जारी प्रथा :समाजभित्रै किनबेच हुन्छन् महिला


प्रकाशित मिति : आश्विन १७, २०७३ सोमबार

प्रतिमा सिलवाल
rasuwaदाम्पत्य जीवन सुखी भएन भने तपाईं के गर्नुहुन्छ ? तपाईंको जवाफ होला – श्रीमान श्रीमती सँगै बस्न नसक्ने भएपछि औपचारिक रुपमा सम्बन्ध विच्छेद गरिन्छ । तर, नेपालमै यस्ता ठाउँ छन् महिलाले श्रीमान सँग बस्न नचाहेमा निश्चित रकम तिरेर छुट्टिनुपर्छ । त्यहाँ न त विवाह दर्ताको औपचारिक प्रकृया छ न त सम्बन्धविच्छेद । बरु, यस्तो सामाजिक नियमले काम गरेको छ ‘जारी’ बापतको रकम तिरेर महिलाले पुनर्विवाह गर्नुपर्छ ।

रसुवा जिल्लाका तामाङ समुदायका महिलाले पुनर्विवाह गर्न चाहेमा उनीहरुको पहिलो श्रीमानलाई जारी बापतको रकम तिर्नुपर्ने सामाजिक नियम अझै कायम छ । यो प्रथाका कारण महिलालाई किनबेच गर्न सकिने साधनका रुपमा लिईँदै आएको छ ।

२५ वर्षकी सरिता तामाङ आफ्नो समुदायको यो कुप्रथाबाट पीडित महिला हुन् । सरिताको ५ पटकसम्म विवाह भइसक्यो । कहिले जबरजस्ती त कहिले अभिभावकले ‘पोङ’ स्वीकार गरेको कारण सरिता आफ्नै समुदायभित्र कहिले १ लाख रुपैयाँ त कहिले सवा लाखसम्मको मोलतोलमा विनिमय भइरहिन्  ।

‘पोङ खाएर बुबाआमाले १६ वर्षमा मामाको छोरासँग विहे गरिदिए’ सरिता भन्छिन् – ‘आमाबुबाले जबरजस्ती विहे गरेपनि त्यो केटा मलाई मन परेन । उसले मलाई माया पनि गरेन ।’ पहिलो केटासँग वैवाहिक सम्बन्ध राम्रो नभएपछि सरितालाई गाउँ नजिकैको केटाले तानेर लगे । त्यतिबेला दोस्रो श्रीमानले पहिलो श्रीमानलाई १ लाख रुपैयाँ जारी बापतको रकम तिरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोस्रो विवाह गरेको श्रीमानले १ लाख तिरेर विवाह गरेपछि सरितालाई नराम्रो व्यवहार गर्न थाले । ‘तँलाई १ लाख रुपैयाँमा किनेर ल्याएको त हो नी भनेर कुट्ने पिट्ने गर्न थाल्यो ।’ उनले भनिन् – ‘सँधै कुटेको कुट्यै गर्न थालेपछि उसँग बस्न सकिन ।’ दोस्रो श्रीमानसँग पनि सम्बन्ध टुटेपछि पहिलो श्रीमानबाट जन्मिएको छोरीसँगै उनले तेस्रो विवाह गरिन् । तेस्रो श्रीमानसँग पनि राम्रो सम्बन्ध नभएपछि उनले चौथो पटक विवाह गरेकी छिन् । दुई महिनाअघिमात्रै विवाह भएको उनले ७५ हजार रुपैयाँ जारी तिर्न सकेकी छैनन् । ‘१ लाख २५ हजार रुपैयाँमध्ये  ५० हजार तिरिसकें’ सरिताले भनिन् – अब ७५ हजार बाँकी छ । चाँडो पैसा नदिए हातखुट्टा काटिदिने भन्दै  दिनदिनै धम्की आउँछ ।’

ras1मुलुकी ऐन २०२० को लोग्ने स्वास्नीको महलको १ नम्बरले जारी प्रथालाई परिभाषित गर्दै विवाहित पुरुष तथा महिलाले परपुरुष तथा परस्त्रीसँग यौन सम्पर्क गरेको ठहरेमा सम्बन्ध विच्छेदको आधार बन्ने व्यवस्था गरेको थियो । यद्यपी, अहिले मुुलुकी ऐनबाट जारीको व्यवस्था नै हटाएको छ । कानुनले समाजमा जारी प्रथा छ भन्ने नै मान्दैन । तर, रसुवाको तामाङ समुदायमा भने यो प्रथाले कानुनजत्तिकै मान्यता पाएको छ ।

रसुवाको नागरिक समाजका अगुवा बाबुलाल तामाङका अनुसार जारी प्रथा तामाङ समुदायले दोस्रो विवाह रोक्नको लागि समाजले राखेको जरिवाना हो । हिमाली जनजातीको संस्कृति अनुसार गरिने यो दण्ड पछिल्लो समय भने महिलाको पुनर्विवाहको मूल्यमा परिणत भएको छ ।

