पत्रकारको डायरी: कर्तव्य र वेदनाको दोसाँधमा नेपालको भयानक बाढीको रिपोर्टिङ


प्रकाशित मिति : १० भदौ २०८३, बुधबार

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त नुवाकोटको त्रिशूली बजार । तस्वीर : दीपेन्द्र ढुङ्गाना/खसोखास

बुधबार बिहान ९:२५ बजे नियमित काममा बसिरहेको थिएँ। काठमाडौँको कोठामा चियाको चुस्की लिँदै मोबाइल चलाउँदा सामाजिक सञ्जालमा एउटा भिडियो आयो—‘रसुवामा ठूलो बाढी आयो!’ समय बिहानको करिब ९:२५ बजेको थियो। भिडियोमा भोटेकोशी नदीको पानीको वेग यति भयानक थियो कि त्यसबाट उठेको बाफ, लेदो र छिटाले डाँडै छोपेर पुरै बादल लागेजस्तो देखिन्थ्यो। लेदोसहितको भीषण भेल निरन्तर अगाडि बढिरहेको थियो; घरहरू, सडक र गाडीहरू क्षणभरमै बगाउँदै थिए।

मन भारी भयो। करिब दुई वर्षअघि मात्र बाढीले क्षतविक्षत बनेको रसुवा भन्सार आसपासको क्षेत्र फेरि सखाप भएछ। तिब्बततर्फबाट आएको यो अचानक बाढी भूकम्प वा हिमनदी फुटेर आएको हुन सक्ने चर्चा चलिरहेको थियो। टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र पूर्ण रूपमा डुबेका थिए। केही मिनेटको अन्तरालमै त्रिशूली नदी किनारका तल्लो तटीय बस्तीहरू—बेत्रावती, त्रिशूली बजार, र देवीघाट—मा धमाधम क्षति भइरहेका दुःखद सूचनाहरू आउन थाले। सयौँ पर्यटक, सुरक्षाकर्मी र स्थानीय हराएका खबरहरूले छाती अमिलो बनाएर आयो। म आफ्नै काममा अल्झिरहेकै थिएँ, तर पत्रकारको जिम्मेवारीले मन अस्थिर बनायो।

सूचना आउने क्रम बढेपछि पत्रकारको मन मान्ने कुरै थिएन—‘त्यहाँ पुग्नै पर्छ, रिपोर्टिङ गर्नैपर्छ, दृश्यहरू क्यामेरामा कैद गर्नै पर्छ।’ तर कसरी जाने? बाटोको अवस्था कस्तो छ? पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग अवरुद्ध हुन सक्ने चेतावनी आइसकेको थियो। धेरैतिर फोन गरेर अद्यावधिक जानकारी लिने प्रयास गरेँ। त्रिशूली र देवीघाटसम्म पुग्न सकिने बाटो खुला छ भन्ने अपुष्ट खबर पाएपछि मैले मोटरबाइकमा जाने जोखिमपूर्ण निर्णय लिएँ। यी सबै तयारी गर्दा बिहानको ११ बजिसकेको थियो।

काठमाडौँबाट झोरको बाटो हुँदै करिब दुई घण्टाको सङ्घर्षपूर्ण यात्रा भयो। बाटोभरि पानी परिरहेको थियो, सडक चिप्लो थियो। बीच-बीचमा स्थानीयहरूले “बाढी अझै बढिरहेको छ, सतर्क रहनुहोस्” भन्दै रोके। त्रिशूली पुग्दा मनमा एउटै प्रश्न थियो—के यो दृश्य मैले सहन सक्छु? बाढीले ४० किलोमिटरभन्दा बढी सडक भत्काएको, दर्जनौँ पुल बगाएको र जलविद्युत् आयोजनाहरू क्षतिग्रस्त बनाएको खबरले यात्रा झनै तनावपूर्ण बनायो।

त्रिशूली पुग्नेबित्तिकै म र अन्य पत्रकार साथीहरू सरासर फोटो तथा भिडियो खिच्न थाल्यौँ। त्रिशूली बजार क्षणभरमै बगरमा परिणत भएको थियो। सयौँ घरहरू पानी र लेदोमा डुबेका थिए, बजारका पसलहरू बगेका थिए, गाडीहरू नदीमा हराएका थिए। मैले ग्राउन्ड दृश्यका साथै वास्तविक स्थिति निहार्न ड्रोन उडाएँ। ड्रोन उडेको देखेर केही स्थानीयहरू आशापूर्ण नजरले नजिक आए र भने, “भाइ, हाम्रो घरको हालत कस्तो छ, अलिकति हेरौँ न।”

ड्रोनको स्क्रिनमा देखिएको उराठलाग्दो र कहालीलाग्दो दृश्यले मन अमिलो बनाएर ल्यायो। टिमुरेदेखि स्याफ्रुबेँसीसम्मका बस्तीहरू लगभग मेटिएका थिए। भन्सार कार्यालय, प्रहरी चौकी, जलविद्युत् आयोजनाका संरचनाहरू सबै लेदोले पुरिएका थिए। ‘यस्तो दिन कसैलाई कहिल्यै नआओस्’ जस्तो लाग्ने, तर विडम्बना हामी हरेक वर्ष यही नियति भोग्न बाध्य छौँ। बाढीको लहर ८-१० मिटरसम्म पुगेको अनुमान थियो। स्थानीयहरूले आफ्नो घरखेत सबै गुमाएका थिए, केहीले आफन्त हराएको बताए। ड्रोन फिर्ता ल्याउँदा आँखा रसाए।

