टीपीएसको अवधि सकिदै, लम्बाउन हस्ताक्षर अभियान


प्रकाशित मिति : कार्तिक १, २०७३ सोमबार

 

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस)को अवधि लम्बाउनका लागि अमेरिकामा हस्ताक्षर अभियान सुरु गरिएको छ ।  हस्ताक्षरहरु पूरा भइसकेपछि यो पेटिसन अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जेह जोन्सन, अमेरिकी विदेशमन्त्री जोन केरी, ह्वाइट हाउस डोमेस्टिक पोलिसी काउन्सिल लगायतका निकायमा पुग्ने जनाइएको छ । अमेरिकामा नेपाली र नेपालीभाषीका अधिकारका लागि कृयाशिल संस्था अधिकारले यो हस्ताक्षर अभियान सुरु गरेको हो ।

अमेरिकामा रहेका नेपालीहरुलाई अमेरिकाले टीपीएस प्रदान गर्ने घोषणा गरेपछि हजारौं नेपालीहरु लाभान्वित भएका छन् । तर आगामी डिसेम्बरमा टीपीएसको अवधि नलम्बिएको खण्डमा अमेरिकामा रहेका हजारौं नेपालीहरुको भविश्यमा अन्यौलमा पर्नेमात्र नभई कैयन नेपालीहरु देश निकालामा समेत पर्नेछन् । नेपाललाई टीपीएसको दर्जा प्रदान गरेयता अमेरिकामा रहेका कैयन नेपालीहरु देश निकाला हुनबाट बचेका छन् भने अमेरिकाका अध्यागमन जेलमा रहेका कैयन नेपालीहरु बाहिर निस्केर स्वतन्त्रतापूर्वक काम गरिरहेका छन् ।

नेपालमा गएको महाभूकम्पपछि गतबर्ष अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस प्रदान गर्ने घोषणा गरेको थियो , जसको अवधि आगामी डिसेम्बर २४ मा समाप्त हुँदैछ । गतबर्ष सन् २०१५ को जुन २४ मा नेपाललाई टीपीएसको दर्जा प्रदान गरिएको थियो । सन् २०१५ को डिसेम्बर २१ सम्म टीपीएसका लागि आवेदन दिने अन्तिम म्याद रहेकोमा अमेरिकामा रहेका कुल १३ हजार ६ सय ७६ जनाले युएससीआईएससमक्ष आवेदन दिएका थिए । अमेरिकी सरकारले अपेक्षा गरेको भन्दा निकै कम आवेदन परेपछि नेपालीका टीपीएस आवेदनप्रति सरकारी रुची घटेको देखिएको थियो ।

तपाई पनि यो अभियानमा आफ्नो हस्ताक्षर मिसाउन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

सुरुको अवधिमा टीपीएसका आवेदन भटाभट स्वीकृत भएपनि पछिल्लो चरणमा परेका टीपीएसका आवेदनहरु समेत अधिकारीहरुको प्राथमिकतामा परेका थिएनन् । फलस्वरुप अधिकांशका आवेदन अहिलेपनि पेन्डिङ अवस्थामा रहेका छन् । जनवरीको मध्यसम्म झण्डै ३५ सयका आवेदन स्वीकृत भएकोमा त्यसपछि आवेदन स्वीकृत हुने क्रममा आएको ढिलाईसँगै युएससीआईएसले तथ्यांक प्रदान गर्न समेत अस्वीकार गरेको छ । युएससीआईएसका अधिकारीहरुले सर्वसाधारणको जानकारीका लागि नेपालीलाई प्रदान गरिएका टीपीएसका डाटाहरु जोडेर बस्न छाडेका छन् ।

फैसलामा ढिलाई हुँदा पूर्ण फाइदा लिनबाट वञ्चित
युएससीआईएसले टीपीएसको आवेदन फैसलामा ढिलाई गर्दा नेपाली आवेदकहरु टीपीएसको पूर्ण फाइदा लिनबाट वञ्चित भएका छन् । माभ्नी कार्यक्रममार्फत अमेरिकी सेनामा प्रवेश गर्ने लगायतका विशेष सुविधाहरु प्राप्त गर्नका लागि टीपीएस पूर्णरुपमा स्वीकृत भएको हुनुपर्छ ।

सन् २०१५ को जुन २४ देखि लागु हुने गरी सन् २०१६ को डिसेम्बर २६ सम्मका लागि अमेरिकी सरकारले नेपाललाई टीपीएसको दर्जामा राखेकाले टीपीएसका लागि आवेदन दिएका व्यक्तिले आवेदनबारे फैसला नआएपनि त्यो अवधिसम्मका अमेरिकामा कुनै डिपोर्टेशनको डरबिना मज्जाले काम गर्न पाउँछ । आवेदन पेन्डिङ रहेकै अवस्थामा पनि आवेदकले अमेरिकामा काम गर्नका लागि वर्क परमिट मात्र पाउने होइन, अमेरिकाबाहिर यात्रा गरेर फर्कन पाउनेसम्मको सुविधा पाउनसक्छ ।

