हिमाली क्षेत्रमा अत्यधिक मूल्य वृद्धि


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

माघ २९, काठमाडौँ । चालू आर्थिक वर्षको छ महिनामा हिमाली क्षेत्रमा अत्यधिक मात्रामा मूल्यवृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकानुसार हिमाली क्षेत्रमा ५।५ प्रतिशतले उपभोक्ता मुद्रास्फीति भएको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षावधिमा उपभोक्ता मुद्रास्फीति तराई र पहाड दुवैमा समान ४।४ प्रतिशत र काठमाडौँ उपत्यकामा २।९ प्रतिशत रहेको बैंकले जनाएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ४।२, तराईमा २।८, पहाडमा ५।७ र काठमाडौँ उपत्यकामा १।९ प्रतिशत थियो । समीक्षावधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दर २ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति १।८ प्रतिशत थियो । समीक्षावधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुको मूल्य सूचकांक एक प्रतिशत, स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक ४।७ प्रतिशत तथा आयातीत वस्तुको मूल्य सूचकांक २।२ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षक सोही अवधिमा कृषिजन्य वस्तुको मूल्य सूचकांक दुई प्रतिशत र स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक ४।८ प्रतिशतले वृद्धि भएको तथा आयातीत वस्तुको मूल्य सूचकांक ०।८ प्रतिशतले घटेको थियो । सो अवधिमा खाद्य मुद्रास्फीति २।४ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा खाद्य मुद्रास्फीति ०।७ प्रतिशतले ऋणात्मक थियो ।

गत वर्षको तुलनामा यस समूहअन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, घ्यू तथा तेल, खाद्य तथा खाद्यजन्य पदार्थ, मासु तथा माछालगायत वस्तुको मूल्यमा वृद्धि भएका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको बैंकले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com