फिलिपिन्समा आएको आँधीबाट १०० भन्दा बढीको मृत्यु


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

पुस ९ मनिला — फिलिपिन्सको दक्षिणी क्षेत्रमा शनिबार आँधीपश्चात् आएको बाढी र पहिरोका कारण एक सयभन्दा बढीको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूले आँधीमा परी दर्जनौं मानिस हराइरहेको जनाएका छन् । शक्तिशाली ‘टेम्बिन’ आँधीले मिन्डनाओ टापुका कैयौं भागमा बाढी तथा पहिरो निम्त्याएको हो ।

फिलिपिन्सको लानाओ डेल नोर्टेमा ‘टेम्बिन’ आँधीपछि आएको बाढीले प्रभावितको शनिबार उद्धार गरिँदै ।

फिलिपिन्सको दक्षिणी क्षेत्रमा शनिबार आँधीपश्चात् आएको बाढी र पहिरोका कारण एक सयभन्दा बढीको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूले आँधीमा परी दर्जनौं मानिस हराइरहेको जनाएका छन् ।
शक्तिशाली ‘टेम्बिन’ आँधीले मिन्डनाओ टापुका कैयौं भागमा बाढी तथा पहिरो निम्त्याएको हो । आँधीले टुबोड र पिआगापो सहर सबैभन्दा बढी प्रभावित भएका छन् । उक्त सहरहरूमा कैयौं घरहरू ठुल्ठूला ढुंगालेपुरिएका छन् ।
प्रतिघण्टा ८० किलोमिटर वेगको उक्त आँधीले मिन्डनाओ टापुबाट दक्षिणी पालावन क्षेत्रतर्फ बढिरहेको छ । फिलिपिन्स नियमितजसो विध्वंसात्मक आँधीको चपेटामा पर्ने गरेको भए पनि मिन्डनाओ हालसम्म खासै प्रभावित हुनेगरेको थिएन ।

प्रकोप व्यवस्थापन अधिकारीले आँधीका कारण लानाओ डेल नोर्टेमा ६२ र जाम्बोआंगा क्षेत्रमा कम्तीमा ४६ मृत्यु भएको पुष्टि गरेका छन् । प्रहरी अधिकारी गेरी परामीले टुबोड सहरमा कम्तीमा १९ जनाको मृत्यु भएको बताए । उक्त सहर लानाओ डेल नोर्टेमा पर्छ । ‘नदीमा अकस्मात् पानी मात्रा बढ्यो र अधिकांश घर बगायो,’ उनले भने, ‘उक्त क्षेत्रमा अहिले गाउँ नै सखाप भएको छ ।’ उनले सहयताकर्मीले माटोले पुरिएका मृतकहरूको शव निकाल्ने प्रयास गरिरहेको बताए ।

टुबोड सहरका अधिकारी रायन काबसले भने, ‘हामीले मृतकहरूको संख्या यकिन गर्ने प्रयास गरिरहेका छौं ।’ अर्का एक प्रहरी अधिकारी सारीपाडा पाकासुमले पिआगापोमा कम्तीमा १० जनाको मृत्यु भएको जनाए । उक्त सहर टुबोडदेखि १० किलोमिटर पूर्वमा पर्छ । ‘हामीले उद्धारकर्मीहरूलाई प्रभावित क्षेत्रतर्फ पठाएका छौं,’ उनले भने, ‘उनीहरूले सन्तोषजनक रूपमा उद्धार गर्न सकिरहेका छैनन् ।’
आँधीले सिबुको र सलुग सहरमा पनि अन्य मानिसको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अधिकारीहरूले सञ्चार र विद्युत् कटौतीका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाए । उनीहरूले पलावान तथा स्पार्टली टापुको दक्षिणी क्षेत्र हुँदै आतबार साँझसम्म भियतनाम पुग्ने बताइएको छ ।

एक साताअघि ‘काई टाक’ नामक उष्ण आँधीका कारण मध्य फिलिपिन्समा ४६ जना मारिएका थिए । उक्त क्षेत्रमा सन् २०१३ मा गएको शक्तिशाली ‘हैयान’ आँधीका कारण ८ हजार मानिसको ज्यान जानुका साथै २ लाखभन्दा बढी विस्थापित भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com