यदि कुनै व्यक्तिको टीपीएस स्वीकृत भएको छैन तर उसले अमेरिकाबाहिर यात्रा गर्नका लागि एड्भान्स पेरोल अर्थात यात्रा अनुमतिपत्र पाएको छ भने उसले ढुक्कसँग अमेरिकाबाहिर गएर आउन सक्दैन । यदि ऊ बाहिरै रहेको अवस्थामा टीपीएस अस्वीकृत भएमा त्यस्तो व्यक्ति अमेरिका प्रवेशमा समस्या हुनसक्ने कानुन व्यवसायी खगेन्द्र जीसी बताउनुहुन्छ ।

यदि कुनै व्यक्ति अमेरिकामा गैरकानुनी हिसाबले बसेको छ भने त्यस्ता व्यक्तिले यात्राका लागि अनुमतिपत्रको आवेदन दिनु अगाडि कानुनी सल्लाह दिनका लागि मान्यताप्राप्त व्यक्ति वा संस्थाबाट कानुनी सल्लाह लिनुपर्ने युएससीआईएसले जनाएको छ ।

यो पनि पढ्नुहोस्

टीपीएसपछि अमेरिकाबाट दशककै कम नेपाली डिपोर्ट

 

टीपीएसपछि अमेरिकामा रहेका नेपाली

अमेरिकी सरकारले नेपालीलाई अस्थायी अध्यागमन सुविधा अर्थात् टीपीएसका लागि योग्य ठानेपछि अमेरिकामा वर्क परमिट नभएका जुनसुकै भिसा स्टेटसका रहेका नेपालीहरु पनि वर्क परमिट प्राप्त गरेर कानुनी हिसाबले ढुक्कसँग काम गरिरहेका छन् । टीपीएसप्राप्त गरिसकेपछि कैयन नेपालीहरु एड्भान्स परोल अर्थात् यात्राअनुमतिपत्र प्राप्त गरेर नेपाल पुगेर आफ्ना परिवारलाई भेटेर समेत फर्किसकेका छन् । विद्यार्थी, पर्यटक वा अन्य भिसामा रहेका कैयन नेपालीहरुले पनि टीपीएसमार्फत वर्क परमिट लिएर काम गरिरहेका छन् । टीपीएस स्वीकृत भएको व्यक्तिलाई अमेरिकाबाट डिपोर्ट गर्न वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले इमिग्रेशन स्टेटसका आधारमा थुन्न नपाइने भएकाले इमिग्रेशन मुद्दामा जेल परेकाहरुपनि पनि बाहिर निस्केर काम गरिरहेका छन् ।

यदि कोही व्यक्ति अमेरिकामा गैरकानुनी रुपमा छिरेर बसिरहेको छ भने वा भिसा भन्दा लामो समयसम्म बसिरहेको छ भने उसले टीपीएसमार्फत वर्क परमिटका लागि आवेदन दिन र वर्क परमिट पाउनसक्ने भएकाले त्यस्ता व्यक्तिले पनि टीपीएसबाट फाइदा लिइरहेका छन् । उनीहरुको टीपीएस स्वीकृत भएमा अमेरिकामा उसको गैरकानुनी उपस्थीतिको गणना पनि टीपीएस स्वीकृत भएको बिन्दुमा रोकिन्छ । कुनै पनि व्यक्ति अमेरिकामा ६ महिनाभन्दा लामोसमय भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई तीनवर्षसम्म अमेरिका प्रवेसमा रोक लाग्न सक्छ भने कुनै व्यक्ति अमेरिकामा १ वर्षभन्दा धेरै भिसा अवधि सकिएपछि पनि बसेमा उसलाई अमेरिका पुन प्रवेशमा १० वर्षसम्मको बार लाग्नसक्छ । तर टीपीएस स्वीकृत भएको कोही व्यक्ति भिसा अवधि सकिएपछि पनि अमेरिकामा बसेको खण्डमा उसको बसाई टीपीएस अवधिभरको बसाईलाई गणना गरिदैन ।

यो पनि पढ्नुहोस्

सबै बोलौं, नत्र नलम्बिन सक्छ टीपीएसको अवधि

थपिएला टीपीएसको अवधि ?

नेपाललाई टीपीएसका दर्जा प्रदान गराउन गतबर्ष धेरै नेपाली संघसंस्थाहरुले आवाज उठाएका थिए । तर टीपीएसको अवधि सकिन तीन महिनामात्र बाँकी रहँदा टीपीएसको अवधि थपाउनका लागि भने नेपाली संघसंस्थाहरु सकृय भएको देखिन्न । अमेरिकी सरकारले टीपीएसको अवधि स्वत थप्ने सम्भावना उच्च रहेपनि ग्यारेन्टी भने छैन । त्यसैले टीपीएसको अवधि थप गराउनका लागि अमेरिकामा रहेका नेपालीहरुका सामाजिक संघ संस्थाहरुले अहिलेदेखि नै आवाज उठाउन जरुरी छ ।

टीपीएस प्रदान गरेका अधिकांश देशहरुको हकमा अमेरिकाले टीपीएसको अवधी लम्बाउने गरेको इतिहास छ । नेपालको हकमा पनि यो अवधि लम्बिने आशा गर्न सकिएपनि ढुक्क भएर बस्ने अवस्था नरहेकाले यसबारेमा अमेरिकी राजनीतिज्ञहरुलाई दवाव दिनेदेखि विभिन्न प्रकारका कार्यक्रमहरु गर्न जरुरी रहेको छ । नत्र टीपीएसको अवधि नथपिएमा १३ हजार भन्दा धेरै नेपालीहरुको भविश्य फेरी अन्यौलतिर धकेलिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com