गाउँलेले सपारे, शहरियाले बिगारे


प्रकाशित मिति : मंसिर २९, २०७४ शुक्रबार

सपना थामी
काठमाडौं, २९ मंसिर । विगतमा सम्पन्न भएको निर्वाचनमा झै प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि बदर मतको संख्या उत्तिकै रहेको छ । मुलुकभर औषतमा ५ दशमलव १८ प्रतिशत मत बदर भएको छ । सबैभन्दा कम मत मनाङ जिल्लामा शुन्य दशमलव ३७ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ अन्तर्गतका जिल्लाहरुमा झण्डै ९ प्रतिशत मत बदर भएको छ ।

देशमा विगतमा पनि विक्रम सम्बत २०४८, २०५१, २०५६ सालमा भएको निर्वाचनमा पनि ५ प्रतिशतको हाराहारीमा मत बदर भएको थियो । हालै सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसकेको छ । यद्दपि समानुपातिकतर्फको मतगणना भने मंसिर ३० गतेभित्र सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।

हालसम्ममा सम्पन्न भएको मतगणनाबाट प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा कम्तिमा शून्य दशमलव १ देखि बढीमा ५ प्रतिशतसम्म मत बदर भएको पाइएको छ । दाङमा प्रतिनिधिसभातर्फ ५ दशमलव १८ प्रतिशत, मनाङमा शून्य दशमलव ३७ प्रतिशत, काठमाडौंमा ३ दशमलव ८१ प्रतिशत मतबदर भएको छ । भोजपुरमा प्रतिनिधिसभातर्फ कुल ६५ हजार ९ सय ८ मत खसेकोमा ९ हजार १५ मत बदर भएको छ । खोटाङमा १२ हजार ५ सय १० मध्ये ७ हजार ७ सय ८१ मत, रसुवामा २६ हजार १८ मध्ये ३ हजार २ सय २ मत बदर भएको छ ।

देशभरको मत बदर संख्या संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका विभिन्न जिल्लामा समानुपातिक सबैको मतगणना सम्पन्न भईसक्दा औषतमा ५ प्रतिशत भन्दा बढी मत बदर हुने निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले अनुमान गरेका छन् । आगामी दिनमा बदर मत कम गर्नका लागि निर्वाचन तथा मतदाता शिक्षाका बारेमा सबैले पहल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा केही प्राविधिक कारणले पनि मत बदर भएको उनले बताए । मतपत्रको आकार, केही ठूला मतपत्र, मतदान अधिकृतिको हस्ताक्षर नभएको मतपत्र पनि बदर भएको उनले बताए । केही राजनीतिक पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरे पनि भाग नलिएको तर, ती सबै पार्टीहरुको चुनाव चिन्ह राख्नुपरेकाले पनि मतपत्र ठूलो भएको उनले बताए ।

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको मतगणना सम्पन्न नभइसक्दा समग्रमा ३, ४ प्रतिशतको हाराहारीमा मत बदर भएको छ । स्थानीय तहको निर्वाचनमा ३ दशमलव ४४ प्रतिशत मत पूर्ण बदर र आंशिक बदर गरी जम्मा ५ प्रतिशतको हाराहारीमा मत बदर भएको थियो ।

ढकालका अनुसार साक्षरता भएको स्थानमा भन्दा दुर्गम क्षेत्रमा कम मत बदर भएको देखिएको छ । यो कसरी भइरहेछ भनेर निर्वाचन आयोग पनि अध्ययन गरिरहेको उनले जानकारी दिए । मतदाताशिक्षा साक्षरता प्रक्रियामा शहरी र विकसित क्षेत्रमा मतदाताहरु मतदान शिक्षा लिन हिचकिचाउने गरेका कारण पनि यसो हुन गएको उनले बताए । त्यसो त, मतदान शिक्षा परिचालनमा खटेका कर्मचारीहरुको पहुँचका कारण पनि मतदाता शिक्षाको प्रभावकारितामा असर पुग्ने उनले बताए ।

देशमा सम्पन्न भएको निर्वाचनको इतिहास हेर्दा ५ प्रतिशतको हाराहारीमा मत बदर हुने गरेको देखिएको छ । तर, बदर मत कम गर्न निर्वाचन आयोगले करोडौंको बजेटसहित विभिन्न कार्यक्रमहरु गर्ने गर्दछ । निर्वाचन, निर्वाचन मात्र नभएर जनप्रतिनिधि छान्ने नागरिकको मौलिक अधिकार पनि हो । त्यसो त, निर्वाचनको बेला नागरिकको एक भोट पनि अत्यन्त महत्वपूर्ण हुन्छ । नागरिकको जनप्रतिनिधि छान्ने अधिकारको सम्मानका लागि पनि निर्वाचन आयोगलगायत सम्बन्धित सबैले महत्वपूर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com