नेपालको विनाशकारी बाढीपछि अर्को संकट: घाउ निको हुनुअघि मानसिक स्वास्थ्यको चुनौती


प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार

अगस्ट २६ को बाढीले क्षतिग्रस्त आफ्नो बस्ती नियाल्दै एक महिला। फोटो: दीपेन्द्र ढुंगाना।

काठमाडौँ — अगस्त २६ मा नेपालको भोटेकोशी नदी प्रणालीमा आएको बाढीमा परिवारका सदस्य गुमाएका ‘सुमन’ (परिवर्तित नाम) अहिले राति राम्रोसँग सुत्न सक्दैनन्।

आँखा बन्द गर्नेबित्तिकै उनलाई बाढीको आवाज सम्झना आउँछ। पानीको तीव्र बहाव, मानिसहरू चिच्याएको दृश्य र केही क्षणमै बदलिएको आफ्नो संसार उनको स्मृतिमा बारम्बार फर्किरहन्छ। दिनमा पनि उनी एक्लै बस्न रुचाउँछन्। कहिलेकाहीँ अचानक झस्किन्छन्। परिवारका सदस्यहरू गुमाएपछि उनलाई एउटै प्रश्नले सताइरहेको छ—अब बाँकी जीवन कसका लागि बाँच्ने?

“सबै कुरा एकैछिनमा सकियो। अब घर सम्झिँदा पनि डर लाग्छ,” उनले भने।

सुमनको अनुभव त्रिशूली बाढीबाट बाँचेका धेरै मानिसको अहिलेको मानसिक अवस्थाको एउटा उदाहरण हो। उद्धार र राहतका सुरुवाती दिनमा खाना, पानी, आश्रय र सुरक्षाजस्ता आधारभूत आवश्यकतामा केन्द्रित रहेका परिवारहरू अहिले विस्तारै विपत्तिको भावनात्मक असर सामना गर्ने चरणमा प्रवेश गरिरहेका छन्।

विनाशकारी बाढी र त्यसपछिको पहिरोले घर, सडक, पुल र जीविकोपार्जनका आधारहरू भत्काएसँगै प्रभावित समुदायमा अर्को संकट पनि गहिरिँदै गएको छ—मानसिक स्वास्थ्यको।

बाढीबाट जोगिएका मानिसहरू अहिले आफन्तको मृत्यु, बेपत्ता परिवारजन, घरबारको विनाश र भविष्यको अनिश्चिततासँग जुधिरहेका छन्। उद्धार र राहतका सुरुवाती दिनमा खाना, पानी, आश्रय र सुरक्षाजस्ता आधारभूत आवश्यकतामा केन्द्रित रहेका परिवारहरू अहिले विस्तारै विपत्तिको भावनात्मक असर सामना गर्ने चरणमा प्रवेश गरिरहेका छन्।

नुवाकोट, रसुवा र काठमाडौंका बाढी प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र मानसिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार निद्रा नलाग्ने, बारम्बार झस्किने, घटनाका दृश्य दोहोरिरहने, एक्लै बस्न खोज्ने, अरूसँग बोल्न मन नलाग्ने र भविष्यप्रति अत्यधिक चिन्ता गर्ने जस्ता लक्षण देखिन थालेका छन्। बालबालिकामा पनि डर, असामान्य व्यवहार र खेल्न छाडेर टोलाउने व्यवहार देखिएको स्वास्थ्यकर्मी तथा विशेषज्ञहरुले बताएका छन्।

निरोग तथा मानसिक स्वास्थ्य शाखाकी प्रमुख डा. पोमावती थापाका अनुसार सरकारले उद्धार र राहतसँगै मानसिक स्वास्थ्यलाई पनि आपत्कालीन प्रतिक्रियाको हिस्सा बनाएको छ। उनका अनुसार नुवाकोटमा १९, रसुवामा चार र काठमाडौंका विभिन्न स्थानमा दुई गरी २५ भन्दा बढी होल्डिङ सेन्टरमा मानसिक स्वास्थ्य परामर्श तथा मनोसामाजिक सहयोग सञ्चालन भइरहेको छ। करिब १५५ जना मनोसामाजिक परामर्शदाता र स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डा. पोमावती थापा, निरोग तथा मानसिक स्वास्थ्य शाखाकी प्रमुख। त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन्। फोटो: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), नेपाल।

