रकम अपुग हुदापनि धुर्मुस सुन्तली फाउन्डेसनको एकै आकार प्रकारका ४७ वटा घर सहितको एकीकृत नमुना


प्रकाशित मिति : माघ १५, २०७४ सोमबार

१५ माघ  वर्षायाममा छानो चुहिएर हैरान पाथ्र्यो। घरमा अन्न नभएर हात मुख जोर्नै धौधौ पथ्र्यो । दिनहुँ बनीबुतो गरेर परिवारको गुजारा चलाउनु पर्ने बाध्यता छ । त्यहीं माथि साउन अन्तिम साता बाढीले घरै डुबाइदियो । जीवनयापन कठिन बन्यो । चन्द्रपुर ८ सन्तपुरका सत्यनारायण माझी मुसहरको पीडा हो यो । उनले आफ्नो परिवारको पुस्तौनी समस्याको पोको एक एक गरी सुनाउन थाले । ‘मेरा बुवा रामवृक्ष उपचार अभावमा तीन वर्ष अघि मर्नु भयो’, २६ वर्षीय सत्यनारायणले भने, ‘पल्टुको जमिनदारको नोकरी गर्दैमा हजुरबुवाको जिन्दगी बित्यो। गरिबीले गर्दा मैले पढ्न सकिनँ।’

तर अब उनका लागि सुखको दिन सुरु हुँदैछ । हाँस्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले सत्यनारायणको परिवारलाई सुविधा सम्पन्न घर हस्तान्तरण गर्दै छन् । माघ अन्तिम साता उनले पक्की घर उपहारस्वरूप पाउन लागेका हुन् । धुर्मुस सुन्तली फाउन्डेसनले बाढीपीडितका लागि बनाउँदै गरेको एकै आकार प्रकारका ४७ वटा घर सहितको एकीकृत नमुना बस्तीको काम ९८ प्रतिशत पूरा भएको छ । फाउन्डेसनले अब चाँडै बाढीपीडितलाई बस्ती हस्तान्तरण गर्दैछ । यससँगै रोग, भोक, शोकले थिचिएका सत्यनारायणको जीवनले कोल्टे फेर्नेछ । उनी दुई तले पक्की घरमा बस्ने तयारीमा छन्।

फाउन्डेसनले सन्तपुरमा चौथो एकीकृत नमुना बस्ती बनाइसक्न लागेको हो । बस्ती भित्र व्यवस्थित बाटोघाटो, ढल निकास, धारा, बिजुली, भ्यु टावर, सामुदायिक भवन, प्राथमिक विद्यालय, नमुना क्लब घर, बाल उद्यान, मन्दिर सहित ४७ घर निर्माण अन्तिम चरणमा पुगेको परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए । उनले भने, ‘बस्तीको बीचभागमा बनिरहेको ४५ फिट अग्लो भ्युटावरबाट सन्तपुर बस्ती सहित वरिपरिको मनोरम दृश्य नियाल्न सकिन्छ।’

प्रत्येक दिन राष्ट्रिय गान गाएर बस्ती निर्माणको काममा लाग्दै आएको धुर्मसले सुनाए । ‘गरिबहरूको पीडाले भावुक बनाउँछ । उद्धार र राहतमा खट्छु । उहाँहरूको पीडामा मलमपट्टी गर्छु । यसबाट मेरो मन प्रफुल्लित हुन्छ । समाजसेवामा सक्रिय रहन ऊर्जा मिल्छ’, उनले भने, ‘प्रत्येक दिन राष्ट्रिय गानबाट बस्ती निर्माणको काम थाल्छौं । मधेसी पहाडी दाजुभाइसँगै लामबद्ध हुन्छौं । दाहिने हात मुटुमा राख्छौं । राष्ट्रियगान मार्फत नेपाल आमालाई सम्झिन्छौं।’ यो बस्ती निर्माणले घर मात्र होइन, तीन करोड नेपालीको मन जोड्ने विश्वास रहेको उनले सुनाए । पाँच करोड ९५ लाखको अनुमानित लागतमा निर्माण थालेकोे बस्तीको काम सक्न एक करोड ३० लाख भन्दा बढी रकम अपुग रहेको फाउन्डेसनले जनाएको छ । आर्थिक सहयोग प्राप्त भइरहेकाले आर्थिक अभाव पूरा हुने विश्वास धुर्मुसले व्यक्त गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com