बाढीपछि नेपाललाई ३६ लाख डलरका अतिरिक्त अमेरिकाको थप विपद् सहायता
प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार
रसुवा जिल्लामा अगस्ट २६ मा आएको विनाशकारी भोटेकोशी बाढीपछि अमेरिकाले नेपाललाई थप मानवीय तथा विपद् प्रतिकार्य सामग्री उपलब्ध गराएको नेपालस्थित अमेरिकी दूतावासले बुधबार जनाएको छ।
अमेरिकी दूतावासका अनुसार दुईवटा अमेरिकी सैन्य कार्गो विमानमार्फत विपद्मा ज्यान गुमाएकाहरूको शव तथा अवशेष खोजी तथा उद्धारका लागि प्रयोग हुने ५ हजार विशेष सामग्री, ५०० वटा प्राथमिक उपचार किट, स्ट्रेचर तथा अगाडिबाट सामग्री उठाउने भारी उपकरण नेपाल पठाइएको छ। यी सामग्री नेपाल नेतृत्वमा भइरहेको खोजी, उद्धार तथा पुनःस्थापना कार्यलाई सहयोग पुर्याउन प्रयोग गरिने दूतावासले जनाएको छ।
नेपाल सरकारले गरेको अनुरोधका आधारमा उक्त सामग्री पठाइएको हो। यो सहयोग बाढी प्रभावित नेपालका लागि अमेरिकाले घोषणा गरेको ३६ लाख अमेरिकी डलरभन्दा बढीको मानवीय सहयोगको हिस्सा रहेको दूतावासले जनाएको छ।
यसअघि अमेरिकाले बाढी प्रभावित नेपालका लागि थप जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको थियो। अमेरिकाले घोषणा गरेको उक्त ३६ लाख अमेरिकी डलरभन्दा बढीको सहयोगमा प्रभावित १० हजार परिवारसम्मलाई तीन महिनासम्म आपत्कालीन खाद्य सहायता उपलब्ध गराउने कार्यक्रमसमेत समावेश छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त ३६ लाख अमेरिकी डलरको कुल सहयोगमा अगस्ट २६ मा घोषणा गरिएको ५ लाख अमेरिकी डलरको प्रारम्भिक आपत्कालीन सहायता पनि समावेश छ।
अमेरिकी विदेश मन्त्रालयको क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहायता कार्यक्रममार्फत उपलब्ध गराइएको उक्त प्रारम्भिक रकम रासुवा जिल्ला तथा तल्लो तटीय क्षेत्रमा बाढीबाट प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छता सेवा उपलब्ध गराउन प्रयोग गर्ने उद्देश्यले छुट्याइएको थियो। मन्त्रालयले बाढीको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र राहत प्रयासमा सहयोग गर्न विपद् प्रतिकार्यसम्बन्धी एक सल्लाहकार परिचालन गर्ने जनाएको थियो।
अमेरिकी विदेश मन्त्रालयले अगस्ट २६ को विज्ञप्तिमा विपद्मा ज्यान गुमाएकाहरूका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको खोजी तथा सहयोगका लागि स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको थियो।
अमेरिकाले नेपाल सरकारबाट औपचारिक अनुरोध आएमा खोजी तथा उद्धारसम्बन्धी सहायता उपलब्ध गराउने प्रस्तावसमेत गरेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्। यसमा आवश्यक परे उद्धार टोली परिचालन गर्ने सम्भावना पनि समावेश छ।
नेपोर्कका प्रश्नको जवाफ दिँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने, “अमेरिकाले खोजी तथा उद्धार सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल सरकारबाट यस्तो सहायता माग भएमा नेपाल सरकारसँग समन्वय गर्दै खोजी तथा उद्धार प्रयासमा सहयोग गर्न हामी तयार छौँ।”
अमेरिकी दूतावासका अनुसार अमेरिकाले उपलब्ध गराएको सहायता नेपाल सरकार तथा अन्य साझेदार निकायसँगको समन्वयमा परिचालन भइरहेको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकाबाट पठाइएको पहिलो सहायता अगस्ट २९ र ३० मा नुवाकोट र रासुवा पुगेको थियो। अमेरिकी दूतावासका कार्यवाहक प्रमुख स्कट अर्बमको पहलमा पठाइएको उक्त सामग्रीमा रासुवा र नुवाकोटका ४०० जनाका लागि २.५ टनभन्दा बढी खाद्य सामग्री, साथै ५०० कम्बल, ५०० झुल र ५०० वटा तापरोधक फोमका सुत्ने म्याट समावेश थिए।
अगस्ट २६ मा जारी गरेको आफ्नो मिडिया नोटमा अमेरिकी विदेश मन्त्रालयले विपद्मा ज्यान गुमाएकाहरूका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गरेको थियो। मन्त्रालयले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था पत्ता लगाउन तथा उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन काठमाडौंस्थित अमेरिकी दूतावासले स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको थियो।
ट्रम्पले नेपाललाई आवश्यक सबै सहयोग गर्ने बताएका थिए
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता अमेरिकाले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेको बताएका थिए। उनले बाढी र त्यससँगै आएको ढुंगा–माटोको बहावलाई असामान्य रूपमा विनाशकारी भएको बताएका थिए।
ओभल अफिसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले राहत तथा खोजी–उद्धार अभियान जारी रहँदा अमेरिकी प्रशासनले नेपालका नेतृत्वसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरिरहेको बताएका थिए।
“यो निकै दुःखद् हो। हामीले नेपाललाई फोन गरेका छौँ र उनीहरूलाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका छौँ,” ट्रम्पले भनेका थिए।
ट्रम्पले अमेरिकी प्रशासनले नेपालमा सहायता पठाइरहेको र नेपाली अधिकारीहरूलाई आवश्यक परेको जुनसुकै सहयोग उपलब्ध गराउने जानकारी दिएको बताएका थिए। उनले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्दै विपद्मा परेका हुन सक्ने अमेरिकी नागरिकको अवस्था पत्ता लगाउन संघीय अधिकारीहरूले काम गरिरहेको बताएका थिए।





