‘उत्तर कोरियासँग निशर्त: वार्ताका लागि तयार’


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कुनै पनि शर्त बिना उत्तर कोरियासँग सिधा वार्ता गर्न उनको देश इच्छुक रहेको बताएका छन्।

प्योङयाङको परामाणु कार्यक्रम नियन्त्रण बारे मात्र वार्ता गरिने अडान अमेरिकाले राखिरहनु यथार्थपरक नहुने धारणा टिलरसनले राखेका छन्।

उत्तर कोरियाले त्यस कार्यक्रममा ठूलो लगानी गरिसकेकाले वार्ताको मार्गचित्र निर्धारण गर्न जुनसुकै विषयमा छलफल गर्न सकिने उनको भनाई छ।

तर ह्वाइट हाउसका एक जना प्रवक्ताले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पका विगतका धारणामा कुनै परिवर्तन नभएको जनाएकी छन्।

वार्ता

विगतमा पनि टिलरसनले वार्ताका सम्भावित शर्तहरुको कुरा राखेका थिएनन् तर उनको पछिल्लो भनाईले नयाँ कुटनीतिक वातावरण बनाउनसक्ने अपेक्षा गरिएको छ।

आफ्नो धारणा राख्ने क्रममा उनले उत्तर कोरियासँग कुनै पनि किसिमको प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताए।

उनले भने, “भेटेर त हेरौँ र उनीहरु चाहन्छन् भने मौसमका बारेमा कुराकानी गरौँ, तर के हामी बसेर एकअर्कालाई प्रत्यक्ष रुपमा हेर्नसक्छौँ? त्यसपछि हामी कुराकानीमा कस्ता आपसी विषय समेट्ने भन्ने मार्गचित्र तय गर्नसक्छौँ।”

तर परमाणु परीक्षण बिनाको शान्त अवधिमा मात्र कुराकानी अघि बढ्न सक्ने उनले चेतावनी दिएका छन्।

उनले अमेरिकाले परमाणु अस्त्रले सुसज्जित उत्तर कोरिया नस्वीकार्ने प्रष्ट पारेका छन्।

पछिल्लो धारणाले वार्ताका लागि उत्तर कोरिया शुरुमा निशस्त्र हुनुपर्ने भन्ने अमेरिकी धारणामा केहि परिवर्तन आएको देखिन्छ।

तर अमेरिकी राष्ट्रपति कार्यलय ह्वाइट हाउसले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पको दृष्टिकोण नबदलिएको जनाएको छ।

ह्वाइट हाउसकी प्रवक्ताले उत्तर कोरियाले जापान, चीन र दक्षिण कोरिया मात्रै नभइ पूरै विश्वका लागि जोखिम थपिरहेको बताइन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com