुटवल उपमहानगरपालिको एउटा र सिद्धार्थनगर नगरपालिकाका एउटा मात्र चालू अवस्थाका दमकल छन् । बुटवल र सिद्धार्थनगरको २ वटा वारुणयन्त्र बिग्रिएर थन्किएका छन् । नयाँ नगरपालिका र गाउँपालिकाले अझै दमकल खरिद गर्ने बजेटसमेत विनियोजन गर्न सकेका छैनन् । आफूहरूलाई आवश्यक पर्ने गाडीहरू तत्कालै खरिद गरेका स्थानीय तहका जनप्रतिनिधिहरुले दमकल खरिदमा कुनै चासो दिएको देखिँदैन ।

बुटवल उप–महानगरपालिका वारुण यन्त्र उपशाखाका इञ्चार्ज गोकर्ण भट्टराईले दमकल कम हुँदा समयमै पुगेर आगलागी नियन्त्रण गर्न कठिन भएको बताउँछन् । ‘बस्ती बढ्दो छ । बाटाहरू साँघुरा छन् । वारुण यन्त्र कम छन् । जसले गर्दा नियन्त्रणमा कठिनाइ भएको छ,’ उनले थपे, ‘कम्तिमा पनि एक स्थानीय तहले एउटा वारुणयन्त्र अनिवार्य राख्नुपर्छ । अझै प्रदेशको राजधानीसमेत भएको बुटवलमा ३ देखि ४ वटासम्म हुनुपर्छ । अनि बल्ल समयमै आगलागी नियन्त्रण गर्न सकिन्छ ।’

बुटवलमा पुनारो मर्मत गर्ने कुरा भएको तर नयाँ किन्ने पहल शुरु नभएको भट्टराईको भनाइ छ । सिद्धार्थनगरका वारुण यन्त्र इञ्चार्ज उमानन्द भण्डारीले चालू अवस्थामा रहेको एउटा दमकल पनि असार मसान्तमा २० वर्ष पुग्ने बताए । सरकारले २० वर्ष पुराना सवारी साधन सञ्चालनमा बन्देज लगाएको छ ।

भण्डारीले भने, ‘चालू अवस्थामा रहेको एउटा दमकल पनि ३ महिनापछि सञ्चालन गर्न पाइने छैन । नयाँ खरिदका लागि कार्यालय प्रमुखलाई जानकारी गराएँ । तर गहनरुपमा लिएजस्तै देखिँदैन ।’

यहाँ ठूलाठूला आगलागीका घटना हुँदा नवलपरासी र कपिलवस्तुबाट दमकल मगाउनुपर्ने अवस्था छ । टाढाबाट दमकल आउँदा यहाँ धेरै धनजनको क्षति हुन पुग्छ । १ लाख ४५ हजारभन्दा बढी घरधुरी र ८ लाख जनसंख्या रहेको जिल्लामा २ वटा दमकलले काम गनुपर्ने अवस्था छ ।

ट्राफिक जाम र साँघुरा बाटोले गर्दा समयमै दमकल पुग्न नसकेको वारुण यन्त्रमा काम गर्ने कर्मचारीहरू बताउँछन् ।

यसले मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । रुपन्दहीमा गत वर्ष १०६ वटा र २०७२ मा ११७ वटा अगालागीका घटना हुँदा अर्बौं रुपैयाँको धनमाल नष्ट भएको छ । साविक लुम्बिनी अञ्चलमा ६ वटा मात्र दमकल छन् । चैत, वैशाख र जेठ महिनामा धेरै आगलागीका घटना हुने गर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com