आमाले गरेको विकास


प्रकाशित मिति : आश्विन ११, २०७३ मंगलबार

देशको आधा जनसंख्या ओगटेका महिला विकास निर्माणमा सहभागी हुने हो भने विकास टाढा छैन भन्ने कुराको उदाहरण बनेका छन् लेखनाथका आमा समूह

स्मीता अधिकारी

पोखरा। सामुदायिक विद्यालय, खेल मैदान, भवन, सभाहल, पार्टी प्यालेस, व्यायामशाला र सपिङ सेन्टर। अनि, प्राय सबै घरमा नीजि सवारी साधन। लेखनाथ, रिठ्ठेपानीमा रहेको गुरुङ बस्तीको देखिने परिचय हो यो। आफूलाई चाहिने सेवा सुविधा आफँै सृजना गर्न उन्मुख, यो परिचय निर्माणको बलियो हस्ति भने यहाँका आमा समूह नै हुन्।

लेखनाथ नगरपालिकाको बुढीबजारदेखि दक्षिणमा, मुख्य सडकदेखि तीन किलोमिटरमात्रै टाढा यो वस्तीमा पुग्न खोज्नेले अझैपनि घण्टौं पर्खिएपछि मात्र त्यहाँ पुग्ने सार्वजनिक सवारी साधन पाउँछन्। कारण, पिछडिएको वस्ती भएर होइन। त्यहाँका बासिन्दा, आफैँले संचालन गरेका विकासका क्रियाकलापमा व्यस्त भएका कारण सरकारको मुख ताक्न भ्याएका रहेनछन्।

अामा समूहकव पहलमा खुलेकाे सपिङ सेण्टर

अामा समूहकाे पहलमा खुलेकाे सपिङ सेण्टर

उनीहरू आफ्नै काममा व्यस्त छन्। यहाँ गठन भएका प्रगतिचोक आमा समूह र दुर्गाटोल आमा समूह वस्तीमा विकासका संवाहक हुन्। पहिला जस्ताले छाएको दुइकोठे भवन भाडामा लिएर विकास अभियान थालेको हो प्रगतिचोक आमा समूहले। अहिले समुदायमा सञ्चालन हुने विकासका कामलाई आर्थिक सहयोग समेत गर्न सक्ने भएको छ। आमा समूहकै प्रेरणाले छोटो समयमा नै स्थानीयवासीमा समुदाय विकासको भावना जागृत भएको हो। यस्तो भावनाको सृष्टिकर्ता भने उनै आमा समूह मान्दछन् गाउ“ले। ‘गाउँमा सबै भन्दा पहिले आमा समूह गठन भएर सामाजिक काम गर्न थाले पछि नै अन्य क्लब र संगठन पनि गठन भइ सँगै काम गरिरहेका छौं’ स्थानिय भुपू सैनिक मञ्चका सदस्य सुवेदार तेज बहादुर लामाले भने।

२० वर्षअघि स्थापना भएको प्रगतिचोक आमा समूहको कामबाट प्रेरित भएर अहिले गाउँमा भुपू सैनिक समूहदेखि युवा क्लबसम्म गठन भएका छन् र ति सबै संगठनको कार्यालय आमा समूहकै भवनमा छ। वस्तीका लगभग ६० प्रतिशत घरपरिवारको शेयर लगानी स्वरुप अघिल्लो महिनामात्र यहाँ एउटा ‘सपिङ सेन्टर’ पनि संचालनमा आएको छ। विगतमा बाटो निर्माण, सरसफाइ, स्वास्थ्य तथा पोषण कार्यक्रम, बिजुली बत्ती विस्तार, खानेपानी, शैक्षिक जनचेतना, नेतृत्व विकास अभिमुखिकरण जस्ता काम गर्दै आएको यहाँको आमा समूह अहिले एक पछि अर्को विकास योजना बनाइ गाउँलेसँग सहयोग लिएर सहकार्य जुटाउन व्यस्त छ।

‘गाउँमा सामुदायिक पार्टी प्यालेस बनाउन स्थानियवासीकै सहयोग स्वरुप १९ लाख रुपैयाँ जम्मा गरेका छौं, अहिले त्यही काममा व्यस्त छौं’ प्रगतिचोक आमा समूहकी अध्यक्ष देबीमाया गुरुङले भनिन्। देशको आधा जनसंख्या ओगटेका महिला विकास निर्माणमा सहभागी हुने हो भने विकास टाढा छैन भन्ने कुराको उदाहरण हुन थालेका छन् यहाँका आमा समूह।

समुदायमा यतिखेर आमा समूह, सहकारी, सचेतना केन्द्र, नागरिक वडामञ्च लगायतका संस्थाका रुपमा महिला संगठित र एकत्रित हुने गरेका छन्। लेखनाथकै बेगनास ताल आमा समूहकी संस्थापक सदस्य मध्येकी एक शान्ति पोख्रेलले आफू समूहको अध्यक्ष हुँदा समूहको साधरण सदस्यको संख्या झन्डै दोब्बरले बढाएको बताइन् । भनिन् ‘समूहमा जति धेरै सदस्य संख्या भयो उतिनै समूहको आवाज बुलन्द हुने हो।’ समूहकी निवर्तमान अध्यक्ष पोख्रेलले भनिन् ‘जहाँ महिला समूह सक्रिय र शसक्त छन्, त्यहाँ विकासका काम धेरै र छिटो पनि भएको छ।’

