नुवाकोटमा आगलागी परी तीन बालिकाको मृत्यु


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

माघ २७, नुवाकोट । रसुवाको सिस्नेरीमा शनिबार आगलागी हुँदा एकै घरका दुई दिदी बहिनीसहित तीन बालिकाको जलेर मृत्यु भएको छ । सदरमुकाम धुन्चेखि ३० किलोमिटर दक्षिण नौकुण्ड गाउँपालिका –५ सिस्नेरीमा स्थानीय वीरबहादुर मोक्तानको अस्थायी घरमा आगलागी हुँदा उनका दुई छोरीसहित जलेर तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

अपराह्न भएको आगलागीमा परि मोक्तानका दुई छोरीहरु ३ वर्षीया मंगलीमाया र ७ वर्षीया रिफुला तथा उनका छिमेकी दाजु धनबहादुर मोक्तानकी ६ वर्षिया छोरी अस्मिता मोक्तानको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक शरतकुमार थापाक्षत्रीले बताए ।

घरका अभिभावक आफन्तको घेवामा गएका वेला शनिबार स्कूल बिदासमेत भएकाले बालिकाले लाइटर बाल्ने क्रममा मकैको थ्रुप्रोबाट आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । आगजनीमा परि १० मुरी धान, सात मुरी कोदो र दुई मुरी मकैका साथै तीन लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको रसुवा प्रहरीले जनाएको छ ।

तीनै जना बालिकाको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । स्कुले तीन बालिकाको निधन भएपछि रसुवाको सिस्नेरी गाउंको मोक्तान परिवार शोकमा डुबेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com