‘परामर्श विना प्रदेश प्रमुख नियुक्त नगर’


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पछि नयाँ जनादेश अनुसार सरकार गठन हुन लागेकोले आफ्नो दलसँग परामर्श गरेर मात्र प्रदेश प्रमुखको नियुक्ति लगायतका विषयमा निर्णय गर्न नेकपा एमालेले सरकारलाई सचेत गराएको छ।

निर्वाचन अघिपनि राजनीतिक सहमति जुटाउन प्रयत्न भैसकेको तर त्यस विषयमा सहमति नजुटेकाले अब एकलौटी ढङ्गले अघि नबढ्न सुझाव दिएको ती नेताले बताए।

तर सत्तासीन नेपाली कांग्रेसका नेताहरुले भने वर्तमान सरकारले राजनीतिक सन्तुलन कायम राख्दै अघि बढ्न चाहेको भएपनि प्रतिपक्षी दलले अनावश्यक ‘किचलो’ गरेको टिप्पणी गरेका छन्।

प्रदेश प्रमुखको नियुक्ति सरकारको क्षेत्राधिकारको विषय भएको बताउँदै प्रधानमन्त्री देउवाले संवैधानिक व्यवस्था अनुसार त्यसका लागि स्वतन्त्र छवि बनाएका केही व्यक्तिहरुसँग परामर्श गरिरहेको प्रधानमन्त्रीका एकजना सल्लाहकारले बताए।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अगावै प्रदेशप्रमुख नियुक्त गर्ने दलहरुको प्रयास समय अभाव र निर्वाचन आचारसंहिता आकर्षित हुने लगायतका कारण थाती रहेको थियो।

अमान्य

पछिल्लो चुनावी परिणाम अनुसार वाम गठबन्धन दुई तिहाइको सरकार बनाउन सक्ने हैसियतमा पुगेको छ।

तर वर्तमान सरकार कुर्सी छोड्ने अवस्थामा पुगिसकेकोले एकलौटी रुपमा प्रदेश प्रमुख नियुक्तिको प्रयत्न गर्नु परम्परा, संवैधानिक व्यवस्था र नैतिक हिसाबले नमिल्ने वाम गठबन्धनका एकजना नेताले बताए।

नेकपा एमालेका नेता ईश्वर पोखरेलले भने, ”अहिले शेरबहादुर देउवाको नेतृत्वमा रहेको यो सरकारले नियुक्ति लगायतका कुनै कुराको निर्णय लिनु उचित हुँदैन। औपचारिक रुपमा उसले केही निर्णय गर्ने अवस्था हो भने सरकारमा नपुगेको अवस्थामा रहेका र भोलि दुईतिहाइ बहुमत ल्याएर सरकार गठन गर्दै रहेको पक्षसँग परामर्श गर्नुपर्छ, अन्यथा त्यो अमान्य हुन्छ।”

संघीय संरचना अनुसार प्रत्येक प्रदेशमा केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा प्रदेश प्रमुख रहने र उसले प्रदेश सरकारको गठन प्रकृया अघि बढाउने जिम्मेवारी संविधानमा उल्लेख छ।

त्यस्तै आफ्नो कार्यभार सम्हाल्नु अगाडि मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ।

निर्णय

सातवटै प्रदेशमा प्रदेश सरकार बन्नु पूर्व नै प्रदेश प्रमुखहरुको नियुक्ति वर्तमान सरकारको कार्यक्षेत्र भित्रको विषय भएकोले केही दिनभित्रै प्रदेश प्रमुख नियुक्त गरिने सत्तासीन दलका नेताहरुले बताएका छन्।

देउवा निकट मानिने नेपाली कांग्रेस एकजना नेता बालकृष्ण खाँणले भने, ”एमालेका नेताहरुले राजनीतिक रुपमा वक्तव्य निकाल्नुभयो, असहमति जनाउनु भयो। तर उहाँहरुले संविधान गहनतापूर्वक अध्ययन गर्नुभएको छैन होला। मन्त्रिपरिषद्ले गर्ने निर्णयहरु त जुन दिनसम्म प्रधानमन्त्री रहनुहुन्छ, मन्त्रिपरिषद् रहन्छ, निर्णय हुँदै जान्छ।”

वाम गठबन्धनको एक प्रमुख दल नेकपा एमाले हाल प्रतिपक्षी भूमीकामा रहेपनि पछिल्लो मतपरिणामको उन्मादका कारण अनावश्यक खिचलो निकालेको कांग्रेस नेता खाँणको बुझाइ छ।

सबै दलहरु मिलेरै निर्वाचन सम्पन्न गरेको अवस्थामा एमाले नेताहरुको यस्तो शैलीले राम्रो सन्देश नदिने उनको भनाइ थियो।

प्रदेश प्रमुख आलंकारिक पद भएकाले पनि राजनीतिक पृष्ठभूमि बाहिरका, स्वच्छ छवि भएका प्रतिष्ठित व्यक्तिहरुबाटै नियुक्त गरिनुपर्ने जानकाहरु बताउँछन्।

तर वाम गठबन्धनको भावी सरकारले आफू अनुकूल प्रदेश प्रमुख नियुक्त भएमा काम गर्न सजिलो हुने बुझाइका कारण उक्त नियुक्ति प्रकृयामा नेकपा एमाले बढी सजग बनेको कतिपयको बुझाइ छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com