बढ्दो उमेर समूह र घट्दो श्रमशक्ति: पश्चिमा र उदाउँदा अर्थतन्त्रहरूमा वित्तीय सङ्कटको चेतावनी


प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार

Photo:TheStandingDesk/ Unsplash

पश्चिमा मुलुकहरूमा ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या बढ्दै जाँदा र कार्यरत युवा श्रमशक्ति घट्दै जाँदा सार्वजनिक वित्तमा ठूलो भार पर्ने चेतावनी अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी मुडिजले दिएको छ।

यस जनसाङ्ख्यिकीय परिवर्तनको सबैभन्दा बढी असर युरोपमा देखिएको छ। युरोपेली आयोगका अनुसार युरोपेली सङ्घको जनसङ्ख्या सन् २०२९ सम्ममा उच्च विन्दुमा पुग्नेछ, जसलगत्तै दीर्घकालीन घट्दो क्रम सुरु हुनेछ। अमेरिकी जनगणना ब्युरोको प्रक्षेपणअनुसार अमेरिकाको जनसङ्ख्या सन् २०८० सम्ममा वा कम आप्रवासनभएको खण्डमा सन् २०४३ सम्ममा उच्च विन्दुमा पुग्नेछ। तर, आप्रवासनको प्रभावलाई हटाउने हो भने अमेरिकामा पनि जनसङ्ख्या घट्ने क्रम सुरु भइसकेको छ।

मुडिजका अनुसार जनसङ्ख्या घट्न थाल्नुभन्दा धेरै अघि नै ज्येष्ठ नागरिकको बढ्दो अनुपातका कारण वित्तीय दबाबहरू सिर्जना भइसकेका हुन्छन्। हाल जी७ अर्थतन्त्रहरूमा ६५ वर्षभन्दा माथिका प्रत्येक एक व्यक्ति बराबर लगभग तीन जना कामकाजी उमेरका मानिसहरू छन्। सन् २०५० सम्ममा यो अनुपात घटेर दुई जनामा सीमित हुने अपेक्षा गरिएको छ, जसले आर्थिक वृद्धि र स्वास्थ्य सेवासहितका सार्वजनिक वित्तमा थप दबाब सिर्जना गर्नेछ।

मुडिजका क्रेडिट स्ट्राटेजी एन्ड स्ट्यान्दर्ड्सका उपाध्यक्ष ओलिभिए शेम्लाका अनुसार बढ्दो उमेर समूहले सुस्त आर्थिक वृद्धि, पेन्सन तथा स्वास्थ्य उपचारको लागतमा वृद्धि, उपभोग्य मागमा परिवर्तन र ब्याजदरमा आउने उतारचढावमार्फत अर्थतन्त्रलाई असर पार्छ।

शेम्लाका अनुसार कृत्रिम बौद्धिकता र बढेको उत्पादकत्वले उमेर ढल्किँदै गएको श्रमशक्तिको चुनौतीलाई आंशिक रूपमा मात्र पूर्ति गर्न सक्छ। उद्योग र सेवा क्षेत्रमा उत्पादन बढाउन प्रविधि उपयोगी भए पनि रोबोटहरूले मानिसजस्तै उपभोग नगर्ने हुनाले मागको पक्षमा सधैँ अभाव रहने र यसले आर्थिक वृद्धिलाई सुस्त बनाउने उनको भनाइ छ।

यो समस्या युरोप वा अमेरिकामा मात्र सीमित छैन; उदीयमान अर्थतन्त्रहरू पनि तीव्र गतिमा वृद्ध हुँदैछन्। चीनमा ६५ वर्ष वा सोभन्दा माथिका मानिसको अनुपात विगत दुई दशकमा ७ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ। ब्राजिल, थाइल्यान्ड र टर्की पनि यही बाटोमा छन्। विकसित मुलुकहरूले उच्च आय स्तरमा पुगेपछि यस्तो जनसाङ्ख्यिकीय परिवर्तन भोगेका थिए, तर यी उदीयमान मुलुकहरूले भने न्यून आय स्तरमै यो महँगो चुनौतीको सामना गर्नुपर्नेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com