भारत-पाकिस्तान पर्ख र हेरको नीतिमा


प्रकाशित मिति : आश्विन २८, २०७३ शुक्रबार

भारतले सेप्टेम्बर २९ मा गरेको ‘सर्जिकल आक्रमण’ पछि बढेको भारत र पाकिस्तानबीचको तनाव अझै साम्य भएको छैन । जुनसुकै बेला दुई देशबीच युद्ध हुन सक्ने भय र त्रास हटेको छैन । दुवै पर्ख र हेरको रणनीतिमा छन् । दुवै देशका सैन्य अधिकारीहरू द्वन्द्व कम गर्न आसपासमा कुराकानीमा रहेको भनिए पनि सम्भावित युद्धका लागि समेत तयारी अवस्थामा छन् ।

भारतीय अधिकारीहरूले आफ्नोतर्फबाट अब कुनै पनि प्रकारको आक्रमण नगर्ने तर पाकिस्तानी पक्षबाट कुनै आक्रमण भए प्रतिकार गर्ने बताइरहेका छन् । तैपनि कतिपयको बुझाइ आगामी साता भारतको गोवामा हुने ब्रिक्स सम्मेलनसम्म दुवै पक्षले संयम अपनाएको र त्यसपछि दुई देशबीच सिमानामा तनावको अवस्था सिर्जना हुनसक्छ भन्ने छ ।

यसैबीचमा आगामी नोभेम्बरमा पाकिस्तानमा सैन्य प्रमुखको म्याद सकिँदै छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तान सरकारले सेनाको म्याद नथपे तत्काल युद्धको सम्भावना रहने छैन तर सैन्य प्रमुखको म्याद थपिए यसले पाकिस्तान भारतसँगको दीर्घकालीन द्वन्द्वको तयारीमा रहेको सन्देश दिने छ ।

एकातर्फ दुई देशको बीचमा युद्धको भय टरिसकेको छैन भने अर्काेतर्फ आगामी हप्ताहरूमा भारतमा आतंकवादी आक्रमणहरू हुन सक्ने सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमहरूले बताइरहेका छन् । आतंकवादी आक्रमण हुन सक्ने आशंका भारतले सर्वसाधारणमा जनचेतना जगाइरहेको छ भने सुरक्षालाई कडा बनाइएको छ ।

दुवै देशले आफ्नो सिमानाका नागरिकलाई सुरक्षित स्थानमा सारेका कारण युद्धको सम्भावनालाई भने नकार्न सकिँदैन । भारतको बुझाइ दुई देशको बीचमा युद्ध नभए पनि पाकिस्तानको समर्थन प्राप्त आतंककारी समूहले भारमा जुनसुकै बेला आक्रमण गर्न सक्ने सम्भावना बढेको छ ।

तर दुवै देशमाथि युद्धमा नजान आन्तरिक र कूटनीतिक दबाब तीव्र छ । अमेरिका, चीन, रसिया लगायतका मुलुकले सर्जिकल आक्रमणलाई कम महत्त्व दिए पनि दुवै देशलाई युद्धमा नजान दबाब दिइरहेका छन् । केही भारतीय नेता तथा सञ्चारमाध्यमहरू युद्धको पक्षमा आक्रामक देखिए पनि युद्धमा जान नहुने ठूलो मत छ । तर सर्जिकल आक्रमणको पक्षमा भने भारतमा एकमत रहेको थियो ।

पाकिस्तानको राजनीतिक नेतृत्व पनि तत्काल युद्धमा जाने मुडमा छैन तर त्यहाँको सैनिक नेतृत्वको धारणा भने स्पष्ट छैन । अमेरिकाका लागि पाकिस्तानी राजदूत जलिल अब्बास जिलानीले भारत र पाकिस्तानका लागि युद्ध विकल्प नभएको र दुवै देशले कश्मीरलगायत सबै समस्या संवादमार्फत नै समाधान गर्नुपर्ने बताएका छन् । उनले अमेरिकामा पत्रकारहरूसँग बोल्दै आणविक शक्ति सम्पन्न दुई मुलुकका लागि युद्ध कुनै विकल्प हुन नसक्ने बताए ।

तत्काल युद्धमा गएका दुवै देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने निश्चित नै छ । अहिले पनि कतिपय भारतीय वस्तुहरू पाकिस्तान निकासीमा समस्याहरू देखा परिसकेका कान्तिपुर दैनिकमा खवर छ  । भारतले सर्जिकल आक्रमणको पक्षमा आफूले अन्तर्राष्ट्रिय समुदायको समर्थन पाएको दाबी गरिरहेको छ । सार्क सम्मेलन स्थगित गरेर पाकिस्तानलाई एक्लो पारेको भारतको बुझाइ रहेको छ ।

आगामी साता गोवामा हुने ब्रिक्स सम्मेलनमा सार्कका धेरै मुलुकका प्रतिनिधि सहभागी हुने तर पाकिस्तान सहभागी नहुने भएकाले त्यसले पनि पाकिस्तान एक्लो भएको सन्देश जाने समाचारहरू भारतीय सञ्चारमाध्यमहरूले सम्प्रेषण गरिरहेका छन् । भारतको योजना भने पाकिस्तानमाथि थप कूटनीतिक दबाब सिर्जना गरेर आवश्यक परे फेरि सर्जिकल आक्रमण गर्ने छ । युद्धको सम्भावना नटरेकाले भारतमा रहेका पाकिस्तानी र पाकिस्तानमा रहेका भारतीय नागरिकले असुरक्षा महसुस गर्न थालेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com