दलितमाथिको विभेद घटेन


प्रकाशित मिति : पुस १६, २०७४ आईतबार

 

पुस १६, २०७४ बाँके,  नेपालगन्जबाट करिब १६ किलोमिटर उत्तर–पश्चिममा अवस्थित बैजनाथ गाउँपालिका–८, पिपरीमा दलित र गैरदलितको मिश्रित बसोवास छ। गाउँका दलित र गैरदलित मर्दा–पर्दा एक अर्काको काममा सघाउँछन्। खेतिपातीका वेला खेतवारीको काममा सहयोग आदानप्रदान हुन्छ। करेसाबारीमा उत्पादन भएका तरकारी र अन्नपात पैँचो पनि चल्छ। तर, त्यस गाउँका दलित र गैरदलितबीच श्रम चल्छ, पानी चल्दैन। ‘हरियो तरकारी, दाल, चामल पैँचो चल्छ, तर भान्सा र पानी चल्दैन,’ चन्द्रा विकले भनिन्। उनले भान्सा र पानी नचलेका कारण चाडपर्व र विवाहवारीमा एकले अर्कोलाई नबोलाउने गरेको बताइन्।

उनले गैरदलितले दलितको घरमा आएर खान मन नगरेपछि चाडपर्व र विवाहवारीमा एउटा समुदायले अर्को समुदायलाई बोलाउन छाडेको बताइन्। ‘निमन्त्रणा दिँदा पनि विवाहवारीमा नआएपछि गैरदलितलाई बोलाउन छोड्यौँ, दलित–दलित बीच मात्र विवाहवारीमा खानपिन हुन्छ,’ पिपरीकी ५० वर्षीय रातु सुनारले भनिन्। उनले पहिलेको तुलनामा दलितमाथि हुने विभेद अलि घटेको भनिए पनि आफूलाई त्यस्तो महसुस नभएको बताइन्। दलितमाथि हुने विभेद प्रत्यक्षबाट अप्रत्यक्ष मात्र भएका छ, प्रत्यक्ष गरिने विभेदभन्दा अप्रत्यक्ष हुने विभेद खतरा मानिन्छ,’ उनले भनिन्, ‘सिधै गाली गर्ने र छुवाछुत भएको भन्न सक्दैनन्, तर दलित भनेर हेप्ने र छुवाछूत मान्ने प्रबृत्ति अहिले पनि छँदैछ।’ गैरदलितले दलितलाई हेर्ने दृष्टिकोणमा देखावटी परिवर्तन आएको बैजनाथ गाउँपालिका–८, चौफेरीकी खिमसरा विकले बताइन्।

उनले विवाहवारीमा आएका गैरदलितले संयुक्त भान्सामा खानपिन गर्न नमान्ने गरेको बताइन्।निमन्त्रणा पाएका गैरदलित विवाहवारीमा सहभागी हुन्छन्, तर उनीहरुका लागि छुट्टै भान्साको ब्यवस्था गर्नुपर्छ,’ उनले भनिन्। उनले पहिलेको जस्तो प्रत्यक्ष विभेद नभएको बताइन्। दलितको घरमा आउन र आफ्नो घरमा खानपिनका लागि बोलाउने प्रबृत्तिको विकास अझैँ हुन नसकेको बताउँदै उनले तरकारी, अन्नपात चले पनि पानी र भान्सा अझैँ चल्न नसकेको बताइन्। ‘प्रत्यक्ष, अप्रत्यक्ष जुन रुपमा गरिए पनि विभेद भनेको विभेदै हो,’ उनले भनिन्, ‘दलितको सीप, काम र उत्पादन गरेको वस्तु चल्छ, तर पकाएको खाना र घरमा भएको पानी चल्दैन, कस्तो विडम्बना हो।’ गैरदलितको घरमा मीठोमसिनो पाक्दा दलितले र दलितको घरमा मिठोमसिनो पाक्दा गैरदलितको घरसम्म पुग्दैन। कारण हो दलितमाथि हुने विद्यमान छुवाछुत। ‘मिलेर खाऔँ, मिलेर जाऔँ भन्ने सबैले भन्छन्, तर गैरदलित नजानिदो तरिकाले छुवाछूत मान्छन्, उनीहरुको घरमा जाँदा नराम्रो मान्ने गरेकोले जान मन लाग्दैन,’ पिपरीकी पुष्पा सुनारले भनिन्, ‘छुवाछूत कागज र भाषणमा अन्त्य भएको छ, ब्यवहारमा भएको महशुस हुन सकेको छैन।’ गैरदलितसँग बोल्नसमेत अलि अफ्ठेरो लाग्ने गरेको चौफेरीकी दिलसरा विकले बताइन्।

उनले पहिलेदेखि नै विभेदमा परेकोले गैरदलितसँग खुलेर बोल्न अझैँ पनि अफ्ठेरो महशुस हुने गरेको बताइन्। उनले नयाँ पुस्ताले छुवाछूत कम माने पनि पुरानो पुस्तामा अझैँ परिवर्तन आउन नसकेको बताइन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com