लेखनको पारिश्रमिक कखरा पढेको स्कुललाई सहयोग गर्ने संचारकर्मी शैलेश श्रेष्ठको घोषणा


प्रकाशित मिति : मंसिर १८, २०७४ सोमबार

अमेरिका निवासी संचारकर्मी शैलेश श्रेष्ठले अबको एकबर्षसम्म आफूले लेख्ने लेखहरुबाट प्राप्त रकम आफैले कखरा सिकेको भोजपुरको विद्यालयलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । युएस नेपाल अनलाइनको १० औं बार्षिकोत्सवको अवशरमा न्युयोर्कमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले अब आफूले विना पारिश्रमिक लेखहरु नलेख्ने समेत बताउनुभएको छ ।

लेखनबाट प्राप्त पारिश्रमिकबाट आफूले कखरा पढेको भोजपुरको दावाँमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयलाई १० थान ल्यापटप किनिदिने संचारकर्मी श्रेष्ठले बताउनुभयो । संचारकर्मी श्रेष्ठले केही पहिले नेपाल भ्रमणका क्रममा विद्यालयलाई सहयोग गर्ने वचन दिनुभएको थियो ।

अमेरिकामा नेपाली समुदाय र आप्रवासीका अधिकारबारे संचारकर्म गर्दै आएका संचारकर्मी शैलेश श्रेष्ठ टेलिभिजन कार्यक्रम सम्प्रेषणका प्रस्तोता तथा निर्माता हुनुहुन्छ । ह्वाइटहिमाल टेलिभिजनबाट प्रशारण हुदै आएको यो कार्यक्रम हाल श्रेष्ठले स्वतन्त्र रुपमा अनलाइन उत्पादन र प्रशारण गर्दै आउनुभएको छ । नेपालमा बलिदान लगायतका कैयन चलचित्र र टेलिचलचित्रसहित नाटकहरुमा समेत अभिनय गरेका श्रेष्ठले अमेरिकाका नेपाली समाजमा रहेका विसंगति र बिकृतिबारे बलियो कलम चलाउदै आउनुभएको छ । अमेरिकामा रहेका आप्रवासी नेपालीहरुको अधिकारका पक्षमा वकालत गर्दै आउनुभएका श्रेष्ठ ट्वीन टावर आक्रमणमा संयोगले बाँचेका नेपाली हुनुहुन्छ ।

श्रेष्ठले संचारकर्मबाट दिनुभएको योगदानको कदर गर्दै अमेरिकाका दुई सिटीहरु न्युयोर्क र न्युजर्सीले उहाँलाई सम्मानपत्र समेत प्रदान गरेको छ । अमेरिकामा नेपाली समुदायको सदस्यका रुपमा रहेर संचारकर्म र अधिकारकर्ममा योगदान दिए बापत यस्तो सम्मान गरिएको हो । न्युजर्सीको जर्सी सिटी काउन्सिल अध्यक्ष रोलाण्डो लाभारो र न्युयोर्क सिटी काउन्सिलका सदस्य म्याथ्यु युजिनका तर्फबाट पत्रकारहरुलाई कदरपत्र प्रदान गरिएको हो । अमेरिकामा नेपाली समुदायको सदस्यका रुपमा रहेर संचारकर्म र अधिकारकर्मका माध्यमबाट गरेको योगदानको कदर गर्दै कदरपत्र प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।

आफूले पढेको विद्यालयमा शैलेश ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com