अमेरिकाका दुई राज्यमा डेमोक्र्याट गभर्नर


प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

भर्जिनियामा डेमोक्र्याट राल्फ नर्थम गर्भनर चुनिएका छन्। अमेरिकामा डोनल्ड ट्रम्प सत्तामा आएयता पहिलो पटक भएका चुनावमा डेमोक्र्याटहरुले दुई वटा राज्यमा महत्वपूर्ण जित हात पारेका छन्। भर्जिनियाको गभर्नरमा राल्फ नर्थमले कडा प्रतिस्पर्धामाझ रिपब्लिकन उम्मेदवार एड गेलेस्पीलाई जितेको प्रक्षेपण गरिएको छ।

न्यू जर्सीमा अर्का डेमोक्र्याट फिल मर्फी नयाँ गर्भनर बन्ने भनिएको छ। त्यहाँ पछिल्लो समय अलोकप्रिय बन्दै गएका रिपब्लिकन गभर्नर क्रिस क्रिस्टीले आठ वर्ष सम्म शासन गरेका थिए।

भर्जिनियाको गभर्नरको निर्वाचनलाई राष्ट्रपति ट्रम्पसँग जोडिएको चुनावका रुपमा हेरिएको थियो। राष्ट्रपति ट्रम्पको युगमा डेमोक्र्याटहरुले जित्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको जवाफ भर्जिनियाको मत परिणामले दिने भनिएको थियो।

चुनावअघि गर्भनरका उम्मेदवार गिलेस्पीले बीबीसीसँग कुरा गर्दा राष्ट्रपति ट्रम्पको नाम एक पटक पनि उच्चारण गरेनन्। विगतमा उनले ट्रम्पले उठाएका कतिपय विषयहरुमा समर्थन जनाउँदै टेलिभिजन विज्ञापनहरु खेलेका थिए। उनी गैरकानूनी आप्रवासन र अपराधबारे कडा नीतिको पक्षमा छन्।

रिचमण्डजस्ता अधिकांश भर्जिनियाका भूभागमा उदारवादीहरुको बाहुल्य छ। राज्यमा विविधता झल्काउने अनुहारहरु बढी रहेका छन्। चुनावअघि कतिपयले भर्जिनियाका युवाहरु राष्ट्रपति ट्रम्पलाई कठोर सन्देश पठाउन व्यग्र छन् भनेर भनेका थिए।

डेमोक्र्याटिक दलका कतिपय शिर्ष नेताहरुले समर्थन जनाएपनि, उनीहरुका उम्मेदवार राल्फ नर्थममाथि आप्रवासन जस्ता मुद्दाबारेका आफ्ना धारणामा अडिग हुन नसकेको आरोप छ।

BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com