विद्यालय भवन

विद्यालय भवन

समूहमा महिलाको आवाज बुलन्द भएकै कारण समूहले शुरु गरेको कमलको फूल पर्यटन अभियानले नयाँ गति लिएको उनले बताईन्। बेगनासतालमा पर्यटन प्रवर्द्धनका लागि केही वर्षअघि यो समूहले तालबाट निकास भएको केही पानी जम्मा भइ बनेको पोखरीमा कमलको फूल सारेर बेर्ना तथा विउ उत्पादन गर्दै आएको थियो। यो कामले यस क्षेत्रमा पर्यटकको संख्या बढ्नुका साथै औषधीको रुपमा कमलको फूलको बिउ किन्ने ग्राहक समेत बढेका थिए।
यसबाट समूहको आर्थिक अवस्था बलियो हुँदै गएको छ । तर अहिले नयाँ बाटो र नया“ योजना बनाउने भन्दै यस जग्गा नगरपालिकाले लियो जसले गर्दा फूल उत्पादन केही समय रोकिएको छ। उनीहरूले गरेको राम्रो कामकै कारण त्यस क्षेत्रमा बन्न लागेका पर्यटन र पूर्वाधार विकासका क्रियाकलापमा उनीहरूको सहभागिताको माग बढेको छ।

सरकारी तथा गैरसरकारी क्षेत्रबाट यहाँ केही नयाँ काम हुँदा उपभोक्ता तथा व्यवस्थापन समितिमा पनि प्राय त्यही समूहका सदस्य हुने गरेका छन्। ‘केही समय भएपनि काममा खट्न सकियो भने समुदायको विश्वास जितिदो रहेछ’ पोख्रेलले भनिन्। बेगनास ताल क्षेत्रमा शुरु भएको चक्रपथ निर्माण योजना, बाराही मन्दिर निर्माण समिति, वन्यजन्तु संरक्षण समितिलगायतका योजनामा महिला सदस्य बढाउन पनि यहाँका महिला समूह सक्रिय रुपमा लागेका छन्।

pola

शसक्त नेतृत्व क्षमताका कारण स्थानियस्तरमा संचालन हुने सामाजिक र विकासका गतिबिधिका लागि मानविय, भौतिक र आर्थिक स्रोत बनेका हुन् स्थानिय आमा समूह। समूहमा सबै समेट्न र परिचालन गर्न सकेका कारण नै सोचे जस्ता योजना समूदायमा संचालन गर्न सकिएको अनुभव उनीहरूसँग थुप्रै छन्।

‘आमाहरू मिलेर, समुदायको लागि अत्यावश्यक देखिएको कुनै एउटा योजना बनाएपछि ‘बा’ समूहलाई पनि समेटेर सचिवालय निर्माण गर्नु र योजना सफल पार्न सबै वासिन्दाको एउटै मत बनाउने काइदा पनि यहाँका आमा समूहसँग छ। आमा समूहमा लेखापढी गर्न जान्ने र अन्य क्षेत्रको पनि ज्ञान भएका महिलालाई पनि मिसाएपछि कार्यक्रम ल्याउन र कार्यन्वयन गर्न सजिलो भयो’ प्रगतिचोक आमा समूहकी निवर्तमान अध्यक्ष धनकुमारी गुरुङले भनिन्।

काम गर्दा एका/दुई मानिसबाट बाधा विरोध आएपनि समूहमा एकता भयो भने आँटेको काम सफल भएरै छाडने महसुस लेखनाथ १२ को सम्झौता आमा समूहले गरेको छ। ‘शहर हराभरा बनाउने हाम्रो एक दशकदेखिको अभियान अहिले सार्थक भएरै छाड्यो’ समूहकी अध्यक्ष पार्वती आचार्यले भनिन्। उनीहरूले आफ्नो टोललाई प्लाष्टिक मुक्त बनाएकामात्र छैनन् आफ्नो टोलको फोहोर मासिक रुपमा व्यवस्थापन गरिदिन नगरपालिका कार्यालयलाई सहमत समेत गराएका छन्।

विकासमा महिला सहभागिताका लागि नीतिगत, कार्यक्रम, संस्थागत र व्यक्तिगत चासो बढेसँगै यतिबेला समुदायस्तरमा महिलाहरू विकास निर्माणमा सक्रिय देखिन थालेका हुन्।लेखनाथ नगरपालिकाकी सामुदायिक विकास कार्यक्रम प्रमुख मिना भण्डारीका अनुसार नगरपालिकामा आमा समूहलगायत महिला समूह संस्था दर्ता हुने क्रम बढेको छ। यो वर्षमात्र लेखनाथमा आमा समूहको संख्या तीनसय पुगेको छ। ती मध्ये नब्बे वटा समूह सक्रिय छन्।

पहिला आमा समूहले मन्दिर निर्माण, भवन निर्माण जस्ता काममा कोष खर्चिने गरेका थिए। भण्डारीले भनिन् ‘पछिल्लो समयमा उत्पादनशिल र सृजनशिल काम गरिरहेका समूहलाई प्राथमिकता दिएका छौं।’ यसले महिलाको क्षमता र नेतृत्व अभिबिृद्धी गरी धेरै भन्दा धेरै महिलालाई सक्रिय बनाउने काम गरेको छ। -सन्चारिका  फिचर सेवा- 

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com