न्युयोर्कमा ‘लुकामारी’


प्रकाशित मिति : आश्विन १७, २०७३ सोमबार

हाँस्यप्रधान चलचित्र लुकामारी न्युयोर्कमा प्रदर्शन हुने भएको छ । चलचित्र अक्टोबर २३ आइतवार न्युयोर्कको ज्याक्सनहाइटमा प्रदर्शन हुने युगेश लिम्बुले जनाएका छन् । विहान साढे ११ बजे र दिउसो साढे २ बजे हुने शोका लागि पहिले नै टिकट लिनेका लागि २० डलर र ढोकामा लिनेका लागि २५ डलर शुल्क तोकिएको छ । चलचित्रका निर्देशक श्रीराम दाहाल हुन् भने संगीत विकाश सिलवालको रहेको छ ।

काठमाडौंको एउटा घरमा डेरा गरी बसेका विभिन्न व्यक्तिलाई चित्रण गर्दै निर्माण गरिएको चलचित्र ‘लुकामारी’ विशेष गरी सस्पेन्स कमेडी श्रेणीको चलचित्र हो । महिलाको काटिएको एउटा हात फेला परेपछि ती महिलाको शवको खोजी र हत्या हुनुको कारणलाई रमाइलो ढंगबाट प्रस्तुत गरिएको चलचित्र हो— लुकामारी ।

14585742_10154442502190435_1793776489_o

घरबेटीको छोराको भूमिकामा रहेका कर्मले डेरामा बस्ने मधेसी पात्रको भूमिकामा रहेका सौगात मल्ललाई दुस्ख दिएका दृश्य तथा डेरामै बसेकी युवती सुरबिना कार्कीसँगको उसको प्रेम सम्बन्धलाई चलचित्रमा रोचक ढंगबाट देखाइएको छ । हत्याराको खोजीमा जुटेका अनुसन्धान अधिकृतहरूको अनुसन्धानमा आधारित चलचित्र ‘लुकामारी’मा सौगात र कर्मको गेटअपले निकै चर्चा बटुलेको छ ।

आँखा डेढो पारेर मधेसी पात्रको भूमिका निर्वाह गरेका सौगात र केश पहेंलो पारेर काठमाडौंको नेवार युवकको भूमिकामा रहेका कर्मको स्वभाविक अभिनयलाई चलचित्रको ट्रेलरमै मन पराइएको छ । सुसन प्रजापतिले खिचेको चलचित्र ‘लुकामारी’का निर्माता मदन केसी हुन् ।

यो चलचित्रमा अमृत मरहट्ठाको मेकअपले पनि चर्चा पाएको छ । विनोद खतिवडाले लेखेको चलचित्र ‘लुकामारी’का सम्पादक कृष्ण भण्डारी हुन् ।

चलचित्रमा कलाकारहरु सौगात मल्ल, विक्रम सिंह थारु, कर्म, सुरबिना कार्की, रिश्ता बस्नेत, कृष्णभक्त महर्जन आदि को अभिनय रहेको छ ।

चलचित्र लुकामारीको ट्रेलर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com