नारायणकाजी श्रेष्ठलाई लक्ष्यित गरी बम विस्फोट


प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

कार्तिक ३०, वामगठबन्धनबाट क्षेत्र नम्बर २ का उम्मेदवार नारायणकाजी श्रेष्ठको चुनावी प्रचार टोलीलाई लक्षित गरी गोरखा नगरपालिका–१० सिर्दिखोलामा विहिबार ‘माइन बम’ विस्फोट भएको छ ।

खोलाको पुलनजिकै सडक क्षेत्रमा राखिएको बमले बा २ च ९४६३ नम्बरको गाडीमा क्षति पुगेको एसपी प्रकाश अधिकारीले बताए । ‘मानवीय क्षति भएको छैन, गाडीका सबै सिसा फुटेको छ’, उनले भने । उक्त गाडीमा श्रेष्ठका प्रचारमा हिंडेका नेता कार्यकर्ता चढेका थिए ।

चुनावी कार्यक्रमबाट श्रेष्ठसहितको टोली १२ किलो बजारतर्फ फर्की सकेपछि बम विष्फोट भएको हो । वामगठबन्धनका नेता विकलकुमार श्रेष्ठसहितका नेता कार्यकर्ता चढेको गाडी नजिकै बम विष्फोट भएको क्षेत्र नम्बर २ प्रदेश सभा क की वामपन्थी गठबन्धनकी उम्मेद्वार कमला नहर्कीले बताइन् ।

उम्मेदवार चढेको गाडी पुल कटिसकेपछि बिष्फोट भएको हो । श्रेष्ठ १२ किलो बजारको बैठकमा सहभागी भएर काठमाडौं जाने तयारीमा निर्वाचन क्षेत्रबाट हिँडेका सहयोगी सुरेशकाजी श्रेष्ठले बताए ।

शसस्त्र प्रहरीसहित घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनास्थल क्षेत्र नम्बर २ मा पर्छ । लोकतान्त्रिक गठबन्धनका बाबुराम भट्टराई र श्रेष्ठ उम्मेदवार बनेका कारण उक्त निर्वाचन क्षेत्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com