तर विशेषज्ञहरूका लागि अहिलेको सबैभन्दा ठूलो चिन्ता तत्काल देखिएको मानसिक तनावभन्दा पनि त्यसको दीर्घकालीन असर हो।

शोकबाट अनिश्चिततातर्फ

विपत्तिको सुरुवाती चरणमा धेरै मानिस आफ्ना बेपत्ता आफन्त जीवितै फर्कने आशामा थिए। अहिले खोजी तथा उद्धारका क्रममा वास्तविकता स्पष्ट हुँदै जाँदा कतिपय परिवारले आफ्ना प्रियजन गुमाएको तथ्य स्वीकार गर्नुपर्ने अवस्थामा पुगेका छन्।

डा. थापाका अनुसार विपत्तिको प्रारम्भिक चरणमा मानिसहरू आफ्नो आधारभूत आवश्यकता पूरा गर्नमै केन्द्रित थिए। त्यसैले मानसिक समस्याका गम्भीर लक्षण तत्काल स्पष्ट नदेखिन सक्छन्।

उनले प्रभावितहरूको अवस्थालाई अस्वीकारबाट स्वीकार्यतातर्फको कठिन यात्राका रूपमा व्याख्या गरेकी छन्। सुरुमा आफन्त फर्किने आशामा रहेका मानिसहरूले अहिले क्षतिको वास्तविकता स्वीकार गर्न थालेपछि मानसिक पीडा अझ सतहमा आउन थालेको उनको भनाइ छ।

केही परिवारले केही मिनेटको अन्तरालमा पाँचदेखि आठ जनासम्म आफन्त गुमाएका छन्। परिवार र आफन्तको ठूलो हिस्सा गुमाएका व्यक्तिहरूमा जीवनको अर्थबारे प्रश्न उठ्न थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। कतिपयले आत्महत्याको विचार आएको समेत सुनाएका छन्।

परिवारका सदस्य जीवित रहे पनि घर, खेतबारी, व्यवसाय र आम्दानीको स्रोत गुमाएका मानिसहरू अर्को किसिमको तनावमा छन्। उनीहरूका प्रश्न छन्—अब कहाँ बस्ने? ऋण कसरी तिर्ने? परिवार कसरी पाल्ने? घर कहिले र कसरी बनाउने?

राहत शिविरबाट बाहिरिएपछि यिनै प्रश्न अझ तीव्र हुने जोखिम रहेको विशेषज्ञहरूको भनाइ छ।

बाढीपीडितको स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी जानकारी संकलन गर्दै डा. शेरोन क्रोनफेल्ड–शाउल र डा. चायेन गिलाड। फोटो: डन्ड गुरुङ।

‘बाढीको आवाज अझै कानमा आउँछ’

भोटेकोशी नदी प्रणाली बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष काम गरिरहेका डा. घनश्याम राईका अनुसार अहिले धेरै प्रभावितमा ‘एक्युट स्ट्रेस रियाक्सन’ देखिएको छ।

“मानिसहरू रातमा सुत्दा बाढीको भयानक आवाज आउने, पानीको बहाव आँखाअघि झल्झली देखिने, सिरक वा ओछ्यानमै तर्सिने र घटनाका स्मृतिहरू दिमागमा बारम्बार दोहोरिने समस्या भोगिरहेका छन्,” डा. राईले भने।

विपत्तिपछि यस्तो प्रतिक्रिया देखिनु असामान्य होइन। तर यस्ता लक्षण लामो समयसम्म कायम रहेमा त्यसले थप जटिल मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्ने उनले बताए।

“अबको एकदेखि चार महिनाभित्र मानिसहरूमा पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी), गम्भीर डिप्रेसन, एन्जाइटी डिसअर्डर र एडजस्टमेन्ट डिसअर्डर जस्ता समस्या देखिन सक्छन्,” उनले भने। केही गम्भीर अवस्थामा मानसिक सन्तुलनमा समेत समस्या आउन सक्ने उनले बताए।

होल्डिङ सेन्टर बन्द हुँदै जाने र प्रारम्भिक राहत तथा बाह्य सहयोग घट्दै जाने समयलाई विशेषज्ञहरूले विशेष संवेदनशील चरणका रूपमा हेरेका छन्। त्यसबेला प्रभावितहरूले पुनर्निर्माण, रोजगारी, ऋण, आवास र परिवारको भविष्यजस्ता समस्यासँग एक्लै जुध्नुपर्ने हुन सक्छ।

