दिल्ली लैजादै गरेका तीन महिलाको उद्धार, एक भारतीय नागरिक पक्राउ


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

सशस्त्र प्रहरीले झापाको दक्षिणी नाकाबाट भारतको दिल्लीतर्फ जादै गरेका तीन महिलाको उद्धार गरेको छ । ती महिलाहरुलाई भारत लैजाने एक भारतीय नागरिक समेत सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

इलाम जिल्ला फिक्कल नगरपालिका ५ निवासी ३५ बर्षीय कमला राई, सोही ठाँउ निवासी १८ बर्षीय निछा राई र झापा मेचीनगर नगरपालिका साविक बाहुण्डाँगी ६ निवासी ३२ बर्षीय सृजना राईलाई उद्धार गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरि वरुवालले जानकारी दिए ।

उनीहरुलाई भारत लैजाने भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायत निवासी २५ बर्षीय मख्तार आलमलाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक वरुवालले बताए । सशस्त्र प्रहरीले उनीहरुको साथबाट दुई थान नागरिकता बरामद गरेको छ ।

झापा गाँउपालिका १ स्थित लसुना नाकाबाट भारततर्फ गइरहेका उनीहरुलाई शंका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले अनुसंन्धान गर्दा उनीहरु रोजगारीको शिलशिलामा भारतको दिल्ली तर्फ गइरहेको खुल्नमा आएको वरुवालले बताए ।

‘तीन दिनअघि इलामबाट दूई महिला झापा आएको हो, उनले भने– ‘झापा आएर बाहुण्डाँगी बसेका थिए ।’ यता सशस्त्र प्रहरीले उद्धार गरिएको तीन महिला र पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसंन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइसकेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com