हिजो १०-२० रुपैयाँ जुटाउन गार्हो हुने गीता, यसरी बनिन् उद्यमी
प्रकाशित मिति : माघ २९, २०७४ सोमबार
यो संसार तिनीहरुका लागी स्वर्गतुल्य हुन्छ, जसले समयमा नै भविष्यको लागी चिन्तन गरेर आफ्नो वाटो आफैँ बनाउने गर्छन् । त्यस्तै एउटा सत्यकथा छ मेहनत गरेर दुःखको जीवनलाई सुखमय बनाउन सफल छिमेक लघुवित्त विकास बैंक लिमिटेड विर्तामोड शाखाकी सदस्य गीता घिमिरेको परिवारको ।
झापाको शनिश्चरे कटहरडाँडाकी गीता घिमिरे र उनका पतिलाई कामले भ्याई नभ्याई छ । खेतभरि लगाएको तरकारी टिप्ने, टिपेको तरकारीलाई बजार लैजाने, मल हाल्ने, पानी लगाउने, वीउ रोप्ने, गोडमेल गर्ने कामले उनीहरुलाई एकछिन पनि फुर्सद छैन । उनीहरुलाई फुर्सद नभएपनि मुहारमा भने कति पनि थकान देखिदैन । यसको कारण सोध्दा दुबै जना एकअर्कालाई हेर्दै मुसुक्क हाँस्दै गीता भन्छन्, “मेहनत अनुसार फल पाएपछि थकानको अनुभव हुँदो रहेनछ ।”
गीतासँग अहिले शनिश्चरे बजारमा आफ्नै कमाईले जोडेको एक कठ्ठा घडेरी छ, आफ्नै आम्दानीले बनाएको गाईगोठ र चिटिक्क परेको घर पनि छ । गोठमा दुईवटा गाई, सातवटा बाख्रा पनि छन्, सिजनमा डेढ दुई लाख रुपैयाँ त तरकारीबाटै आम्दानी भइरहेको छ । छोरा छोरीहरुको विवाह भैसकेको छ । अहिले उनको परिवारलाई सानातिना काम गर्न आर्थिक समस्या छैन, गाऊँ समाजमा इज्जत प्रतिष्ठा छ ।
तर आजभन्दा दश वाह्र वर्ष अगाडी भने यस्तो अवस्था थिएन । पुराना दिन सम्झँदै गीता भन्छिन्, “हामीलाई १०।२० रुपैयाँको अभावले समेत समस्या पाथ्र्यो, घरमा छोराछोरी विरामी पर्दा त गाउँ गाउँ डुलेर उपचार खर्च खोज्थ्यौं। कति रात आधा पेट सुतियो त्यसको त गन्ती नै छैन । यो सवै परिर्वतन छिमेक बैंकमा वसेपछि आएको हो पहिले त कहाँ थियो र यस्तो ।” भनिन्छ नि दुःखले सुखलाई पनि पछि पछि ल्याउँछ । त्यस्तै भयो गीताको जीवनमा पनि कहिले दुःख त कहिले सुख ।
आज भन्दा करिव ५८ वर्ष अगाडी देशकै एक विकट पहाडी जिल्ला भोजपुरको तेलवा गाउमा बुवा पदम बहादुर बुढाथोकी र आमा टीकामाया बुढाथोकीको कोखबाट गरिव परिवारमा गीताको जन्म भयो । आमा वुवा सहित सात जनाको परिवार थियो । छोरीलाई पढाउने भन्ने कुरा त सोच्न पनि नसकिने समयमा गीताको वाल्यकाल गाँउका अन्य केटाकेटी जस्तै गाई बाख्रा चराउँदै घाँसपात गर्दै वित्यो । केटाकेटीले कलम समाउने बेला गीताले हँसिया समाइन्, झोलामा किताब बोक्ने बेला डोकोमा घाँस, दाउरा बोकिन् । भविष्यको चिन्ताले नछुने त्यो उमेरमा जीवन जसोतसो दुःख सुख गर्दै चलेकै थियो । त्यसै बेला गीताका बुबाले कान्छि श्रीमती घरमा ल्याए । त्यसपछि त घरमा दिन दिनै रडाको मच्चिन थाल्यो । सौता सौताको दिनहुँको झगडाले घर नाटकघर जस्तै हुन थाल्यो । घरमा झन् झन् खान लाउनकै समस्या हुन थाल्यो । कान्छि श्रीमती च्यापेर लोग्ने बसेपछि गीताकी आमा बाध्य भएर आफ्ना छोरा छोरी लिएर माइती धरान आइन् ।
