बजारमा गुणस्तरहीन औषधि छ्यापछ्याप्ती


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

नेपाली बजारमा प्रयोग हुँदै आएका कतिपय औषधि गुणस्तरहीन रहेको पाइएको छ । औषधि व्यवस्था विभागले समय समयमा गर्ने अनुगमनका क्रममा सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरिएका विभिन्न कम्पनीका औषधि गुणस्तरहीन पाइएको हो । यसरी नेपाली बजारमा पाइने औषधि गुणस्तरहीन भएको यो पहिलोपटक होइन । यसअघि कतिपय औषधि गुणस्तरहीन भेटिएका थिए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले अनुगमनका क्रममा पटक–पटक गुणस्तरहीन औषधि भेटिने गरेको जानकारी दिए । महानिर्देशक ढकालले केही दिनअघि अनुगमनका क्रममा दुई भारतीय तथा एक नेपाली गरी तीनवटा उद्योगबाट उत्पादित गुणस्तरहीन औषधि तथा सुई बिक्री वितरणका लागि बजार पठाइएको जानकारी दिए । महानिर्देशक ढकालका अनुसार विभागले अनुगमनपश्चात् गरेको नमूना परीक्षणमा ती औषधि गुणस्तरहीन पाइएपछि बिक्री वितरण गर्न रोक लगाइएको छ ।

नेपाल औषधि उत्पादक सङ्घ (एपोन)का वरिष्ठ उपाध्यक्ष दीपक दाहालले सङ्घको मागअनुसार नै औषधि व्यवस्था विभागले बजारमा आएका औषधि प्रयोगशालामा परीक्षण गर्न सुरु गरेको जानकारी दिए । दाहालले विभागले अनुगमन नगर्दा गुणस्तरहीन औषधि बिरामीले सेवन गर्ने र रोग निको हुनुपर्ने बिरामीलाई झन् असर गर्ने भन्दै समय समयमा विभागले परीक्षण गर्नु सकारात्मक भएको बताए । यदि नियतवस गुणस्तरहीन औषधि बजारमा ल्याइएको हो भने त्यसको औषधि व्यवस्था विभागले अनुगमन गरी कारबाही गर्नुपर्ने र भण्डारणका क्रममा भूलवस औषधि गुणस्तरहीन हुन जाने दाहालको भनाइ छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार बजारमा पुगिसकेको गुणस्तरहीन औषधिमा नेपाली कम्पनी लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नं. सीआरआर ०२१५ को एन्टिबायोटिक क्युरेसिप ५०० एमजी नामको सिप्रोफ्लोक्सासिन, भारतीय कम्पनी डाक्टर रेड्डिज ल्याबोरेटेरिज प्रालिको राजो २० नामको राविप्राजोल सोडियम ट्याब्लेट, ब्याच नं. ई ५००७३५ र अर्को भारतीय कम्पनी थेमिस मेडिकियर लिमिटेड गुजरातले उत्पादन गरेको भोभेवर इन्जेक्सन १ एमएल (डाइक्लोफेनाक सोडियम आईपी ७५ ग्राम)का औषधि छन् । हालसम्म आयात गरिएका सबै ब्याच छन् ।

थेमिस मेडिकियर लिमिटेड गुजरातले उत्पादन गरेको भोभेवर इन्जेक्सन १ एमएल (डाइक्लोफेनाक सोडियम आईपी ७५ ग्राम) हालसम्म उत्पादन गरेका सम्पूर्ण ब्याज छ । महानिर्देशक ढकालले ती औषधिलाई तत्काल बजारबाट फिर्ता गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिइसकेको जानकारी दिँदै बजारबाट फिर्ता भएपछि डिस्पोजलका लागि कम्पनीले विभागसँग स्वीकृति लिनुपर्ने बताए ।

विभागका अनुसार ग्यास्ट्रिकमा प्रयोग हुने राजो २० (रेबिप्राजोल सोडियम ट्याब्लेट आईपी) र टाइफाइड जस्तो रोगमा प्रयोग हुने एन्टिबायोटिक क्युरेसिप ५०० (सिप्रोफ्लोक्सासिन ५०० एमजी) ट्याब्लेटमा खाइसकेपछि शरीरमा घुलेर सोस्ने प्रक्रिया मापदण्ड अनुसार नपुगेको बताइएको छ । ढकालले अप्रेसनपछिको कडा दुखाइमा प्रयोग हुने सुई भोबेरन इन्जेक्सनमा प्रयोग भएको भनिएको सहायक पदार्थ ट्रान्सुटोलप सुईजन्य औषधिको बनावटमा प्रयोग गर्न नमिल्ने बताए ।

विभागका महानिर्देशक ढकालले प्रयोगशालामा गुणस्तरहीन भेटिएका सबै औषधि बजारबाट तत्काल उठाउन निर्देशन दिएको र खरिद गरेका बिरामीलाई समेत ती औषधि प्रयोग नगर्न निर्देशन गरेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com