अमेरिकी नागरिकता आवेदकका छिमेकी र सहकर्मीसँग सोधपुछ गर्ने नीति पुनः लागू
प्रकाशित मिति : १० भदौ २०८३, बुधबार
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले अमेरिकी नागरिकता आवेदन दिने व्यक्तिका छिमेकी, सहकर्मी तथा समुदायका अन्य व्यक्तिसँग सोधपुछ गर्ने व्यक्तिगत अनुसन्धानलाई औपचारिक रूपमा पुनः लागू गरेको छ। दशकौँदेखि सामान्यतः प्रयोगमा नरहेको यस्तो अनुसन्धान अब नागरिकता आवेदनको प्रक्रियामा फेरि प्रयोग हुने भएको हो।
यूएससीआईएसले अगस्ट २५ मा जारी गरेको नीति मार्फत आफ्नो नीति पुस्तिका मा संशोधन गर्दै अनुसन्धानकर्तालाई नागरिकता आवेदकको समुदायबाट उसको चरित्र, अमेरिकाप्रतिको निष्ठा, गतिविधि तथा नागरिकताका लागि योग्यतासम्बन्धी जानकारी लिन अनुमति दिएको छ। यो व्यवस्था तत्काल लागू भएको छ र यसअघि दर्ता भइसकेका तथा नयाँ नागरिकता आवेदन दुवैमा लागू हुनेछ।
यस नीतिले सन् २०२५ अगस्ट २२ मा तत्कालीन यूएससीआईएस निर्देशक जोसेफ एडलोले जारी गरेको ज्ञापनपत्रमार्फत सुरु गरिएको अभ्यासलाई थप औपचारिक बनाएको हो। उक्त ज्ञापनपत्रले आप्रवासन तथा राष्ट्रियता ऐनको धारा ३३५(क) अन्तर्गत आवश्यकताअनुसार व्यक्तिगत अनुसन्धान पुनः सुरु गरेको थियो। नयाँ निर्देशनले उक्त अभ्यासलाई यूएससीआईएसको आधिकारिक नीति पुस्तिकामै समावेश गरेको छ।
नयाँ व्यवस्थाअनुसार कुनै एक आवेदकको हकमा मात्र नभई उपयुक्त ठानिएमा निश्चित समूहमा पर्ने आवेदनमा पनि यस्तो अनुसन्धान माफी दिन सकिनेछ।
यूएससीआईएसका अनुसार छिमेकी तथा समुदायका व्यक्तिबाट प्राप्त जानकारीले आवेदकसँग गरिएको अन्तर्वार्ता, आपराधिक पृष्ठभूमि तथा सुरक्षा जाँच वा पेश गरिएका कागजातबाट प्राप्त नहुने स्वाभाविक र पूर्वतयारीबिनाका जानकारी उपलब्ध गराउन सक्छ।
यस्तो जानकारीबाट आवेदकले नागरिकताका लागि आवश्यक असल नैतिक चरित्र, अमेरिकी संविधानका सिद्धान्तप्रतिको प्रतिबद्धता तथा संयुक्त राज्य अमेरिकाको सुव्यवस्था र समृद्धिप्रति अनुकूल दृष्टिकोण राखेको छ कि छैन भन्ने मूल्याङ्कन गर्न अधिकारीलाई सहयोग पुग्ने यूएससीआईएसले जनाएको छ।
एजेन्सीका अनुसार यस्तो अनुसन्धानमार्फत कुनै आवेदक नागरिकताका लागि अयोग्य हुने अवस्था रहे–नरहेको समेत परीक्षण गर्न सकिनेछ। विशेषगरी अमेरिकी सरकारलाई हिंसात्मक रूपमा उल्ट्याउने वा अमेरिकी सरकारी अधिकारीमाथि गैरकानुनी आक्रमण अथवा हत्या गर्न प्रोत्साहन गर्ने निषेधित विचारधारा प्रवर्द्धन गर्ने संस्था वा गतिविधिसँग आवेदकको समर्थन, शिक्षण वा आबद्धता रहे–नरहेको विषयमा समेत अनुसन्धान हुन सक्नेछ।
यूएससीआईएसको ठगी पहिचान तथा राष्ट्रिय सुरक्षा निर्देशनालयले मैदानी सञ्चालन निर्देशनालयसँग समन्वय गरी कुनै आवेदनमा व्यक्तिगत अनुसन्धान गर्ने वा नगर्ने निर्णय गर्नेछ। यो निर्णय आवेदनको अभिलेखमा रहेका प्रमाणको व्यक्तिगत मूल्याङ्कनका आधारमा हुनेछ। आवश्यक ठानिएमा एउटै समूहअन्तर्गत पर्ने आवेदनहरूको सामूहिक समीक्षा गरेर पनि अनुसन्धान गर्ने वा माफी दिने निर्णय गर्न सकिनेछ।
नागरिकता आवेदकले स्वेच्छाले आफ्नो चरित्र वा व्यवहारसम्बन्धी सिफारिसपत्र पनि बुझाउन सक्नेछन्। यूएससीआईएसले परिवारका सदस्य नभएका अमेरिकी नागरिकबाट प्राप्त सिफारिसपत्रलाई प्राथमिकता दिने जनाएको छ। यस्ता पत्रलाई छिमेकीसम्बन्धी अनुसन्धान माफी दिने वा नदिने निर्णयमा विचार गरिनेछ। तर, नयाँ निर्देशनले आवेदकलाई यस्तो पत्र अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था भने गरेको छैन।
यूएससीआईएसले नीति पुस्तिकाको खण्ड १२ को संरचनामा समेत परिवर्तन गरेको छ। त्यसअन्तर्गत भाग बी को नाम ‘नागरिकता परीक्षा’बाट परिवर्तन गरी ‘विदेशीको अनुसन्धान तथा परीक्षा’ राखिएको छ। पृष्ठभूमि जाँचसम्बन्धी अध्यायको नाम ‘पृष्ठभूमि अनुसन्धान तथा सुरक्षा जाँच’ र नागरिकता अन्तर्वार्तासम्बन्धी अध्यायको नाम ‘नागरिकता परीक्षा’ बनाइएको छ।
छिमेकी तथा व्यक्तिगत अनुसन्धानको कानुनी आधार सन् १९५२ मा बनेको आप्रवासन तथा राष्ट्रियता ऐनको धारा ३३५(क) मा रहेको छ। आप्रवासन अधिकारीहरूले सन् १९९१ सम्म यस्तो अनुसन्धानको अभ्यास ठूलो मात्रामा छाडिसकेका थिए र त्यसपछि मुख्यतः संघीय अनुसन्धान ब्युरोको आपराधिक पृष्ठभूमि जाँच तथा अन्य सुरक्षा परीक्षणमा भर पर्दै आएका थिए।
यूएससीआईएसले नयाँ नीति पुस्तिकाका प्रावधानले यस विषयमा रहेका यसअघिका विरोधाभासपूर्ण निर्देशनलाई विस्थापित गर्ने जनाएको छ। यससँगै अब नागरिकता आवेदनको मूल्याङ्कनमा आवेदकका कागजात र अन्तर्वार्तासँगै आवश्यक ठानिएमा उसको छिमेक, कार्यस्थल र समुदायबाट समेत थप जानकारी संकलन गर्न सकिनेछ।