गीता १७ वर्ष कि मात्र के भएकी थिइन् उनको विवाहको कुरो झापा अर्जुनधारा बस्ने घिमिरे परिवारसँग चल्यो । दैवले नै जुराएको जोडी भनेझैँ उनको लगनगाँठो मायानाथ घिमिरेसँग जोडियो । विवाहपछि उनलाई घरकी जेठी बुहारी र संयुक्त परिवार भएकोले घरव्यवहारबाटै फुर्सद हुँदैनथ्यो । श्रीमान्को पनि कुनै स्थायी पेशा थिएन । परिवारमा खान लाउनको खासै समस्या त थिएन, शुरुका दिनहरुमा । जीवन आफ्नै रफ्तारमा चलिरहेको थियो । यसै बिच उनीहरुको घरमा ६ सन्तानको जन्म भयो ४ छोरा २ छोरीका रुपमा । परिवार बढेसँगै घरमा अभाव पनि बढ्न थाल्यो । खेतीपातीको भरमा चलेको गृहस्थी भनेको समयमा पैसा नहुने समस्याले पिरोलिरहेको हुन्थ्यो । संयुक्त परिवारवाट छुट्टा भिन्न भएपछि पुख्र्यौली सम्पति पनि बाँडफाँड हँुदा परिवार पाल्न समेत ज्याला मजदुरी गर्नुपर्ने अवस्था आयो । खेतीको सिजनमा दुवैजना अरुको खेतीमा काम गर्न र अन्य वेलामा मायानाथ एक्लै कहिले विर्तामोड कहिले शनिश्चरे, कहिले बुधवारे वजारमा मजदुरी जान्थे । यसैले जेनतेन परिवारको खर्च चल्दै गएको थियो तैपनि बढ्दैै गएका सन्तानको लालनपालनको लागि साह्रै गाह्रो पर्दथ्यो । घरमा बिरामी पर्दा उपचारको लागि पैसा आवश्यक पर्दा गाउघरमा धाउँदै महँगो व्याजमा पैसा लिएर उपचार गर्नुपर्दथ्यो । दिनप्रति दिन छोराछोरी बढ्दै गएपछि उनीहरुकोे भविष्यको चिन्ताले सताउन थाल्यो । आफुले विगतमा पाएको जस्तो दुःख सन्तानले नपाउन् भनेर आफुले पढ्न नपाएपनि आफ्ना सन्तानलाई पढाइदिन पाए उनीहरुको भविष्य राम्रो हुनेथियो भन्ने आशा थियो । आर्थिक अभाव तथा विपन्नताको कारणले ती दिनहरु साह्रै नै कष्टकर थिए जसो तसो जीवन चलिरहेको थियो, अनिश्चित भविष्यका साथ, जीन्दगीले जुन वाटो लैजान्छ त्यही वाटो हिड्ने गरि आफुसँग कुनै नौलो व्यवसाय शुरु गर्ने न त ज्ञान थियो न त शुरु गर्नको लागि पैसा नै मनमा पैसा पाए आफुले जानेको सिप खेती र गाईवस्तु पालन गर्छु भन्ने लाग्थ्यो । तर अलि ठुलो एक दुई हजार ऋण लिएको त तिर्न गाह्रो पर्ने अवस्थामा दश विस हजार लिएर कसरी तिर्नु भन्ने कुराले डर लाग्थ्यो । गीता सम्झन्छिन् “पैसा त केही महँगोमा भएपनि गाउँघरमा पाइन्थ्यो । तर गाउँघरमा लिएको ऋण साँवा व्याज एकमुष्ठ तिर्नुपर्ने भएकोले मैले तिर्ने आँट गर्न सकिन । तर कति अरुको काम गरेर मात्र बस्ने भन्ने कुराले मलाई साह्रै पोल्न थाल्यो । तर अरुको खेतीमा काम गर्दै मैले पनि तरकारी खेती वारे राम्रै ज्ञान भने पाएँ ।”
