मेलम्चीको पानी : पाइपलाइन विस्तार गर्न अझै एक वर्ष


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण गर्ने पाइप लाइन बनाउने काम अबका एक वर्षमा मात्रै पूरा हुने भएको छ । पाइप लाइन निर्माणको काम २०७४ असोज महिनाभित्रै सक्ने योजना रहेको र मेलम्चीको पानी काठमाडौँ आउनुअगावै पाइपलाइनको काम सकिने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको काम हालसम्म पहिलो चरणको वितरण सञ्जाल सुधारमा पाँच सय कि.मि. पाइपलाइन बिछ्याएको छ भने तीन सय कि.मि. बिछ्याउन बाँकी छ । मेलम्चीको पानी वितरणका लागि आठ सय कि.मि. पाइपलाइन विस्तार गरिने छ । आयोजना निर्देशनालयका प्रवक्ता लीला ढकालले भने, ‘७० प्रतिशत काम सम्पन्न भइसकेको छ, २०७४ असोजभित्रै काम सम्पन्न गर्छाैं, लक्ष्य अनुसार काम भएको छ ।’

निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रपथका विभिन्न स्थानमा पानी ट्याङ्की निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ ।

प्रवक्ता ढकालका अनुसार महाङ्कालचौर, बाँसबारी, महाराजगञ्ज, बालाजु र खुमलटारको पानीट्याङ्की निर्माणको काम करिब सकिएको छ । यी पाँचवटा ट्याङ्कीमा चार करोड लिटर पानी सङ्कलन हुनेछ । अन्य तीनवटा आरुबारी, कीर्तिपुर, टिग्नीको पानीट्याङ्की निर्माण भइरहेको गोरखापत्रमा खबर छ । भक्तपुरको कटुञ्जेमा जग्गाको मुआब्जाको विवादले गर्दा ढिला भएको प्रवक्ता ढकालले जानकारी दिए ।

दसैँलगत्तै २४/२५ समूह बनाएर पाइपलाइनको काम आगामी वर्ष सक्ने गरी तीव्र बनाइने प्रवक्ता ढकालले बताए । थोक वितरण प्रणालीतर्फ सुन्दरीजलदेखि महाङ्काल चौरसम्म एक हजार चार सय मिलिमिटर ब्यासको ९.५ कि.मि. बिछ्याइएको छ । आयोजनाले ८३ हजार ५४९ वटा धारा जडान गर्नुपर्नेछ । हालसम्म झण्डै २५ हजार धारा जडान गरिसकिएको निर्देशनालयले जनाएको छ ।

प्रवक्ता ढकालका अनुसार मेलम्चीको पानी घरघरमा पुगेपछि ८० प्रतिशत पानी फोहोर पानीका रूपमा बाहिर आउने छ । त्यसको व्यवस्थापनका लागि आयोजना सञ्चालन भइरहेका छन् । फोहोर पानी प्रशोधन केन्द्र, नदी किनारमा मुख्य ढललाइन र फोहोर पानी सङ्कलन शाखा निर्माण हुनेछन् । गुह्येश्वरी, सल्लाघारी, कोड्कु, धोबीघाटलगायत क्षेत्रमा फोहोर पानी प्रशोधन केन्द्रहरू निर्माण हुँदैछन् । साथै ढल प्रशोधन केन्द्रबाट बायो ग्यास र विद्युत् उत्पादन गरिनेछ । गुह्येश्वरीबाट २४० किलोवाट विद्युत् उत्पादन हुने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com