‘घर र सडक मात्र होइन, जीवन पनि पुनर्निर्माण गर्नुपर्छ’

चिकित्सक, क्लिनिकल फार्माकोलोजिस्ट तथा अनुसन्धानकर्ता डा. राकेश घिमिरेका अनुसार प्राकृतिक विपत्तिले भौतिक संरचनासँगै मानिसको मानसिक स्वास्थ्यमा पनि गहिरो असर पार्छ।

“प्राकृतिक विपत्तिहरूले भौतिक क्षतिभन्दा बढी असर गर्न सक्छन्। तिनले हाम्रो मानसिक स्वास्थ्यमा पनि चोट पुर्‍याउन सक्छन्,” डा. घिमिरेले भने। “पुनर्स्थापना भनेको घर, सडक र पूर्वाधार पुनर्निर्माण गर्नु मात्र होइन। मानसिक स्वास्थ्य पनि विपद् प्रतिक्रिया र पुनर्स्थापनाको अभिन्न हिस्सा हुनुपर्छ।”

उनका अनुसार बाढी, पहिरो वा भूकम्पपछि डर, आघात, अन्योल, दुःख, रिस, एन्जाइटी र निद्रामा समस्या देखिन सक्छ। तर यस्ता प्रारम्भिक प्रतिक्रिया आफैंमा मानसिक रोग भएको अर्थ नलाग्ने उनले बताए।

“यी प्रतिक्रियाहरू सामान्य हुन् र तिनले सधैं मानसिक रोग भएको अर्थ राख्दैनन्,” उनले भने।

डा. घिमिरेले विपत्तिपछिको मानसिक पुनर्स्थापनालाई चार चरणमा हेर्नुपर्ने बताए—विपत्तिको प्रभाव, उद्धार, पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माण।

“सुरुमा मानिसहरूको ध्यान बाँच्न र आफ्ना प्रियजन खोज्न केन्द्रित हुन्छ। पछि अवस्था केही सुरक्षित भएपछि घर, सम्पत्ति, रोजगारी वा परिवारका सदस्य गुमाएको पीडा महसुस हुन थाल्छ,” उनले भने।

यही चरणमा केही व्यक्तिमा डिप्रेसन, एन्जाइटी वा पीटीएसडी विकसित हुन सक्ने र यस्ता समस्या महिनौँसम्म रहन सक्ने उनले बताए।

उनका अनुसार मानसिक स्वास्थ्य सहयोग पनि विपत्तिको समयदेखि नै सुरु भएर पुनर्स्थापनाको अवधिभर निरन्तर हुनुपर्छ।

“पहिलो कदम मानिसहरूलाई सुरक्षा, खाना, पानी, आश्रय, औषधि र विश्वसनीय सूचना सुनिश्चित गर्नु हो,” उनले भने। “परिवार, साथीभाइ र समुदायसँग जोडिइरहनुले पनि ठूलो सहयोग पुर्‍याउन सक्छ।”

प्रारम्भिक मानसिक सहयोगका लागि उनले ‘लुक, लिसन एन्ड लिंक’ अर्थात् हेर्ने, सुन्ने र जोड्ने अवधारणालाई उपयोगी मानेका छन्।

“हामीले सहयोग आवश्यक पर्ने मानिसलाई हेर्नुपर्छ, उनीहरूको कुरा शान्त भएर र कुनै निर्णय नगरी सुन्नुपर्छ र उनीहरूलाई परिवार, समुदायको सहयोग वा स्वास्थ्य सेवासँग जोड्नुपर्छ,” उनले भने।

प्रभावितहरूलाई विस्तारै नियमित जीवनतर्फ फर्काउन पनि आवश्यक रहेको उनले बताए। नियमित निद्रा र खानपान, विद्यालय वा काममा क्रमशः फर्किने र शारीरिक रूपमा सक्रिय रहनेजस्ता सामान्य दिनचर्याले पुनर्स्थापनामा सहयोग गर्न सक्छन्।

तनाव सामना गर्न मदिरा वा अन्य पदार्थको प्रयोग नगर्न पनि उनले सुझाएका छन्।

“यदि दुःख, डर, एन्जाइटी, दुःस्वप्न वा अन्य समस्या जारी रहेर दैनिक जीवनमा असर गर्न थालेमा व्यावसायिक सहयोग लिनुपर्छ,” उनले भने। “आत्महत्या वा आत्महानीका कुनै पनि विचारलाई गम्भीरतापूर्वक लिनुपर्छ र तत्काल सहयोग आवश्यक हुन्छ।”