यसैबिच मायानाथ घिमिरेको भेट छिमेक लघुवित्त विकास बैंक्का कर्मचारीसँग भयो । बैंकका कर्मचारीले बैंकको कार्यक्रमवारे जानकारी गराएपछि उनले आफ्नो छरछिमेकीसँग कुरा गरे र ०६५ सालमा दश जना जम्मा भई समुह गठन भयो । गीता सम्झन्छिन्, “मलाई त त्यतिखेर महिना महिनामा किस्ता बुझाउने नियम चाहि साह्रै मनप¥यो केही गरि आफुले गरेको व्यवसायवाट कमाई नभएपनि जनमन (ज्याला मजदुरी) गरेर भएपनि तिर्न सकिन्छ भनेर आँट आयो र समुहवाट ऋण निकालेंर रु ८ हजारमा २ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्न शुरु गरे । शुरुमा लगाएको तरकारीवाट कमाई सोचे जस्तै राम्रो भयो ।अझ आँट वढ्दै गयो फेरि ऋण लिएर अरु जग्गा पनि भाडामा लिएर तरकारी खेतीलाई बढायौं । पहिला श्रीमान अरुको काममा जानुहुन्थ्यो तरकारी खेतीवाट आम्दानी वढे संगै दुवैजना यहि पेशामा लागीयो । तरकारी खेतीको साथ साथै पशुपालनलाई पनि बढाउदै लगे । अहिले समुहमा वसेको करिव दश वर्ष हुनलाग्यो यस विचमा मैले धेरैपटक ऋण लिएँ र लिएको ऋणवाट तरकारी खेतीका साथै गाईवाख्रा पालनमा पनि लगानी थप्दै गयौं, हाम्रो निरन्तरको मेहनत र छिमेक बैंबको साथले आज हामी यो अवस्थामा आइपुगेका छौं ।” शुरुदेखि नै छिमेकमा मात्र बसेकी गीता घिमिरे भन्छिन्, “मलाई पनि अरु बैंकमा पनि बस्नुस भनेर धेरै बैंकका सरहरुले आएर भन्नुहुन्छ तर मेरो आवश्यकता अनुसारको सवै सुविधा यसै बैंकवाट पाइरहेकी छु त्यसैले कतै पनि बस्दिनँ । म त गोल्डेन सदस्य पो हो त ।”
हाल बैंकको शाखा कार्यालय विर्तामोडवाट उनले दश कठ्ठा जग्गामा लगाएको तरकारी खेतीको लागी २६५,००० ऋण लिएकी छिन् र व्यवसायलाई निरन्तर विस्तार गर्दै छिन् । बैंक सदस्य भएपछिको शुरुका दिन र अहिलेको आफैलाई तुलना गर्दै गीता भन्छिन्,“मलाई त शुरुमा दश पन्ध्र हजारको किस्ता तिर्न सक्छु कि सक्दिन भन्ने लागेको थियो, तीन लाखको किस्ता पनि सजिलैसँग तिरिरहेकी छु ।” आफुले छिमेकमा मात्र वसेकोले बैंकबाट कम व्याजमा ऋण पाएको, ऋण तिर्दा प्रोत्साहन रकम पाएको, ऋण पनि धेरै पाएकोमा उनी बैंकमा धन्यवाद दिन्छिन् । विगतमा यस भेगका केही दिदीवहिनीहरु धेरै समुहमा वसेको कारण पाएको दुःख उनले दुःख देखेकी छिन् । त्यसैले त उनी आफुले चिनेका दिदी वहिनीलाई धेरै बैंकमा नबस्न सल्लाह दिन्छिन् । सबैलाई सल्लाह छ “आफ्नो क्षमता अनुसार मात्र ऋण लिनुस्, लिएको ऋणलाई आफुले जानेको व्यवसायमा लगाउनुस् अवस्य पनि सफलता पाइन्छ ।”
प्रस्तुतकर्ता : लोकनाथ मिश्र, शाखा प्रवन्धक, शाखा कार्यालय विर्तामोड