नेपाली सेनाले त्यस क्षेत्रको उद्धार कार्यमा कुनै कमी छाडेको थिएन। हेलिकप्टरहरू आकाशमा घुमिरहेका थिए, तर पानीको सतह उच्च भएकाले अवतरण गर्न गाह्रो भइरहेको थियो। सेनाका जवानहरू जोखिम मोलेर उद्धार गरिरहेका थिए। तर, विडम्बना के भने उनीहरू हामीलाई उद्धारको फोटो-भिडियो खिच्नबाट हरसम्भव रोक्ने प्रयास गरिरहेका थिए। सुरक्षाका कारण भए पनि पत्रकारलाई रोक्नु दुःखद लाग्यो। यद्यपि, बाहिरको जालीको आडबाटै भए पनि केही महत्वपूर्ण फोटोहरू खिच्न म सफल भएँ—लेदोमा डुबेका घरहरू, बगेका सवारी साधन र सेनाको उद्धार प्रयास।

काम गर्दागर्दै भोकले छाती पोलिरहेको थियो। नजिकैको एउटा सानो खाजा पसलमा बसेर हतार-हतार अफिसमा केही फोटोहरू पठाएँ। त्यहाँका साहुजीले पनि आँसु झार्दै आफ्नो पसल डुबेको पीडा सुनाए। त्यसपछि हामी देवीघाटतर्फ लाग्यौँ। लगातार परिरहेको पानीमा भिज्दै त्रिशूलीबाट करिब ३५ मिनेटको यात्रापछि हामी देवीघाट पुग्यौँ। बाटोमा जलसतह खतराको तह नाघेको र मुग्लिनसम्म जोखिम रहेको चेतावनी सुनियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देवीघाट पुग्दा स्थिति अझै कारुणिक थियो। टोलीले पानीमा डुबेको एक जना व्यक्तिको शव उद्धार गरिरहेको दृश्य क्यामेरामा कैद गर्न खोज्दा स्थानीयहरू हामीमाथि सारै नराम्रोसँग जाइलागे। स्थिति यस्तै थियो कि मिल्ने भए उनीहरूले हातै हाल्ने थिए, पिट्नबाहेक गालीगलौज र मुख छाड्न उनीहरूले केही बाँकी राखेन्न। “तपाईंहरू तस्बिर खिचेर के गर्नुहुन्छ? हाम्रो मान्छे हरायो, घर गयो!” भन्दै उनीहरू चिच्याए।

शुरुमा धक्का लागे पनि मन सम्हालेँ—आफ्नो मान्छे र सर्वस्व गुमाएको त्यो असीम पीडामा उनीहरूले आफ्नो भडास हामीमाथि पोखेका हुन्। न त हराएकाहरू फेला परेका थिए, न उद्धारले पूर्ण रूप लिन सकेको थियो; कहाँबाट सुरु गर्ने र के गर्ने भन्ने अन्योलमा जोकोही रिसाउनु स्वाभाविकै थियो। सयौँ पर्यटक (भारतीय, अमेरिकी लगायत), सुरक्षाकर्मी र जलविद्युत् कामदार हराएका थिए। उनीहरूको गाली मौन भई सहेँ, कसैलाई केही नभनी केही फोटोहरू खिचेँ र काठमाडौँतर्फ फर्किएँ। पेसागत धर्म निभाउनै पर्छ भन्ने लागे पनि मनभरि अपराधबोध भयो।

काठमाडौँ फर्किँदा बाटोभरि पानी परेकाले पुरै भिजिहालियो। झोर पुगेर ज्यानलाई अलिकति आराम दिँदै गर्दा एउटा अर्को स्तब्ध बनाउने खबर सुनेँ—साथीको भाइ हराइरहेको रहेछ। त्रिशूली वरिपरिको त्यो विनाशकारी दृश्य देखेर फर्केको मलाई साथीको भाइ हराएको खबरले झनै मर्माहत बनायो। रातिसम्म शवहरू फेला पर्न थालेका थिए, जुन चितवनसम्म बगेर पुगेका रहेछन्।

त्यही अत्यन्तै भारी मन बोकेर म कोठामा आइपुगेँ। अहिले पनि त्यो ठाउँ र त्यहाँका मानिसहरूको अनुहार सम्झिँदा ‘अब उनीहरूले आफूलाई कसरी सम्हाल्छन् होला? के गर्छन् होला?’ भन्ने सोचेर सासै फुलेर आउँछ। यो दिनको साक्षी बनेको छु, तर यो विपत्ति दोहोरिन नदिन केही गर्नुपर्छ भन्ने लागिरहेको छ। भगवान्, यस्ता दिन कहिल्यै नआऊन्।

सबै तस्वीर: दीपेन्द्र ढुंगाना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com