अर्जेन्टिनाको नौसेनाले दुई सातादेखि हराइरहेको पनडुब्बीको खोजी रोक्यो


प्रकाशित मिति : मंसिर १५, २०७४ शुक्रबार

काठमाडौं, १५ मंसिर । अर्जेन्टिनाको नौसेनाले, दुई सातादेखि हराइरहेको पनडुब्बीको चालक दलका सदस्य सहित ४४ जनाको उद्धार प्रयास रोकिएको बताएको छ ।

नौसेनाका प्रवक्ता इनरिके बाल्बीले व्यापक प्रयास गरिए पनि उक्त पनडुब्बी कहा“ हराएको छ भनेर पत्ता लगाउन सम्भव नभएको बताएका छन् । पनडुब्बी एआरए सान जुआनले अन्तिमपटक नोभेम्बर १५ तारिखका दिन सम्पर्क गरेको थियो । अन्तिमपटक सम्पर्कमा आएको ठाउँ नजिकै एउटा शंकास्पद विस्फोट भएपछि पनडुब्बीमा जीवित कोहि होला भन्ने आशा कमजोर बनेको थियो । क्याप्टेन इनरिके बाल्बीले चालक दलको उद्धार गर्ने सम्भावना रहेको समय भन्दा दोब्बर बढाउँदा पनि उपलब्धि हात नलागेको बताए । उनले उद्धार टोलीले समुद्र भित्र भने पनडुब्बीको खोजीलाई निरन्तरता दिने बताए । उनले अब उद्धार तथा खोजको चरण बदलिएको भन्दै सान जुआन हराएको ठानिएको क्षेत्रमा अन्य पानीजहाज र पनडुब्बीहरुको प्रयोग गरेर जहाजका टुक्राटाक्री खोज्न केन्द्रित हुने जनाएका छन् । सान जुआनमा विस्फोट भएको शंका गरिएको खबर गत साता पनडुब्बीमा सवार चालकदलका आफन्तहरुलाई दिइएको थियो । नौसेनाको मर डे प्लाटा अखडामा भेला भएका आफन्तहरुले त्यसको प्रतिक्रियामा पीडा र आक्रोश व्यक्त गरेका थिए । परिवारका सदस्यहरुले नौसेनाले आफूहरुसंग झुटो बोलेको र गलत आशा देखाएको आरोप लगाएका थिए । पनडुब्बीको खोजी कार्यका लागि अन्तर्राष्ट्रिय रुपमा १ दर्जन भन्दा बढी देशका ४ हजार मानिस खटिएका थिए । नोभेम्बर १५ तारिखमा अन्तिमपटक पनडुब्बी सम्पर्कमा आउँदा क्याप्टेनले चालक दलहरु ठीकठाक रहेको पुष्टि गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com