अमेरिकामा सेप्टेम्बर १० सम्मको अनलाइन टिकट बिक्रीको ५०% नेपाल बाढी राहतमा: डीटी फेस्ट
प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार
भोटेकोसीको बाढीले नुवाकोटको त्रिशूली बजारमा पुर्याएको क्षति। तस्बिर: प्रदीप राज वन्त, नुवाकोट
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार र समुदायलाई सहयोग गर्ने उद्देश्यले थ्री इ इन्टरटेन्मेन्टले ग्लोबल फेमिली फाउन्डेसनसँग सहकार्य गर्दै “टुगेदर फर नेपाल: म्युजिक विथ अ पर्पोज” राहत अभियान सुरु गरेको छ।
अभियानअन्तर्गत डीटी फेस्ट भर्जिनिया र डीटी फेस्ट न्यु इङ्ग्ल्याण्डले सेप्टेम्बर १० सम्म बिक्री हुने अनलाइन टिकटबाट प्राप्त आम्दानीको ५० प्रतिशत नेपालका बाढीपीडितलाई राहत उपलब्ध गराउन छुट्याउने घोषणा गरेका छन्।
आयोजकका अनुसार, थ्री इ इन्टरटेन्मेन्टले बाढी राहतका लागि यसअघि नै १ लाख नेपाली रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ। अब सांस्कृतिक कार्यक्रम, संगीत र नेपाली समुदायको सहभागितामार्फत थप राहत संकलन गर्ने अभियान अघि बढाइएको जनाएको छ।
“प्रत्येक डलरको महत्त्व हुन्छ” भन्ने मूल सन्देशसहित सञ्चालन गरिएको अभियानले मनोरञ्जन र मानवीय सहयोगलाई जोड्ने लक्ष्य राखेको छ। डीटी फेस्टका आगामी कार्यक्रमका टिकट खरिद गर्ने दर्शकले मनोरञ्जनसँगै नेपालका बाढीप्रभावित परिवारको राहतमा प्रत्यक्ष योगदान गर्न सक्ने आयोजकले बताएका छन्।
डीटी फेस्ट भर्जिनिया र डीटी फेस्ट न्यु इङ्ग्ल्याण्डका लागि सेप्टेम्बर १० सम्म अनलाइनमार्फत खरिद हुने टिकटको आम्दानीमध्ये आधा रकम राहत कोषमा जानेछ। संकलित रकम अति प्रभावित तथा आवश्यकतामा रहेका समुदायसम्म पुर्याउने जिम्मेवारी ग्लोबल फेमिली फाउन्डेसनले लिने जनाएको छ।
यसैबीच, अमेरिकामा आफ्नो “३० इयर एनिभर्सरी यूएसए टुर” मा रहेको चर्चित नेपाली रक ब्यान्ड मुक्ति एन्ड रिभाइभलले पनि राहत अभियानमा साथ दिने भएको छ। ब्यान्डले आफ्नो प्रत्येक सांगीतिक कार्यक्रमबाट ५ सय अमेरिकी डलर राहत कोषमा योगदान गर्ने घोषणा गरेको छ।

गायिका समीक्षा अधिकारी र गायक शिव परियारले पनि आफ्ना प्रत्येक सांगीतिक कार्यक्रमबाट ५ सय अमेरिकी डलरका दरले नेपाल बाढी राहत कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आयोजकका अनुसार, कलाकारहरूको योगदान र टिकट बिक्रीबाट प्राप्त सहयोग रकम एकीकृत गरी प्रभावित परिवार तथा समुदायको राहत, अत्यावश्यक सामग्री र पुनःस्थापनाका प्राथमिक आवश्यकतामा उपयोग गरिनेछ।
आयोजकले अमेरिका तथा अन्यत्र रहेका नेपाली समुदायलाई सेप्टेम्बर १० अगावै अनलाइनमार्फत टिकट खरिद गरी राहत अभियानमा सहभागी हुन आग्रह गरेका छन्। “टुगेदर फर नेपाल: म्युजिक विथ अ पर्पोज” अभियानले नेपाली सांगीतिक कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी विपद्को समयमा सामुदायिक ऐक्यबद्धता र सहयोगको माध्यम बनाउने अपेक्षा गरिएको छ।
डीटी फेस्टका कार्यक्रमका टिकट डीटी फेस्टको टिकट पृष्ठ बाट खरिद गर्न सकिनेछ।





