ईयुका पाँच देशद्वारा अस्वीकृत आप्रवासीलाई युरोप बाहिर डिपोर्ट गर्ने तयारी


प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार

Photo: Christian Lue/ Unsplash

युरोपेली युनियनले नयाँ नियमहरू पारित गरेपछि युनियनका पाँच सदस्य राष्ट्रहरू अस्वीकृत शरणार्थीहरूलाई अफ्रिका वा ब्लक बाहिरका तेस्रो मुलुकहरूमा पठाउने योजनामा अघि बढेका छन्।

ग्रीस, जर्मनी, अस्ट्रिया, डेनमार्क र नेदरल्यान्ड्सले युरोपमा बस्ने सबै कानुनी विकल्पहरू समाप्त भइसकेका र आफ्नै मूल देश फर्कन नसक्ने व्यक्तिहरूलाई स्थानान्तरण गर्न ईयु बाहिर “रिटर्न हब” स्थापना गर्ने साझा खाकामा सहमति जनाएका छन्।

डेनमार्कका आन्तरिक मन्त्री मोर्टेन बोडस्कोभका अनुसार डेनमार्कले सन् २०२७ भित्रै पहिलो पटक अनधिकृत आप्रवासीहरूलाई ईयु बाहिरका साझेदार मुलुकमा पठाउन सुरु गर्ने लक्ष्य राखेको छ। यस्तै, ग्रीसका आप्रवासन मन्त्री थानोस प्लेभ्रिसले आगामी वर्षको पहिलो छमाहीसम्ममा यसको परीक्षण परियोजना तयार हुने अपेक्षा व्यक्त गरेका छन्।

यी रिटर्न हबहरू कुन देशमा स्थापना हुनेछन् भन्ने आधिकारिक पुष्टि नभए पनि रुवान्डालाई सम्भावित साझेदारका रूपमा हेरिएको छ। ईयुले यस नीतिलाई अनधिकृत आप्रवासन नियन्त्रण गर्ने र जोखिमपूर्ण यात्रा घटाउने उपायका रूपमा प्रस्तुत गरेको छ।

 तर,पारित नियम अनुसार यस्ता सम्झौताहरू अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थीलाई जोखिमयुक्त देशमा फिर्ता पठाउन नपाइने सिद्धान्तको पालना गर्ने तेस्रो मुलुकहरूसँग मात्र गर्न पाइनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com