बाढीपछि स्वास्थ्यकर्मीसँग आफ्ना अनुभव र स्वास्थ्यसम्बन्धी समस्या सुनाउँदै बाढीपीडितहरू। फोटो: डन्ड गुरुङ।

तीन चरणमा मानसिक स्वास्थ्य योजना

सरकार र मानसिक स्वास्थ्य विशेषज्ञहरूले तत्काल, मध्यम र दीर्घकालीन गरी तीन चरणमा सेवा विस्तार गर्ने योजना अघि सारेका छन्।

तत्कालीन चरणमा होल्डिङ सेन्टरमा मनोसामाजिक परामर्श, मनोवैज्ञानिक प्राथमिक सहायता (पीएफए) र भावनात्मक सहयोग उपलब्ध गराउने काम भइरहेको छ। आवश्यकताअनुसार २४ घण्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइनमार्फत पनि सहयोग दिने व्यवस्था गरिएको छ।

दोस्रो चरणमा प्रभावितहरू होल्डिङ सेन्टरबाट गाउँ, समुदाय वा अस्थायी आवासमा फर्किएपछि समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने योजना छ। यसअन्तर्गत मानसिक रोग विशेषज्ञ, क्लिनिकल साइकोलोजिस्ट, मनोसामाजिक परामर्शदाता, मनोरोग नर्स र सामाजिक कार्यकर्तासहित पाँचदेखि छ जनाको टोली विभिन्न प्रभावित क्षेत्रमा तीनदेखि छ महिनासम्म खटाउने तयारी गरिएको छ।

तेस्रो चरण भनेको स्थानीय स्वास्थ्य प्रणालीलाई बलियो बनाउने हो।

एक वर्ष वा त्यसभन्दा लामो अवधिका लागि स्थानीय स्वास्थ्य चौकीका कर्मचारीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिने, विद्यालयका शिक्षकलाई विद्यार्थीमा देखिने मानसिक तनाव पहिचान र व्यवस्थापनबारे अभिमुखीकरण गर्ने तथा स्थानीय अस्पतालमा आवश्यक मानसिक स्वास्थ्य औषधिको नियमित आपूर्ति सुनिश्चित गर्ने योजना छ।

गम्भीर अवस्थाका बिरामीलाई पाटन मानसिक अस्पताल, कान्ति बाल अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायतका विशेषज्ञ संस्थामा पठाउन रेफरल प्रणाली बलियो बनाउने तयारी पनि भइरहेको छ।

अगस्ट २६ को बाढीले क्षतिग्रस्त घरमा रहेका एक बाढीपीडित। फोटो: दीपेन्द्र ढुंगाना

समुदायदेखि विदेशमा रहेका नेपालीसम्मको भूमिका

विपत्तिपछिको मानसिक स्वास्थ्य पुनर्स्थापनामा सरकारी स्वास्थ्य प्रणाली मात्र पर्याप्त नहुने डा. घिमिरेको भनाइ छ।

“समुदाय र नेपाली डायस्पोराको पनि महत्वपूर्ण भूमिका हुन्छ,” उनले भने।

छिमेकी, समुदायका अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय संस्थाहरूले प्रभावित परिवारसँग नियमित सम्पर्कमा रहनुपर्ने उनले बताए। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र आफन्त गुमाएका परिवारमा थप ध्यान आवश्यक हुने उनको भनाइ छ।

विदेशमा रहेका नेपालीले पनि राहत रकम पठाउनेबाहेक मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान, तालिम, टेलिहेल्थ सेवा र स्थानीय विश्वसनीय संस्थासँगको सहकार्यबाट सहयोग गर्न सक्ने उनले बताए।

“विदेशमा रहेका नेपालीले आर्थिक सहयोग मात्र होइन, व्यावसायिक ज्ञान, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, तालिम, टेलिहेल्थ सहयोग र विश्वसनीय स्थानीय संस्थासँगको साझेदारीमार्फत पनि सहयोग गर्न सक्छन्,” उनले भने।

प्रभावित परिवारसँग नियमित फोन सम्पर्क राखेर भावनात्मक साथ दिनु पनि महत्वपूर्ण हुने उनले बताए।

