नोबेल शान्ति पुरस्कार २०२६: अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनदेखि ट्रम्प र कार्नीसम्म दाबेदार
प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार
Photo: Pierre Blaché/ Unsplash
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनले यस वर्षको नोबेल शान्ति पुरस्कार जित्न सक्ने सम्भावना रहेको अनुमानकहरूले बताएका छन्। यसका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, सुडानका आपत्कालीन उद्धार टोली, युक्रेनका बाल अधिकारकर्मी तथा दुई प्रमुख अन्तर्राष्ट्रिय अदालतहरू पनि प्रतिस्पर्धामा रहेका छन्।
अक्टोबर ९ मा नर्वेको नोबेल समितिले ओस्लोमा विजेताको घोषणा गर्नुअघि कसले पुरस्कार जित्ला भन्ने अड्कलबाजी तीव्र बनेको छ। यस वर्ष समितिलाई २८७ उम्मेदवारहरूको नामांकन प्राप्त भएको छ, जसमध्ये एक चौथाइभन्दा बढी संस्थागत रहेका छन्।
शान्ति अनुसन्धान संस्थान ओस्लोका निर्देशक हाकोन जेर्लोका अनुसार भूराजनीतिक तनाव बढिरहेको र बहुपक्षीयता संकटमा परेको बेला अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन वैश्विक सहकार्यको एउटा दुलर्भ र उत्कृष्ट प्रतीक हो।
ट्रम्पले पुन: मनोनयन पाएका छन्, तर इरान विरुद्धको युद्धका कारण उनी विवादित चयन हुन सक्छन्। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी भने ट्रम्पका नीतिहरू विरुद्ध उभिएर अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएका छन्।
सुडानको ‘इमरजन्सी रेस्पोन्स रुम्स’ (स्थानीय राहत सञ्जाल), युक्रेनी बाल अधिकारकर्मी माइकोला कुलेबा, ‘सेभ द चिल्ड्रेन’, र पत्रकारहरूको सुरक्षाका लागि गठित ‘कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स’ पनि दाबेदार मानिएका छन्।
अन्तर्राष्ट्रिय न्याय अदालत र अन्तर्राष्ट्रिय आपराधिक अदालतलाई संयुक्त रूपमा दाबेदारका रूपमा हेरिएको छ।
यस वर्षको पुरस्कार घोषणा विश्वव्यापी युद्ध र द्वन्द्वहरू सुडान, युक्रेन, यमन र इरानको पृष्ठभूमिमा हुँदैछ। १९९७ कि नोबेल विजेता जोडी विलियम्सले यस वर्ष पनि कुनै महिलाले नै पुरस्कार पाउने आशा व्यक्त गरेकी छन्। सम्भावित महिला उम्मेदवारहरूमा गाजाकी शल्यचिकित्सक सारा अल-सक्का र रुसी विपक्षी नेता दिवंगत अलेक्सी नभाल्नीकी पत्नी युलिया नभाल्नाया रहेका छन्।
नोबेल सप्ताहको सुरुवात सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणाबाट हुनेछ। त्यसपछि भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, र शुक्रबार शान्ति पुरस्कारको घोषणा गरिनेछ। अक्टोबर १२ मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै यो सप्ताह समाप्त हुनेछ। यस वर्ष पुरस्कारको राशि लगभग १२ लाख अमेरिकी डलर रहेको छ।





