चार युवतीलाई भारत लैजान खोज्ने एक युवक प्रक्राउ


प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

कात्तिक २४ महोत्तरी भारतको बाटो हुँदै कुबेत जान लागेका चार युवतीलाई महोत्तरी प्रहरीले गएराति उद्धार गरेको छ। उनीहरुलाई प्रलोभन देखाई कुवेत पठाउन लागेका एक युवक पनि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका– ८ बस्ने २६ वर्षीय टेकबहादुर कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए।

कालिकोटेले सिन्धुपाल्चोकका तीन र सिन्धुलीकी एक युवतीलाई भारत लान खोजेका थिए। उनीहरु २० देखि २२ वर्षका हुन्।

जिल्लाको पश्चिममा पर्ने सम्सी सीमा नाका हुँदै भारत बिहारको सीतामढी जिल्लास्थित कन्हमा सहर प्रवेश गर्न लागेको अवस्थामा उनीहरुलाई गस्ती टोलीले उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालयमा ल्याइएका ती युवतीलाई अभिभावक बोलाएर घर पठाउने र उनीहरुलाई भारत लैजाने युवक कालिकोटेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक कडायतले जानकारी दिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com