कर्मचारी जानै मान्दैनन्, यो भन्सार कार्यालयमा


प्रकाशित मिति : फाल्गुन ११, २०७४ शुक्रबार

 


फागुन ११, दाङ । निजामती सेवाका कर्मचारीहरुको आकर्षणको केन्द्र मध्यको एक हो भन्सार कार्यालय, जहाँ सरुवा हुन कर्मचारी लालायित हुन्छन् । आफूलाई भन्सार कार्यालयमा सरुवा गर्नका लागि कर्मचारी नेताका घरदैलो समेत चहार्ने गर्छन् । तर दाङमा एउटा यस्तो भन्सार कार्यालय छ, जहाँ कर्मचारी जानै मान्दैनन् ।

दाङको कोइलाबासमा रहेको भन्सार कार्यालयमा कर्मचारी जानै नमानेपछि चार महिनादेखि एक जना स्थानीय युवालाई करारमा राखेर भन्सार कार्यालय चलाइएको छ । पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग बनेपछि विस्तारै ओझेलमा पर्दै गएको यो नाका अहिले सुनसान छ, यसैको मारमा परेको हो, भन्सार कार्यालय पनि ।

१० वर्षको तथ्यांक हेर्ने हो भने यो भन्सार कार्यालयबाट आर्थिक वर्ष ०६६÷६७ मा सबैभन्दा बढी ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७२र०७३ मा २ लाख ८० हजार रुपैयाँ मात्र राजश्व संकलन भएको कार्यालयको तथ्यांकले देखाउछ । काम नै नहुने भएपछि यहाँका लेखापाललाई लमहीमा रहेका अन्य कार्यालयको पनि जिम्मेवारी दिइएको छ । कुनै दिन त भन्सार शुल्क शून्य हुने गरेको कार्यालय कुरेर बसेका कार्यालय सहयोगी विनोद थापा बताउन हुन्छ ।
यो आर्थिक वर्षको ८ महिनामा १ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यो अवधिमा कार्यालयलाई ६ लाख ५९ हजार रुपैयाँ भन्सार शुल्क उठाउने लक्ष्य तोकिएको छ । त्यसो त यहाँ उठेको राजश्व बैंकमा दाखिला गर्न पनि जिल्ला सदरमुकाम नै जानुपर्छ । भन्सार कार्यालय भएको स्थानमा कुनै पनि बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छैनन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com