जारी प्रथाकै कारण समस्यामा परेकी अर्की महिला हुन् किप्पा तामाङ । उनले एक महिना अगाडि मात्रै दोस्रो विवाह गरेकी थिईन् । ११ वर्षको उमेरमा किप्पाको पहिलो विवाह भएको थियो । तर, लामो समय श्रीमान विदेश बसे । साउदीमा काम गर्न गएका श्रीमानले किप्पालाई वेवास्ता गर्ने, घर आएको बेला कुटपीट गर्ने गर्न थाले । ‘घर आएको बेला पनि कुटपीट गर्ने । खर्च नदिने गरेपछि घर बस्न सकिनँ’ किप्पाले दोस्रो विवाह गर्नुको कारण खुलाईन् ।

दोस्रो विवाह गरेबापत उनको पहिलो श्रीमानले ३ लाख रुपैयाँ जारी रकम माग गरेका थिए । समाजका भद्र भलाद्मी बसेर १ लाख रुपैयाँ मोल घटाई किप्पाले पुनर्विवाह गरेबापत २ लाख रुपैयाँ तिर्नुपर्ने मूल्य तोकिदिए । पहिलो विवाह भएको १३ वर्षको अवधीमा किप्पाको पहिलो श्रीमानसँग विवाह दर्ता पनि थिएन । उनले कानुनी रुपमा सम्बन्ध विच्छेद पनि गरिनन् । २ लाख रुपैयाँमा नै उनको सम्बन्ध विच्छेद भयो ।
दुई महिनाअगाडि बिहे गरेका श्रीमानले किप्पालाई धम्की दिन थालिसकेका छन् । अब जारीबापतको रकम कसरी तिर्ने तनाबमा छिन् उनी । भन्छिन् – ‘२ लाख ऋण गरेर तिर्‍यौं । २ लाखको ब्याजसहितको तिर्नुपर्ने छ । ऐलेको श्रीमानले पनि २ लाख तिर्न काम गर्न जा भन्छ । म कहाँ काम गरेर पैसा तिरुँ थाहा छैन ।’

किप्पा र सरिता त रसुवाको तामाङ समुदायका प्रतिनिधि पात्र मात्रै हुन् । स्थानीय अधिकारकर्मी सुनिता गुरुङका अनुसार विशेष गरी रसुवाको हाकु, गोल्जु, गत्लाङ, ठूलो हाकुलगायतका केही गाविसमा जारी प्रथा कायम छ । जारी प्रथाका कारण महिलाहरू आफ्नै समुदाय भित्र किनबेच भइरहेको उनले बताईन् । गुरुङ थप्छिन् – ‘जारी प्रथा समाजमा विद्यमान छ भनेर कानुनले परिकल्पना नै गरेको छैन । तर, यो प्रथाका कारण महिला अझै समस्यामा परेका छन् ।’ उनका अनुसार जारीको नाममा तिरेको रकम तिर्न श्रीमान तथा परिवारका अन्य सदस्यले पटक/पटक दबाब दिँदा महिलाहरू मानसिक समस्याको सिकार समेत हुनुपरेको छ ।

रसुवाका सांसद छोवाङ तामाङ कम उमेरमा नै पोङ लिएर फुपुचेला मामा चेलीको मगनी हुने, जारी तिरेर पुनर्विवाह गर्नेलगायतका परम्परा पहिलेदेखि यहाँको तामाङ समुदायमा रहेको बताउँछन् । जनचेतना, शिक्षालगायतका कारण अन्य स्थानमा यो कुरीति हटे पनि जिल्लाका केही गाविसमा अझै यी प्रथा कायम रहेको उनी बताउँछन् । सांसद तामाङको पनि पोङ खाएर विवाह भएको थियो । यद्यपी, जारी प्रथा भने आफ्नो पारिवारमा नरहेको दावी उनले गरे ।

जारी प्रथाका कारण महिला समस्यामा परेको भए पनि कानुनी उपचारमा उनीहरू पुगेकै छैनन् । स्थानीय भद्र भलाद्मी बसेर पुनर्विवाहको मूल्य तोकिदिने हुनाले प्रहरी, प्रशासनसम्म यस्ता उजुरी नै पर्दैनन् । न त प्रशासनले यस्ता प्रथाविरुद्ध कुनै अभियान चलाएको छ  । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार कानुनबाट नै हटिसकेकोे जारी प्रथाको उजुरी अहिलेसम्म प्रशासनसम्म पुगेको छैन । प्रहरी प्रशासनमा उजुरी परे प्रथा परम्पराको नाममा हुने यस्ता अवैधानिक क्रियाकलापमा प्रहरी प्रशासनले कारबाही गर्ने उनले बताए । महिला खबरबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com