प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेट तय


प्रकाशित मिति : आश्विन २८, २०७३ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिन पिङलाई नेपाल भ्रमण गर्न आग्रह गर्ने भएका छन् । आइतबारबाट भारतको गोवामा हुने दुईदिने ब्रिक्स सम्मेलनका क्रममा प्रचण्ड र पिङबीच साइडलाइन भेटवार्ता तय भएको छ ।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली टोलीसहित शनिबार भारत प्रस्थान गर्दै छन् । स्रोतका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति पिङलाई छिटै नेपाल भ्रमण गर्न आग्रह गर्नेछन् । त्यस्तै, यसअघिको चिनियाँ प्रतिबद्धताअनुसार नेपाललाई दिने चार अर्ब युआन ‘सफ्ट लोन’बारे पनि छलफल हुनेछ ।

भ्रमणका क्रममा भेटवार्ता तय भए पनि कार्यतालिका टुंगो लाग्न बाँकी रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले जानकारी दिए । ‘प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच साइडलाइन वार्ता तय भएको छ,’ डा. अधिकारीले भने, ‘गृहकार्य भइसकेको छ, तर दसैँ बिदाका कारण सबै अपडेट भएको छैन, शुक्रबार बेलुकीसम्म सम्मेलनमा सहभागिताको कार्यतालिका टुंगो लाग्नेछ ।’

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले पनि सम्मेलनमा जाने प्रधानमन्त्री प्रचण्डसहित नेपाली टोलीको कार्यतालिका शुक्रबारसम्म टुंगो लाग्ने जानकारी दिएका नयाँ पत्रिकामा खवर छ । भ्रमण टोलीमा प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीलगायत छन् ।

सार्क सम्मेलनबारे छलफल हुने

ब्रिक्स सम्मेलनमा सहभागिताका क्रममा प्रधानमन्त्री प्रचण्डले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनबारे पनि छलफल गर्ने भएका छन् । भारत–पाकिस्तान तनावका कारण स्थगित सार्क सम्मेलनको मितिबारे सदस्य राष्ट्रहरूसँग कुरा गर्ने प्रधानमन्त्रीको तयारी छ । ब्रिक्स सम्मेलनमा सार्कका अधिकांश सदस्य राष्ट्र सहभागी हुनेछन् ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सार्क राष्ट्र प्रमुखहरूसँगको साइडलाइन वार्तामा सार्क अध्यक्ष राष्ट्रको हैसियतमा प्रधानमन्त्रीले स्थगित सम्मेलन छिटै गर्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्नुहुनेछ,’ स्रोतले भन्यो, ‘तर को–कोसँग साइडलाइन वार्ता हुने भन्ने अन्तिम टुंगो भइसकेको छैन ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com