तर विपत्तिको असर देशभित्र सीमित हुँदैन। विदेशमा रहेका नेपालीहरू आफ्ना परिवार र समुदायको अवस्थाप्रति चिन्तित, असहाय वा तनावग्रस्त हुन सक्छन्।

“विदेशमा रहेका नेपालीहरूले पनि आफ्नै मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ,” उनले भने।

राहत पुगेको ठाउँ र नपुगेको ठाउँ

मानसिक स्वास्थ्य सेवा विस्तारमा भूगोल ठूलो चुनौती बनेको छ।

बिदुर नगरपालिकाजस्ता तुलनात्मक रूपमा सुगम क्षेत्रमा स्वास्थ्यकर्मी र परामर्शदाताको पहुँच राम्रो भए पनि त्रिशूलीपारि, बेत्रावती र दुर्गम ग्रामीण क्षेत्रमा भौगोलिक कठिनाइका कारण पर्याप्त सेवा पुग्न सकेको छैन।

प्रभावित समुदायको अर्को समस्या भनेको अनिश्चितता हो।

पुनर्स्थापना कहाँ र कहिले हुने, स्थायी आवास कसरी उपलब्ध गराइने र जीविकोपार्जन कसरी पुनःस्थापित गर्ने भन्ने विषयमा स्पष्ट जानकारी नपाउँदा मानिसहरूको तनाव थप बढिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

विपत्तिले नियमित उपचारमा रहेका बिरामीलाई पनि प्रभावित गरेको छ। दीर्घरोग वा पहिले नै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका केही व्यक्तिले नियमित औषधि पाउन नसक्दा अवस्था बिग्रने जोखिम रहेको छ।

भोटेकोशी बाढीमा घाइते भई काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचाररत बलबहादुर घर्ती मगरलाई भेट्दै सशस्त्र प्रहरी नेपालका उच्च अधिकारी। फोटो: सशस्त्र प्रहरी नेपाल।

मानसिक स्वास्थ्यलाई पुनर्निर्माणकै हिस्सा बनाउने चुनौती

बाढीपछि मानसिक स्वास्थ्यको प्रश्न अब अस्पताल वा परामर्श केन्द्रको सीमाभित्र मात्र रहने विषय रहेन। यो आवास, रोजगारी, शिक्षा, सामाजिक सुरक्षा र पुनर्निर्माणसँग जोडिएको प्रश्न बनेको छ।

विशेषज्ञहरूका अनुसार मानिसलाई सुरक्षित घर, स्थिर आम्दानी र भविष्यबारे विश्वसनीय जानकारी दिन नसक्दा केवल परामर्शले मानसिक संकट समाधान गर्न कठिन हुन्छ। त्यसैले मानसिक स्वास्थ्य सेवा र भौतिक पुनर्निर्माणलाई छुट्टाछुट्टै कार्यक्रमका रूपमा नभई एउटै पुनर्स्थापना योजनाको हिस्सा बनाउनुपर्ने आवश्यकता छ।

डा. घिमिरेको दृष्टिकोणमा, “विपत्तिपछिको पुनर्निर्माण भनेको घर र जीवन दुवै पुनर्निर्माण गर्नु हो।”

मानसिक स्वास्थ्यलाई विपद् पूर्वतयारीदेखि उद्धार, राहत, पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणसम्म प्रत्येक चरणमा समेट्नुपर्ने उनको भनाइ छ।

तीनै तहका सरकारले अहिलेको आपत्कालीन सहयोगलाई दीर्घकालीन पुनर्स्थापनासँग जोड्न सकेनन् भने बाढीबाट बाँचेका मानिसहरूले अर्को अदृश्य संकट सामना गर्नुपर्ने जोखिम छ।

बाढीले भत्काएका सडक र पुल पुनर्निर्माण गर्न सकिन्छ। घर फेरि बनाउन सकिन्छ। तर विपत्तिले मानिसको मनमा छोडेको घाउ निको हुन समय लाग्छ।

त्यसैले अहिलेको चुनौती उद्धार सकिनु मात्र होइन। विपत्तिबाट बाँचेका मानिसहरूलाई सुरक्षित, आत्मनिर्भर र मानसिक रूपमा स्वस्थ जीवनमा फर्काउन सक्नु नै पुनर्निर्माणको वास्तविक सफलता मापन गर्ने आधार हुनेछ।


यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट सम्भव भएको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com